गान्तोक बजारमाः दुई कविता

कविता

नवराज कार्की

१, वल्लो छेउका गान्धी

एउटा सानो-सानो टार जस्तो
पुरानो गान्तोक बजारमा
अहिले एउटा अत्याधुनिक एम. जी. रोड छ
त्यही रोडको मुखैमा
लट्ठी टेकेर उभिएका छन् एउटा अर्धनग्न चश्मावाल बूढा !
सोध्छन् पर्यटकले नचिनेर ” को हो यो ?”
के हो यिनको योगदान, यो भूगोलमा ?
कहाँ छ यिनको स्थान, यहाँको इतिहासमा ?
दार्जीलिङ्‌को चौरस्तामा
ती बुढा चिटिक्कक सुहाए झैँ
यहाँ यी बूढा किन फिटिक्क सुहाएका छैनन्
न यिनले यहाँको भाषा बुझ्छन्
न यहाँ यिनलाई यहाँका रैथानेले चिन्छन्
चिने पनि कसै कसैले, किन नचिने झैँ
मुन्टो बटारेर हिन्छन् ? ”
यी बूढालाई कसले यहाँ ल्याएर ठड्याएका होलान् ?
कि यी बूढा आफै हिँडेर यहाँ सम्म आए होलान् ?
यो जाडोमा लुग‌लुग कामि रहेछन् बिचरा !
माया लाग्यो मलाई र टीठ लाग्यो !
कुन दिन घुत्रुक्क ढल्ने हुन्
यो जाडोले कठ्या‌ग्रिएर
कतै ठहरै हुने हुन् कि ?
निमोनियाले थलिएर
लौ, न ! कसैले यी बुढालाई
न्यानो भुईंमा सुताई दिए नि हुन्थ्यो ! कसैले गमलङ्‌ग कालो कम्बल, ओढाई दिए नि. हुन्थ्यो !

२, पल्लो छेउको हाब्रे

लालबजारको मुखमा भेटियो यो लालवर्णे !
पाण्डा हो कि? भालु हो कि ? हो, यो हाब्रे ?
जे होस् यो चाँहि यहाँको पक्कै रैथाने हो
यसको भने अब, फोटो खिचेर लैजाने हो !
खिचें फोटो र भनें मैले-
निकै मोटाईछस् त केटा !
भन्यो उसले हाँसेर !
“केटा हूँ कि, केटी हूँ म”
ल, हेर यता / नहेर त्यता !
मैले भनें – सरी, मैले चिनिन, तँलाई हाब्रे
निकै मापाको रछस्-मेरी बाफरे !

०००

कवि परिचयः नवराज कार्की मूलतः कवि हुन् । हास्य ब्यङ्ग्यात्मक कविता तथा मुक्तकहरु उनका काव्यिक लेखनका विशेषता हुन् । शिखघार म्याग्दीमा जन्मेका उनी सन् २००९ देखि अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । उनका सिलसिला (कविता सङ्ग्रह २०४०), मनभित्रको आँधी (कविता तथा गीत सङ्ग्रह २०५३), एक दनक (हास्य ब्यङ्ग्य कविता २०५९), पलपल (गीत गजल सङ्ग्रह २०७०), तिमी हाँस्यौ र….(मुक्तक र छोटा कविता सङ्ग्रह २०७०), म्वाईं ( हास्य ब्यङ्ग्य कविता २०७०), एउटा यस्तो साथी (वाल कविता २०७०) सधैंसधैं (मुक्तक सङ्ग्रह सन् २०२२) प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *