विहे (कविता)

मेरो कविताः मेरो रोजाइ

दिनेश अधिकारी

 

(कवि दिनेश अधिकारी समकालीन नेपाली साहित्यको एक सुविख्यात नाम हो । उनको रोजाइको कविता , यस कविताको रचना गर्भसहित प्रस्तुत छ ।)

 

(प्रसङ्ग १)

 

बिहे गरेको भोलिपल्ट

हामी एउटा पैदलयात्रामा थियौं

 

कहाँ के भयो ?

एकाएक आकाश धुम्मियो

एकाएक मेघ गर्जियो

र, झमझम पानी पर्न सुरु भयो

ओत लाग्न

छेउछाउमा कुनै उपाय थिएन

र, हामीसँग एउटै मात्र सानो छाता थियो

ऊ नभिजोस् भनेर

घरी–घरी मैले ऊतिर छाता ढल्काइरहें

मायाले, उसले पनि मैतिर छाता ढल्काइरही

पानी थामिएपछि

पालैपालो

एक पटक मैले उसलाई हेरें

एक पटक उसले पनि मतिर आँखा ओछ्याई

यतिन्जेलसम्म–

न मैं नभिजेको थिएँ

न ऊ ओभानो बचेकी थिई

सट्टामा–

हामी दुवै पानीले निथु्रुक्क रुझेका थियौं !

 

बिहे गरेको भोलिपल्ट

हामी एउटा पैदलयात्रामा थियौंं !!

 

(प्रसङ्ग २)

 

बिहे गरेको

केही वर्ष पूरा भइसकेको थियो

र, हामी फेरि एउटा पैदलयात्रामा थियौं

 

यात्राको बीचतिर आइपुग्दा

कहाँ के भयो ?

एकाएक

फेरि आकाश धुम्मियो

फेरि मेघ गर्जियो

र, झमझम पानी पर्न सुरु भयो

ओत लाग्न

अर्को कुनै उपाय थिएन

र, हामीसँग एउटै मात्र उही सानो छाता थियो

वर्षातबाट बच्न

छाता उघारेर

मैले ओढ्न मात्र के लागेको थिएँ

प्रायः झम्टँदै

उसले मबाट छाता खोसी र आफूले ओढ्न थाली

हार्न म पनि तयार थिइनँ

र, ऊ पनि छातालाई आफ्नो कब्जामा राख्न दृढसङ्कल्पित देखिई

यो पटक

मिलेर छाता ओढ्नेतिर

कसैको पनि सोचाई गएन

र, पानी थामिँदासम्म

एकअर्काको तानातानमा परेर

छाताको

करङ भाँचिएको थियो

कपडा च्यातिएको थियो

डण्डी बाङ्गिएको थियो

हामी दुवै

पानीले निथु्रक्क रुझेका थियौं

र, आ–आफ्नै बारेमा चिन्तित थियौं !

 

बिहे गरेको

केही  वर्ष पूरा भइसकेको थियो

र, हामी फेरि एउटा पैदलयात्रामा थियौं !!

 

000

कविताको कथाः

 यो त्यसबेलाको कुरा हो जुनबेला कानूनमा स्नातक तहको अध्ययन पूरा गरिसकेपछि म अधिकृत तहमा सरकारी सेवामा प्रवेशका लागि सरकारी सेवामा प्रवेशका लागि लोकसेवा आयोगको लिखित परीक्षा दिएर बसिरहेको अवस्थामा थिएँ । एक किसिमले पढाई सकिएको कारण अब “विवाह गर” भनेर घर परिवारको दवाव आइरहेको थियो ।

 विवाह गर्ने उमेरगत चाहना ममा पनि नभएको होइन, तर डर लाग्थ्यो । डर, यसकारण कि त्यो समयको सरदर सामाजिक मानसिकता विवाह गरेपछि घर चलाउने जिम्मेवारी “पुरुष” को हो भन्ने थियो । म, त्यही मानसिकताले ग्रस्त थिएँ र विवाहलाई टार्दै आइरहेको थिएँ । पत्नीको निम्ति हुने खर्चका लागि वावुआमाको मुख ताक्नु नपरोस् भन्ने मेरो आफ्नै सोच पनि थियो ।

 लोकसेवाको परीक्षा पास गर्छु भन्ने विश्वास भित्री मनमा त कतै छँदै थियो । केही गरी त्यसो हुन सकेन भने पनि वकालत गर्छु र वकालतको कमाईले अब आफ्नै खुट्टामा उभिन सक्छु भन्ने अर्को आँट पनि थियो । थियो । फेरि पनि डर लाग्थ्यो-कहीं आफ्नो कमाइले पुगेन भने ? रहर र डरको यो द्वन्द्व निकै दिनसम्म मेरो मनमा चलिरह्यो । अन्तिममा मलाई लाग्यो-परस्पर प्रेम हुने हो भने पर्याप्त पर्याप्त सुविधा नभए पनि जीवन अगाडि बढ्न सक्छ । प्रेम, जीवनमा अभाव विरुध्दको औषधी हुन सक्छ ।

 यही मानसिक धरातलमा उभिएर मेरो विवाह हुनुभन्दा करिव एक वर्ष अगाडि अर्थात् २५ फागुन २०४० का दिन मैले काठमाडौंमा वसेर “बिहे” शिर्षकको कविता लेखें । “मधुपर्क”( मासिक) को चैत २०४० को अङ्कमा प्रकाशित यो कविता २०४४ सालमा साझा प्रकाशनबाट प्रकाशित मेरो कविता सङ्ग्रह ” धर्तीको गीत” मा सङ्ग्रहित पनि गरें ।

 यो कविताको कुरा यत्तीमै टुङ्गिएन ।

वि. सं. २०५४ माघको शुरुतिरको कुरा हो । त्यतिवेला काठमाडौं आएका आयरल्याण्डका एकजना कवि(नाम सम्झना भएन) सँग तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौं स्थित भवनको पहिलो तल्लाको सानो हलमा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । म पनि बोलाइएको थिएँ । गएँ । एक्कासी मलाई कविता वाचनको लागि भनियो । पूर्व जानकारी नभएकोले मैले आफ्नो साथमा कविता राखेको थिईंन । त्यसैले शुरुमा अल्मलिए पनि ” विहे” शिर्षकको माथि उल्लिखित कविता कण्ठस्थ भएकोले त्यही सुनाएँ र मञ्चबाट फर्केर आफ्नो स्थानमा आएर बसें । मसँगैको अर्को मेचमा कवि शारदा शर्मा हुनुहुन्थ्यो । शारदाजीले ठट्यौली ढङ्गमा मलाई भन्नु भयो -बिहेपछि लगत्तैको कविता त सुनाउनु भयो । अलि पछिको चाहीं लेख्नु भएको छैन ? उहाँले भनेको यत्ती मात्र हो । तर उहाँको त्यो भनाइले मलाई कहीं कतै छोयो र १० माघ २०५४ का दिन मैले “बिहे” शिर्षकको कविताको दोश्रो भाग लेखें ।

 कविता कहिले काहीं यसरी पनि जन्मँदोरहेछ । यो, यसरी नै जन्मियो ।

 ”बिहे” शिर्षकको कविताको दोश्रो भाग भने मैले कुनै पनि पत्र पत्रिकामा छपाईंन । त्यसबेला म आफ्नो नयाँ कविता सङ्ग्रहको तयारीमा थिएँ । यो कविता पनि सङ्ग्रहमा समावेश गर्ने मन भयो । सोचें-एउटै सन्दर्भको कविता अलगअलग कविता सङ्ग्रहमा राख्नुभन्दा दुवैलाई एकै ठाउँमा राख्नु बेश होला । त्यसपछि मैले “बिहे” शिर्षकमै २०४० सालमा लेखिएको कवितालाई “प्रसङ्ग-एक” र २०५४ सालमा साझा प्रकाशनबाट प्रकाशित मेरो कविता सङ्ग्रह ” अतिरिक्त अभिलेख” मा सङ्ग्रहित गरें ।

 “बिहे” शिर्षकको यो कविता म आफैंलाई पनि मन पर्ने मेरा कविताहरु मध्ये एक हो ।

 (२६ वैशाख २०७७, काठमाडौं)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *