शैलेन्द्र साकार
(भर्खर बितेको सन् २०२४ सालमा साहित्य लेखन, पठन, सक्रियता गतिविधिमा के कस्तो अवस्था रह्यो भनेर केही साहित्यकारहरूसँग विश्वपरिक्रमाले जिज्ञासा राखेको थियो । यसै क्रममा ख्यातिप्रापित साहित्यकार शैलेन्द्र साकारबाट विश्वपरिक्रमालाई प्राप्त जबाफहरू प्रस्तुत छ)
१, लेखनका हिसाबले सन् २०२४ साल कस्तो रह्यो ? फुटकर र सग्ला कृतिहरु के के लेखिए ?
भर्खरै बितेको बर्ष २०२४ मेरा लागि निकै उपलब्धि मूलक भएको जस्तो मलाई लाग्छ । मसँग सोधेर मेरो अन्तर्वार्ताका रूपमा उदय अधिकारीले तैयार गर्नु भएको पुस्तक “साकार समय” पनि यसै वर्षभित्र शिखा बुक्सले छाप्यो । साथै २.३ बर्षदेखि छाप्न लागेको मेरो पुस्तक निःसंस्मरण (नियात्रा र संस्मरण) “मनको एक कुना” पनि यसै वर्ष भित्र शिखा बुक्सले छापेर गुन लगायो । यसै वर्षको सुरुमा अमेरिकाको भर्जिनियामा छोरीको घरमा बसेर एउटा लामै कविताको रचना गरियो । सो लामो कविता आगामी नेपाली नयाँ वर्षमा छाप्ने योजना गरेको कुरा निराला प्रकाशन नयाँ दिल्लीले मलाई सुनाएको छ । हेरौं के हुन्छ ?
२, पठनको हिसाबले नेपाली र अनेपाली भाषाका के कस्ता कृतिहरू पढ्नु भयो ?
सलमान रुश्दीको “नाइफ”(चक्कू) पढेर उनलाई कुनै पनि धर्मको विरोध गर्न उचित नलागेको कुरा लेखनमा उठाउने गरेको छु । त्यस्तै अन्य अङ्ग्रेजी भाषाका नयाँ कविताहरु र सिल्भिया प्लाथलाई फेरि पढियो । त्यस्तै एमिली डिकिन्सन र जूरी ग्राहम पढेर गद्य कविता अझ बढी गद्य र भावपूर्ण सम्वेदनशील गद्य हुनुपर्ने विचार आइरहेछ । नेपालीमा त्यस्तो कुनै उल्लेझखनीय कृति पढेजस्तो नलागे पनि गोविन्द गिरी प्रेरणाको “टुप्लुक्क टोकियो” मलाई निकै राम्रो लागेको थियो । “आरब्ध” प्रकाशनले नयाँ आशा जगायो ।
३, पढ्न खोजेर पढ्न नपाएका कुनै कृति रहे कि ?
नोवेल पुरस्कार विजेता “हान काङको “भेजेटेरियन” खोजेर पनि पढ्न पाइएको छैन ।
४, साहित्यिक गतिविधि, समारोहहरूमा कत्तीको सहभागिता रह्यो ?
साहित्यिक सहभागिताहरू उल्लेखनीय रहे । विश्व नेपाली साहित्य महासङ्घले मलाई प्रधानमन्त्रीको हातबाट “साहित्यदूत” सम्मान प्रदान ग-यौ । त्यस्तै लालित्य सिर्जना समाजले मेरो ७८औं जन्मदिन भव्यपतापूर्वक मनाइदिएर परिवारमै आल्हाद छेर्ने काम ग-यो । तर यसै वर्ष दाजु परशु प्रधानको निधनले गहिरो पीडा दियो त्यो पीडा अवर्णनीय छ ।
५, अहिले नयाँ के लेख्दै हुनुहुन्छ ?
अहिले फूटकर कविताहरु र विचारहरु लेख्दैछु । विचारहरु प्रखर हुँदैछन् त्यो बारे चर्चा पछि गर्नेछु ।
अघिल्लो वर्षका गतिविधिहरुबारे स्रष्टाहरूसँग अन्तर्वार्ता गरेर सार्वजनिक गर्ने विश्व परिक्रमाको शैली राम्रो लाग्यो। नेपाली साहित्यको श्रीबृद्धिमा सिर्जना, प्रकाशन, सम्प्रेषण आदि माध्यमबाट गोविन्द गिरी प्रेरणाको अथक परिश्रम स्तुत्य छ ।