मेरो छोरो पनि ठूलो मान्छे भएछ (कविता)

मेरो कविताः मेरो रोजाइ

 किशोर पहाडी 

 

वर्ष चौबीसको,

गहुँ गोरो,

च्यूँडोमा सानो खत भएको,

दुब्लो दुब्लो,

चुरोट नखाने,

रक्सी नखाने,

अविवाहित,

घण्टाघर नजिकैको कलेजमा

आई.ए. बी. ए. कुन्नि के जाति पढ्ने

अग्लो अग्लो

एक जना मेरो छोरो —

धेरै बाठो,

यो काठमाडौंमा कहाँ बस्छ खोई ?

— म उसलाई खोज्न आएको ।

 

म उसलाई खोज्न आएको —

गाउँबाट

उसको बाबु

एक्लो एक्लो,

भौतारिँदै

यता खोज्दै—

उता खोज्दै ।

मेरो छोरो—

साह्रै सोझो ,

साह्रै कंचन,

बोल्न ओर्न बिघ्न बाठो,

जताततै अगाडि लाग्ने,

अलि रिसाहा —

उद्दण्ड बानी ,

धेरै पढ्ने,

धेरै लेखने,

भावुक भावुक मेरो छोरो

यो काठमाडौंमा कहाँ डेरा गरी बस्छ ?

—म उसलाई खोज्न आएको

—उसको बाबु ।

 

म उसको बाबु —

उसलाई अलिकति चामल लेराइदिएको

(भात पकाई खाला ),

उसलाई अलिकति गुन्द्रुक लेराइदिएको

(च्वास्स अचार बनाउला ),

पाखो बारी बेचेर

उसलाई अलिकति खर्च लेराइदिएको

(अभावले नपिरोल्ला ),

उसकी आमाले बारीमा फलाएको

नासपाती लेराइदिएको

(खाजा बनाउला ),

उसलाई यी सब माया सदभावनाका पोकाहरू

बुझाउन आएको —

—यो शहरमा कहाँ बसेको छ

खोइ मेरो छोरो ?

 

तर हरे !

जूलुसको माला लगाएर

आगोमा लडीबुडी खेल्दै हिँडेको

सारा नेपालले देखेको रहेछ उसलाई

नीडर छातीमा गोली थापेको

हाँस्दै हाँस्दै अय्या… भनेको

साथीहरूले देखेका रहेछन् उसलाई ,

रगतको आहालमा डुबेर

निसास्सिएको छटपटिएको

वरपर सबैले देखेका रहेछन् उसलाई ,

र अहिले म रमा गृहको सूचना पाटीमा टाँसिएको

उसको भव्य अनुहार

देखिरहेको छु ।

 

—आहा ! मेरो छोरो पनि ठूलो मान्छे भएछ ।

०००
कविता बारे

गोविन्द गिरी प्रेरणाले मनपर्ने कविता कुन हो भन्ने प्रश्न गरेपछि मनमा आफूले रचना गरेका अनेकौं कविताहरू उड्न थाले | सबै मनपर्ने मनपर्ने वीच सम्झें आफ्नो एउटा कविता जुन आजभन्दा तीस वर्षअघिदेखि जहिले जहाँ वाचन गरे पनि मानिसहरूले मनपराउँछन् | यसपालि पारिजातको स्मृतिदिवस पारेर लकडाउनमा स्नेह सायमीले अनुरोध गरेपछि मैले त्यही कविताको भिडियो बनाएर फेसबुकमा पोस्ट गरेको थिएँ | त्यो कविता हो – “मेरो छोरो पनि ठूलो मान्छे भएछ” ।
२०४६ सालको जनआन्दोलनमा अस्कल छात्रावासको छतबाट प्रहरीले विद्यार्थीलाई तल फालेको थाहा थियो | अनि जनआन्दोलनको सफलतापछि बहुदल व्यवस्थाको आगमन भयो | त्यो बेला न्यूरोड पिपलको बोट छेउको रमागृहमा विद्यार्थीका तस्वीरहरू टाँसिएका थिए | शहीद भनी लेखेर तीनै विद्यार्थीका तस्वीरहरू ।
ती देखेर आँखामा आँसु आए र सोचें यी विद्यार्थीका बावुआमा त गाउँमा होलान्, छोरो पढ्दै होला भन्ने सोचिरहेका होलान् तर अब कस्तो होला उनीहरूको अवस्था भनेजस्तो लाग्यो । त्यसपछि घर आएर २०४७ बैशाख ९ गतेको दिन त्यो कविता लेखेको रहेछु | कविता केही महिनापछि नै ‘गरिमा’मा छापिएको हुनुपर्छ ।
देशमा बहुदलीय व्यवस्था आइसकेपछि भएका कविगोष्ठीहरूमा मैले अनि त्यही कविता वाचन गरें र जहाँ जहाँ वाचन गरें त्यहाँ त्यहाँ प्रशंसा नै पाएँ । यसै सन्दर्भमा एउटा कुरा सम्झन्छु । २०५१ सालमा विराटनगरमा वृहत् नेपाली साहित्य सम्मेलन भएको थियो | उक्त सम्मेलनमा नेपाल तथा भारतका साहित्यकारहरूको भव्य उपस्थिति थियो । पौष २७ गते एउटा कविगोष्ठी पनि भएको थियो | त्यस गोष्ठीमा मैले ‘मेरो छोरो पनि ठूलो मान्छे भएछ’ नै वाचन गरेको थिएँ । कविताको समाप्तिपछि दर्शकदिर्घाबाट तालीको गडगडाहट आयो । एक छिनपछि कार्यक्रमका उदघोषक कवि कृष्णभूषण बलले एउटा घोषणा गरे कि एक अज्ञात साहित्यप्रेमीले कवि किशोर पहाडीलाई मीठो कविता वाचन गरे वापत एक हजार रुपैयाँ नगद पुरस्कार दिइएको छ । आश्चर्यका साथ मैले त्यो पुरस्कार ग्रहण गरें र तत्कालै कार्यक्रमका आयोजक संस्था नेपाली साहित्य समितिलाई नै हस्तान्तरण गरिदिएको सम्झना छ । कवि कृष्णभूषण बल अहिले यस संसारमा छैनन् | त्यसकारण त्यो अज्ञात साहित्यप्रेमी को हुन् भन्ने कुरा अद्यापि रहस्यको गर्भमै रहेको छ ।
“मेरो छोरो पनि ठूलो मान्छे भएछ” सँग सम्बन्धित अर्को एउटा प्रसङ्ग पनि छ । कवि प्रकाश सायमीले २०६८ सालमा ललितपुरको सामुराइ रेस्टुराँमा एउटा कविगोष्ठीको आयोजना गरेका थिए । त्यहाँ पनि मैले त्यही कविता सुनाएको थिएँ । कविगोष्ठीपश्चात् त्यहाँ कविकै रुपमा उपस्थित उर्मिला थपलियाले कविता सुनेर पाखुरामा काँडा उम्रेको कुरा भनेकी थिइन् । पछि थाहा भयो तिनी त आन्दोलनमा होमिएकी विद्यार्थी रहिछिन् ।
केही दिनपछि उर्मिलाले मेरो त्यो कविताको प्रभावमा परेर आफूले पनि एउटा कविता लेखेको कुरा व्यक्त गरिन् । मलाई मेसेन्जरमार्फत् तिनले पठाएको ‘तिम्रो छोरो’ शिर्षकको कविता यस्तो छ –

सपनाको घुम्टो ओढेर
ख्याउटे महत्त्वाकांक्षा पाल्दै
लुखुर लुखुर शहर पसेको
म र मेरो भविष्य      

 काठमाडौँको एउटा गल्लीमा
भौतिक शरीर थुपारेर
बाबा
तिम्रै उपदेश बोकी
अनवरत पुस्तकसँग
कुस्ती खेल्दा खेल्दै
गरीबीसँग चिरपरिचित हुँदै
भौतारिरहेको थिएँ
अचानक
देशको संकटमा
मेरो उपस्थिति देखाउँदा देखाउँदै
निरङ्कुश त्यो सत्ताले
गर्ल्याम्म ढाल्यो मेरो शरीर
ऐया ऐया भनें
रगतको आहालमा
बाबा तिमीलाई सम्झंदै
अनि सदा सदाको लागि चिम्लें आँखा

हो बाबा
मैले देख्न पाइन
तिमीले ल्याएको मीठो चामल
अनि
चाख्न पाइन
आमाले बनाएको गुन्द्रुक
आँगनीको डिलमै फलेको
त्यो रसिलो नासपाती
नून खुर्सानीसँग साँधेर
जिब्रो पट्काउँदै खानै पाइन
तिमीले  मेरै लागि भनी
पाखो बारी बेच्यौ
अफसोच अधुरै रह्यो
त्यो पैसाको दर्शन
तर पनि सुर्ता नगर
बाबा
तिम्रो छोरो आज हेर्दाहेर्दै
सबैले मान्ने
सबैले देख्ने
भित्ता भित्तामा टाँसिने
ठूलो मान्छे भएको छ ।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *