कृष्णभक्त श्रेष्ठ

साभार रचना

नकुल सिलवाल

 

(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “कृष्णभक्त श्रेष्ठ” को परिचय।) 

 

न्युरोड-पीपलबोटको पश्चिमपट्टि एउटा मान्छे उभिइरहेको देख्थें । अरू एकदुई, दुईचार पनि जम्मा हुन्थे । प्रायः उहाँहरूलाई त्यही समयमा देख्थें । हामी पनि न्युरोडमा जम्मा हुन्थ्यौं ।

त्यसै बेला रञ्जना सिनेमा हलको पूर्व लाइनमा मेरा दाजुले फ्यान्सी पसल खोल्नुभएको थियो । म पनि एकदुई घण्टा त्यतै बस्थें, अलमलिन्थें । एक दिन ती मान्छे हाम्रो पसलमा आउनुहुन्छ र जानुहुन्छ आफूले खोजेको सामान नपाएपछि आफ्नो हाफ पन्जा त्यहीं छोडेर, बिर्सेर । केही समयपछि म न्युरोड जान्छु र उहाँले छोडेको पन्जा फिर्ता दिन्छु ।

त्यहींदेखि हाम्रो परिचय हुन्छ व्यक्तिगत रूपमा । उहाँ कवि कृष्णभक्त श्रेष्ठ आजकाल लेखिरहनुभएको छैन, साझाबाट कवितासङ्ग्रह निस्किसकेको छ भनेर मैले पहिल्यै थाहा पाइसकेको हुँ । गोरखापत्र संस्थानमा उहाँको जागिर, गोरखापत्रको सम्पादक पनि हुनुभयो, मधुपर्कको पनि, संस्थानकै महाप्रबन्धक पनि हुनुभयो ।

कवि कृष्णभक्त श्रेष्ठले एक दशकजति कविता नलेखेर वा नछापेर फेरि लेख्नुभयो, छाप्न थाल्नुभयो । पहिले उहाँ जेजस्ता कविता लेख्नुहुन्थ्यो, धेरै परिवर्तन गरेर पछि फेरि लेख्नुभयो असङ्ख्य कविता, निकै राम्रा कविताहरू लेखिरहनुभएको छ कवि श्रेष्ठ । ‘बगर’ले पनि छाप्ने अवसर पाइरहेकै हो । उत्कृष्ट कविताहरूमा उहाँका कविताहरू आइरहेकै छन् ।

कवि श्रेष्ठले आफ्नो लामो काव्ययात्रामा छुट्टै महत्त्वका कविताहरू लेख्नुभयो । त्यसको सङ्ख्यात्मक र गुणात्मक मूल्याङ्कन हुँदै जाला नै । व्यक्तित्व र रचनामा बेग्लै विशेषता भएका कवि हुनुहुन्छ उहाँ । यस्तै केही कविहरू नभए इमानदारिता र स्वाभिमान शब्द चलनचल्तीमा नआउन पनि सक्छन् । आफूले सकेको केही दिने तर मरिहत्ते हालेर केही नलिने, लिँदै नलिने यस्तै कविले लेख्दा ‘खै कसरी ठूलो मान्छे हुने’ जस्तो कविता अझ बढी सार्थक हुन्छ, महत्त्वपूर्ण हुन्छ ।

मधुपर्कले छापेको यो कवितालाई बगरले ‘उत्कृष्ट रचनाहरू २०५६’ मा सङ्कलित गरेको थियो । त्यही कवितालाई त्यस सङ्ग्रहको सर्वश्रेष्ठ ठहऱ्याएर यहाँ फेरि प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *