नकुल सिलवाल

साभार रचना

नकुल सिलवाल

 

(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, सिलवाल आफैंले आफ्नो बारेमा लेखेको परिचय।) 

 

कतिपय समालोचकले आफूलाई मूल्याङ्कन गरेको देखिन्छ । चिनारी दिनु त सामान्य कुरा हो । तर म भने न समालोचक न त परिचय- लेखक । लेखकहरूको रचना सङ्कलन-संयोजन गर्ने व्यक्ति मात्र परें, सम्पादक भन्न पनि त्यति उचित ठान्दिनँ तर चिनारी छ सम्पादकको ।

कहिलेकाहीं यस्तो फसाद पनि आइलाग्दो रहेछ- आफूलाई वा आफ्नो कवितालाई कसरी चिनारी दिने ? बगर निकाल्नुअघि नै विभिन्न पत्रपत्रिकामा छ्यापछ्याप्ती रचना छाप्थें म । बढी कविता नै हुन्थे । बगर निकाल्न थालेपछि पनि एक दशकसम्म मैले कविता, कथा, उपन्यास र विविध टीकाटिप्पणी लेखी नै रहें, छापी नै रहें तर जब यो ‘उत्कृष्ट रचनाहरू’ सम्पादन-प्रकाशन गर्नतिर लागें, दोस्रो दशकमा खासै गद्य लेखिनँ, बाध्यताले सम्पादकीय टिप्पणीभन्दा अरू खासै केही लेखिनँ । लेख्ने धेरै-धेरै विषयलाई पचाएरै बसें, गद्य लेखिनँ तर कविता भने लेखी नै रहें ।

कहिलेकाहीं दुईचार महिना नलेखे पनि फेरि लेखें, लेखी नै रहें । एकाध दर्जन कविता वर्षेपिच्छे छापी नै रहें । धेरै शुभचिन्तकहरूले मेरा कविताको उत्तिकै तारिफ गरे पनि भन्नेले भन्नैपर्ने बेलामा मलाई सम्पादक नै भनिरहे । मैले चुपचाप मौन स्वीकृति जनाइदिएँ । दस वर्ष खास गद्य नलेखेर वर्षको दुईचार अङ्क बगर निकाल्नेलाई ‘सम्पादक’ भन्ने ठूलै पदवी दिनु कम थिएन । म नाक फुलाएर उघ्राई नै रहें, वाह सम्पादक !

कविता भनेपछि पढ्न र लेख्न भुतुक्कै हुने मानिस, समकालीनसँग दुई दशकभन्दा बढी समयदेखि कवितामा उठबस गरिरहेको मानिस सम्पादकको ड्याङमा उछिट्टिदै गएपछि चिन्ता बढ्दै जानु स्वाभाविकै हो र कर्मको फल भोग्नु पनि जायजै हो ।

केटाकेटीमै, आफ्ना पुख्र्यौली घरका पुर्खाले चलाएका/खेलाएका र दसैंको फूलपातीमा पूजा गर्दै आइरहेका केही पुराना हतियारहरू बारम्बार देखेपछि, हतियारसँग जोडिएका केही तथ्य कथाहरू सुनेपछि र बारम्बार त्यसको झझल्को आइरहेपछि देश-काल- परिस्थितिलाई साक्षी राखेर मैले ‘हतियार’ लेखें, गरिमाले छापिदियो ।

मेरा हितैषी, शुभचिन्तक महानुभावहरूले आफ्ना प्रतिनिधि कवितामा छनोट गर्ने सुझाव दिए, उत्कृष्ट रचनाहरूको सङ्कलनमा राख्न अराए । मैले आफ्नो फाइदा उठाएँ नै । त्यही उत्कृष्टमध्येबाट ‘हतियार’ लाई फेरि यहाँ साभार गरेको छु ।

Leave a Reply