दिव्य गिरी
(एक)
खोला जस्तै नफर्किने यौवनको के कुरा
बादल सरि उडिरहने यो मनको के कुरा
हिजोसँगै हिँडेको साथी आज छुटी जान्छ
फूल जस्तै झरि जाने जीवनको के कुरा ।
(दुई)
कसरी लाग्यो अनुहारमा खत ठीक देखिन्न
असल भन्नुहुन्छ, तर नियत ठीक देखिन्न
र पनि तपाईंलाई नै हामीले हात जोड्नु पर्छ
खोज्दै जाँदा तपाईंको विगत ठीक देखिन्न ।
(तीन)
कताबाट आउँछौ भनी बाटो हेरी बसेकी छु
प्रेम पथ ठानेर भ्रमको खाडलमा खसेकी छु
प्रतीक्षाको पल पलमा भित्र भित्रै जलेकी म
झुक्किएर आज तिम्रो मायाजालमा फसेकी छु ।
000
लेखक परिचयः दिव्य गिरी मूलतः कवि हुन् । उनको पहिलोपुस्तक मुक्तक सङ्ग्रह “कङ्काल बस्ती” विसं २०३८ सालमा प्रकाशित भएको थियो । उनका हालसम्म २ मुक्तक सङ्ग्रह, एक गजल सङ्ग्रह, ३ हाइकु सङ्ग्रह, कविता, संस्मरण, कथा र लघुकथाका एक एक सङ्ग्रहप्रकाशित छन् र एक हाइकु सङ्ग्रहको अङ्ग्रेजी अनुवाद पनि प्रकाशित छ । उनी रैथाने काठमाडौं उपत्यकावासी हुन् ।