सम्बन्धको पाठशाला (कविता)

मेरो कविताः मेरो रोजाइ

मणि लोहनी

(कथामा कलम सशक्त भए पनि कविता नै मणि लोहनीको सामर्थ्यवान विधा हो । त्यसको दृष्टान्त यही कविता पनि हुन सक्छ । आफ्नो पुस्ताका अब्बल कवि मणिको रोजाईको कविता र कविताको कथा प्रस्तुत छ ।)

म तिमीमा उज्यालो भेट्छु ।

भगवान् शिवप्रतिको असीम श्रध्दा
घरको मूलद्वारमा फुलेको धतुरो फूल
ध्यानस्थ योगीझैं तेजिलो अनुहार
हिमतालजस्तो स्थिर आँखा
चट्टान फोड्ने हाँसो
र, तिमीभित्र नअटाएर बेलाबेलामा
मसम्म आइपुग्ने मौनताको त्यो सङ्गीत
कहाँ लुकाएकी छ्यौ जिन्दगीका गुनासाहरू
म अक्सर तिमीमा उज्यालो भेट्छु ।

कसले भन्छ, बुढ्यौली पाकेको छ तिम्रो कपालमा
कसले भन्छ, ढल्किसकेको छ तिम्रो उमेर
जिन्दगीको जबरजस्त पडाड चढेपछि
पाएकी हौ तिमीले हिमालको कञ्चनपना
सिँढीजस्तो टकटक उक्लिएर उमेरलाई
आफूभित्र भेटेको उचाइ हो तिम्रो प्रौढता ।

कस्तरी माझेकी तिमीले जिन्दगीलाई
-सप्रेम स्विकारेपछि पीडा पनि खुसी बन्दो रहेछ
-दुःख पनि साथी हुादो रहेछ ।

बेपरबाह छाडेर
माइलस्टोनजस्तो ठाउँठाउँमा भेटिने सम्बन्धहरू
कस्तरी हिँड्न सकेकी तिमी ?
निर्मोही त तिमी पक्कै पनि होइनौ
के तिमीलाई त्यो पर देखिने अँध्यारोको डर लाग्दैन ?

सपनाजस्तो आफैबाट टाढिएको ‘त्यो’ सम्बन्ध
एकसाथ देख्न चाहेर पनि
उसले नबुझेका तिम्रा सपनाहरू
तिम्रै छोरीको आँखामा फैलिएको असीमित उज्यालो
छोराको सफलतासँग जोडिएको तिम्रो खुसी
या ठाउँठाउँमा अल्झाउन खोज्ने
जङ्गली काँडाजस्ता सम्बन्धहरू
कहाँ लुकाएकी छ्यौ जिन्दगीका गुनासाहरू
म अक्सर तिमीमा उज्यालो भेट्छु ।

सम्बन्धले थिचिएर भागेकाहरूको यो भीडमा
तिमी छ्यौ सम्बन्धकी बेगम
र, सिङ्गो सहर मागिरहेछ तिमीसँग सम्बन्धको भीख ।

यति नै खेर
पानीमा लेखिएको नाम
र बालुवामा कोरिएका धर्साहरूजस्ता सम्बन्ध बुझ्न
म तिमीसम्म आइपुगेको छु ।

उमेरको यो मझधारमा
तिमीसँग हिँडिरहँदा मलाई लाग्यो
तिमी सम्बन्धको पाठशाला हौ ।

०००

कविताको कथा

मानिसका जीवनमा प्रेम र सम्वन्धको ठूलो महत्व छ । पछिल्लो समय अधिकांश मानिसहरु आफुलाई प्राप्त प्रेम र सम्वन्धको वेवास्ता गर्दै नयाँ नयाँ सम्बन्ध र शारिरीक प्रेमका लागि यताउता भौंतारिरहेका भेटिन्छन् । यसले प्रेम र सम्वन्धको अवमूल्यन मात्र गरेको छैन, मानिसलाई थप असन्तुष्ट र अस्थीर बनाईरहेको छ । त्यैसैको पेरिफेरिमा यो कविता लेखिएको हो ।

“सम्वन्धको पाठशाला” मैले २०६७ सालमा लेखेको हुँ । त्यसताका एक अब्बल महिला लेखकसँग मेरो राम्रो बसउठ थियो । उहाँको जीवनमा सवथोक थियो । आफुले मेहनत गरेर कमाएको पैसाले बनाएको भव्य घर, हुर्किएका छोराछोरी र सम्मानित सामाजिक हैसियत । थिएन त केवल लोग्नेको प्रेम र विश्वास । लोग्ने भएर पनि उहाँको जीवन एकल महिला सरह थियो । त्यो समय धेरै लेखक कवि, प्रहरी प्रशासनका उच्च ओहोदाका मानिस, केही व्यापारी र बैङ्कर्सहरु उहाँसँग झ्याम्मिन्थे । उहाँ भने ती सब कुराबाट बेखवर भए झैं देखिनु हुन्थ्यो ।

उहाँको जीवन शैलीको सम्मानमा मैले यो कविता लेखेको हुँ । यो कविता मैले सर्वनाम थियटरमा पहिलो पल्ट वाचन गर्दा श्रोताका रुपमा उहाँ पनि हुनुहुन्थ्यो र कविता सुनेर उहाँ रुनु भएको थियो । “यसरी त मलाई कसैले बुझेको थिएन । तपाईंले मलाई गरेको सम्मानको सदैव गरिमा राख्ने प्रयास गर्नेछु, मणिजी ।” आँखाको आँसु पुछ्दै उहाँले भन्नू भएको थियो ।

यो कविता मेरो पछिल्लो कविता संग्रह  “मृत्युको अघिल्तिर” मा समेटिएको छ । यो कविता पनि मेरा अन्य कविता जस्तै धेरै साहित्यिक र दैनिक पत्रिकामा छापिएको थियो ।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *