तेजप्रकाश श्रेष्ठ
“रोक्नुहोस् ! रोक्नुहोस् !” आवाजसँगै ढ्याक्क बस रोकियो ।
म यताउता हेर्न थालेँ । आकाश खुल्ला थियो, बाटो खुल्ला थियो । के व्यवधान आइ पुग्यो खै ? सह यात्रीहरूमा पनि अन्योल जमजमायो । किन रोकियो बस ? खुलदुली बटारियो ।
“राउटे ! राउटे !” बसभरि गुञ्जियो उत्सुकताका स्वर ! बसको झ्यालबाट बाहिर चियाएँ, उल्टो परेछ दृश्य ! देखिएन ठ्याम्मै ! अब नओर्ली भयो त !
“मौकाले जम्काभेट भयो नि हौ ! ओर्लौं ओर्लौं !” कुसुमाकर सर हौसिए ।
ग्वारग्वारती ओर्लियौं हामी । राउटेसँगको प्रत्यक्ष साक्षात्कार हुने भयो । प्रफुल्ल बन्यो मन !
राउटेसँग भेट भएको यो पहिलो झमट हो मेरो । प्रत्यक्ष कस्ता स्वभावका हुन्छन् ? कस्ता हुन्छन् थाहा थिएन मलाई । कितापमा पढेको र टेलिभिजनमा देखेको मात्र हुँ यस अगि ।
हुन त, केही वर्ष अघि मैले ‘म राउट्या रौतेला’ शीर्षकको बाल चित्र कथा लेखिसकेको थिएँ । अलि अलि बुझ्थें राउटेलाई । पूर्ण प्रकाश यात्रीको पुस्तकले धेरै सघाएको थियो मलाई । तर प्रत्यक्ष राउटेसँग साक्षात्कार हुन सकेको थिएन । धेरै अगि देखीको भेट्ने धोको सार्थक हुने भयो यो यात्रामा । पाथी भात खाए झैँ अनुभूत भइरहेको छ मलाई ।
यस पटकको यात्रा लामै हो । बसमा बस्दा बस्ता हत्तू भएको शरीर घिच्च्याउन खोज्दै छु ।
काठमाडौंबाट २ गते कार्तिक (२०८१) देखि सुरु भएको बस यात्रा सुर्खेत, दुल्लु दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुको रारा पुगेर फर्किँदै छौं ।
यस यात्रामा अनेकौँ अनुभव बटुल्न पाएको छु । उत्तुङ्ग र भिरालो पहाडी धरातलका भीर पाखामा खोपिएका नागबेली र साँघुरो कच्ची सडकमा बसमा हुईंकिनु कम जोखिम पूर्ण रहेन छ । सर्पको काँचुली झैँ कत्ला कत्ला परेका भीर पहरा देख्दै जिरिङ्ग हुन्छ मन । माथि हे-यो उत्तुङ्गका भीर, तल हे-यो गडगडाउँदो कर्णाली !
उदेक लाग्दा छाँगाछूर पहरोबाट तल हेर्दाको भयाक्रान्त क्षण सम्झिँदा नै थुरथुर हुन पुग्छु । सडकको भित्तातिर पर्दा केही ढुक्क हुन खोजे पनि छेउतिर पर्दा त सातै जान्थ्यो खस्ला खस्ला जस्तो । भर्खर वर्षाले क्षतविक्षत पारेको सडक र सडकछेउको भीर कहाली लाग्दा छन् ।
जीवनका उकाली ओरालीमा कैयौँ यस्ता क्षणहरूको सामना गर्नु पर्ने हुन्छ र गरिरहेको छु मैले पनि । यस्ता भीर पाखा पहिले पनि कैयौँ पल्ट पार गरि सकेकोले ढुक्क हुन खोज्छ मन ! ज्यान हत्केलोमा राखेर पनि रोमाञ्चित भइरहेको छु म ।
लोकवार्ता विद्हरूको तीस ज्यान बोकेर हुइँकिएको बसलाई भने कुनै तनाव भएको देखिरहेको छैन म । चालक द्वय श्याम लामा र सुरेश भाइहरूको कुशल हँकाइमा बस ढुक्क थियो, हामी ढुक्क थियौँ । प्रत्येक घुम्ती र खोल्सीहरूमा उनीहरूको सतर्कता पूर्ण सहकार्य सराहनीय लाग्थ्यो । मन मनै स्याबासी दिन्थें म !
प्राकृतिक विकटता र सौन्दर्यमा लुटपुटिएको ‘कर्णालीको सपना’ सजाउने कर्णालीकी छोरी समीक्षा नेपाल र उनका कविता ! सम्झि रहन्छु म घरीघरी ! उनको सपना कर्णाली वासी प्रत्येक युवा युवतीहरूको सपना हुनुपर्छ, धड्कन बन्नुपर्छ । तब न कर्णालीमा ढकमक्क लालीगुराँस फक्रिने छ ।
कर्णाली प्रदेशका मुख्य मन्त्री माननीय श्यामलाल कँडेलको प्रमुख आतिथ्यमा सुर्खेतबाट शुभारम्भ भएको लोकवार्ता राष्ट्रिय सङ्गोष्ठी मुगुको रमणीय रारा तालमा पुगेर समापन हुँदासम्मका तीता मीठा अनुभूतिहरूले रोमाञ्चित तुल्याइरहेको छ मलाई ।
दैलेखको दुल्लु, कालिकोटको मान्मा, जुम्लाको तातोपानी र सिँजा, मुगुको गम गढी र रारा पुग्दाको आठ दिनको अवधिमा कर्णालीका लोकसाहित्य र संस्कृति अर्थात् लोकवार्ताका विविध पक्ष हेर्न पायौं, बुझ्न पायौं र अनुभूत गर्न पायौं ।
श्री पञ्च कोशी वेद विद्यालयका वटुकहरूको स्वस्ति वाचनका साथै लोकवार्ता सम्वाहकहरूका भैनी गीत, मागल गीत, ठाडी भाखा गीत, धमारी, ड्यौडा गीतमा स्वरमा स्वर मिलाएका थियौँ । हुड्के नाच, तरबार नाच, पञ्चे बाजा, मारुनी नाच, ख्याली नाच, तरम नाच, ढुस्को खेल, बालो नाच, सिगारा नाच, रोपाई नाच, धार्मिक नाच, धामी नाच आदिमा हामी मस्तले झुम्यौं ।
ड्यौडा नाच र राई झुमा गीतमा छमछम नाच्यौं पनि । यही त हो लोकवार्ताको आकर्षण ।
गीत सङ्गीत पटक पटक हे-यौँ, पटक पटक सुन्यौं । कर्णालीको लोकवार्तामा चुर्लुम्म डुब्यौं । अहा ! यी जीवन्त लोक सांस्कृतिक सम्पदाहरू ! हाम्रा अमूल्य सम्पदा हुन्, अमूल्य पहिचान हुन् । यीनै लोकवार्ताका अमूल्य सम्पदाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने गराउने अभियानमै त जुटिरहेका छौं हामी । पुगिरहेका छौं देशका कुना कन्दरामा !
जहाँ पुग्छौं त्यहाँका लोक संस्कार, लोक संस्कृति, चालचलन, भेष भूषा, रीतिरिवाज, बोलीचाली, लोक विश्वास, लोकसाहित्य आदि सम्पूर्ण लोकवार्ताको संरक्षण र सम्बन्धनका लागि घच्घचाइ रहेका छौँ । मासिनु हुँदैन भन्छौं लोक जीवन समाजबाट । झन् झन् फक्रिँदै जानुपर्छ युग युगसम्म ।
‘हाम्रो परम्परा, हाम्रो पहिचान’ अभियान हो हाम्रो अर्थात् लोकवार्ता परिषद् नेपालको । कार्तिक १० गतेको सखारै यसै नारा कुम्ल्याएर सिँजाबाट उक्लिएर आइ पुगेका हौं मुगुको गम गढी ।
छाया नाथको छत्रछायामा रमाएको मुगुको गम गढी गमक्क पर्छ हामी सुर्खेत, दुल्लु, कालिकोट, जुम्ला छिचोल्दै पुग्दाको क्षणमा । लोकवार्ताका संवाहकहरू जमजमाउँछन् । केही लोकवार्ता संवाहकहरू सम्मानित हुन्छन् । मुसुक्क मुस्कुराउँछ छाया नाथ !
मुगु कर्णाली नदीसँगै अग्लिएर उभिएको डाँडोको काखमा लम्पसार परेको गम गढी ! छाया नाथ हिमशृङ्खलाको आशीर्वाद थाप्दै छ । उँभोबाट झरिरहेको अत्यासलाग्दो मूल सडक ! तलतिर छङ् छङ् सुसाइरहेको मुगु कर्णाली र सुसाइरहेका सल्लोका वन पाखाले बिकटै भए पनि आनन्दसाथ बसेको रहेछ गम गढी, मुगुकै राजधानी बनेर ।
सडकका दायाँबायाँका एकोहरो बजार जमजमाइरहेका थिए । बजारकै भीरतिर ठडिएका घरहरूले तीन चार तला उक्लिएर मात्र सडक भेट्दा रहेछन् । कसरी ठडिए होलान् ? सिमेन्ट, इँटा र रड कसरी आइ पुगेका हुन्, यस्तो विकट बस्तीमा ? अचम्मै लाग्छ ।
आज रातको वास त्यस्तै एउटा होटेलमा भयो । कौसी वा झ्यालबाट तर हेर्दा कहालि लाग्छ । तैपनि दुई तलामुनिका कोठामा विश्राम गर्न पुग्यौं सह यात्री शीतल गिरी र म । अरू साथीहरू आ आफ्नै बन्दो बस्तीमा लागे । आफ्नी छोरीको नाममा भर्खर सञ्चालित स्वस्तिका होटेलका मालिक लोकेन्द्र बहादुर हितानका दम्पतीले टीका र फूलमायाले स्वागत गर्दा गडगडी मुस्कुरायो । बिहानीको जुम्ली मार्सीको भात, सिमीको दाल र रायो सागको छाक पनि स्वादिलो मान्यौं ।
खाडी मुलुकमा केही समय चाहारेर आफ्नै माटोको मायाले तानिएका उनले आफ्नै ठाउँ गाउँमा केही गर्ने सुरसारमा यो होटेल जन्माएका रहेछन् यसै पाली । छोरा र छोरी काठमाडौंमा पढाउन भ्याएका उनको माटोको मायामा चुर्लुम्म डुबेँ म ।
संगोष्ठीका लागि निस्किँदा भिरालिएको साँघुरो बजारले हामीलाई पञ्चे बाजा र बाक्यबाक्यानी (बाघबघिनी) को नृत्यले स्वागत बर्साउँदा मख्खियौँ हामी । तर स्थानीय बजार वासीहरूका उत्सुक र जिज्ञासु आँखाहरू प्रश्न गर्दै थिए, के हुँदैछ यहाँ ? अनभिज्ञता सलबलाउँदै थियो । पूर्व जानकारीको अभाव र स्थानीयमा सूचना प्रवाह कमजोर देखेँ मैले ।
यति हुँदा हुँदै पनि आयोजकहरूको चुरीफुरी उत्साह जनक भेट्यौं । बाजागाजासहितको नगर परिक्रमामा आमा समूहबाट प्रदान गरिएका चामलको सेतो टीका र सयपत्री फूलको मालाले हामी सुशोभित हुँदै थियौँ । जिल्ला समन्वय समितिको सभा कक्षमा संगोष्ठी प्रारम्भ हुँदा पीपलको पातको ब्याजले छाती चौडा बन्दै थियो भने खादा बहिष्कारको प्रयासले मन हलुङ्गो बन्न पुग्यो ।
खादा एउटा आयातित संस्कार हो । फूल नफुल्ने मरुभूमि मय गाउँ बस्तीमा उपयुक्त होला यो संस्कार तर हाम्रो जस्तो फलफूलले ढकमक्क पाखा पखेराका लागि खादा अशोभनीय हैन र !
आहा ! कति मीठो लोकवार्तात्मक सुझबुझ ! सबै स्थानीय उपजको प्रयोग ! अनुकरणीय छ सबै पालिकाका लागि !
खत्याल, सारु र मुगुम कार्मारोङ गाउँ पालिकाहरूसँग हातेमालो गर्दै गरेका छाया नाथ रारा नगरपालिकाको गम गढी आफैमा पनि विकट देखि रहे छु म । अरू गाउँ पालिकाहरू कस्ता होलान् खै ? सारु गाउँ पालिकाले त तिब्बती सीमा नै भेट्दो रहेछ । नजिकै छ सीमा भन्थे स्थानीयहरू ।
हुम्ला निवासी हाम्रा मित्र प्राज्ञ के.बि. सिम्पल (काली बहादुर शाही) को चाँजोपाँजो र देवीलाल काफ्लेको संयोजनमा सम्पन्न संगोष्ठीको कार्यक्रम भव्यताका साथ सम्पन्न हुनु नै थियो, भयो । मित्र के.वि. सिम्पल साँच्चै सिम्पल छन्, अति सरल ! मृदुभाषी र मिलनसार । उनको सौहार्द न्यानो बनेको छ ।
जिल्ला समन्वय समितिको सभाकक्षमा संचालित संगोष्ठीमा ड्यौडा गीत, चम्फा नाच, भैली गीत, झोरा नाच, बाक्यबाक्यानी नाचका साथै राइझुमा गीत प्रस्तुतिले सभाकक्ष नै जुरुक जुरुक उठेको थियो । कार्यपत्र सत्रमा स्थानीय र अन्य जिल्लाबाट प्राप्त गोष्ठीपत्रहरू प्रस्तुत गरिएकोमा मैले पनि ‘नेवार घर र बस्तीको प्रारूप’ शीर्षकको गोष्ठीपत्र प्रस्तुत गर्ने अवसर पाएँ ।
नेवार समुदायको अस्तित्व ज्यादै न्यून भएको जिल्लामा नेवार समुदायको घर र बस्ती निर्माणको प्रारूप चिनाउने प्रयास हो मेरो । अनि जातीय तथा स्थानीय परम्परित त्यस्तो संरचनालाई मासिन दिनुहुन्न भन्ने निचोड पनि हो मेरो । जुम्ला मुगुतिरका परम्परित माटोका छाना भएका मुण्डे घरआँगन र प्रविधि पनि बच्नु बचाउनुपर्छ भन्ने मेरा आशय हो । यस्ता हाम्रा अमूल्य सम्पदा हाल एकाध देखा परे पनि लोप हुदै जाने स्थिति देखिरहेछु म । आधुनिकतामा रम्ने हाम्रो नियति नै बनिसकेको छ ।
मुगु अहिले हाम्रो गन्तव्य र कर्मक्षेत्र हो । कर्णाली प्रदेशको एउटा जिल्ला मुगु र मुगु शब्दले मलाई पिछा छोडेको छैन, नागबेली बाटोले रिँगाए झैँ । यस दुर्गम जिल्लाको नाम मुगु कसरी रहन भयो भन्ने खुलदुली बल्झिरहेको छ मेरो मनमा ।
सुनेको हुँ नाम्जा भन्ज्याङबाट दक्षिण बगेको मुगु कर्णालीको बायाँ किनारामा अवस्थित गाउँ हुनाले मुगु भन्ने नाम रहन गएको हो (कृ.प्र. श्रेष्ठ, स्थान नाम कोश) । पौराणिक किंवदन्तीमा जे भए पनि यसै जिल्लामा अवस्थित सुदूर उत्तरी भेकको ‘मुगुम’ अर्थात् ‘मुगु’ गाउँको नामबाट ‘मुगु’ नाम रहन गएको कुरा स्थानीय देवीलाल काफ्लेले बताए । उनको कथनअनुसार ‘मेखाम्’ शब्दबाट ‘मुगुम्’ हुँदै ‘मुगु’ रहन गएको हो ।
कार्यक्रमपछि कार्तिक १० गतेको राति होटेल स्वस्तीकामा आराम गरेर अर्को बिहान हाम्रो बस उकालो लाग्यो यसै नगरपालिका अन्तर्गतको रारा तालका लागि ।
रारा तालको सौन्दर्यको के बयान गरेर साध्य छ र ! भीरमाथि तेर्सिएको नागबेली उबडखाबड, साँघुरो कच्ची सडकको त्रास र थकाइसमेत फूमन्तर गराइदिने शक्ति रहेछ राराको सौन्दर्य ।
रारामा लोकवार्ता संगोष्ठीको समापन समारोह सम्पन्न पश्चात् साँझ रारा तालकै दक्षिण दिशाको जल निकास घट्टे कुलो जत्रो निजोर खोला पछ्यायौं । करिब आठ सय मिटरको दूरीमा वन क्षेत्रमै सञ्चालित एउटा रिसोर्टमा बास बसेर १२ गतेको बिहान रारामा डुङ्गा सयर र घोडा सवार गर्दै सल्लेरी (रारा राष्ट्रिय निकुञ्जको बेस क्याम्प)बाट फर्किन थाल्यौं सोही बस, सोही बाटो, सोही जिल्ला, कतै कर्णाली राजमार्ग, कतै पश्चिमी लोक मार्ग त कतै स्थानीय मार्गहरू छिचोल्दै ।
सह यात्रीहरू बाटो कटाउन कसैले गीत गाउन थाले, कसैले प्रवचन दिन थाले आफूलाई भएको ज्ञानको, कोही दोहरी र अन्ताक्षरीमा अल्झिँदै थिए, कोही गफमै मस्त त कोही श्रवणमै मस्त थिए ।
“लौ लौ निस्क्यो निस्क्यो” धावा बोली हाले सह यात्रीहरूले । अम्बा दत्त भट्ट सरको मुखबाट बोल्दा बोल्दै फूत्त निस्केथ्यो एउटा अङ्ग्रेजी शब्द । आफूले खनेको खाल्टोमा आफै पर्दै थिए उनी । भएको के थियो भने–
“यात्रा क्रममा कसैले पनि नेपाली भाषामा अङ्ग्रेजी शब्द प्रयोग गर्न पाइन्न है ! प्रति शब्द पचास रुपैयाँ हुस्सु दण्ड तिराइने छ ।” हाम्रा कुबेर बनेका अम्बा दत्त भट्ट सरको उद्घोष थियो हामी सुर्खेतबाट उँभो लाग्दै गर्दा । नेपाली भाषाको उद्गम स्थल मानिने कर्णाली प्रदेशको यात्राको थालनी हुँदै थियो त्यति बेला ! म त्यो क्षण सम्झिरहेछु ।
उद्घोष हुनासाथ खैलाबैला मच्चिएथ्यो बसभरि । हुस्सु दण्ड तिर्नुपर्ने असहमति हुँदा हुँदै पनि स्विकारेका थियौँ हामी सबैले । रमाइलो स्विकारोक्ति नै त हो । नेपाली भाषाको उद्गम स्थलमा किन बोल्नु त अशुद्ध नेपाली ? भाषा र संस्कृतिका विद्वत् वर्गले शुद्ध नेपाली बोल्नुपर्छ भन्ने मान्यता हामी सबैमा थियो र छ । र त शुद्ध नेपाली बोल्ने यज्ञमा होमिएका थियौँ, जे पो होला, देखा जायगा !
शुद्ध नेपाली बोल्ने र अनौपचारिक प्रवचन दिने होडबाजी नै चल्दै गयो यात्राभरि । मञ्च बन्यो बसको इन्जनमाथि बनेको खुल्ला ठाउँ ।
मैले पनि आफ्नो पालोमा बोल्न प-यो । बोले, थानकोटको टाउको लुकाउने रोचक जात्राको बारेमा । तर जति सतर्कता अपनाए पनि चिप्लि हालिंदो रहेछ जिभ्रो ।
त्यस्तो शब्दहरू मुखबाट फुत्किन पाएका हुँदैनथे होहल्ला भै हाल्थ्यो, “निस्क्यो, निस्क्यो” । अनि अम्बा दत्त सर कापीमा झटपट तथ्याङ्कित गरि हाल्थे । चर्को थियो नियम !
अङ्ग्रेजी शब्द नघुसाउने होडबाजी चल्दा चल्दै पनि भाषाविद्हरूले नै मनग्य हुस्सु दण्ड तिर्नु प-यो भने मैले हुस्सु दण्ड तिर्नु नौलो कुरो भएन । तिरेँ रमाउँदै ।
हामी फर्किँदै थियौँ राराबाट संगोष्ठी तुरेर । रम्दै रमाउँदै कहिले मध्य पश्चिम लोक मार्ग त कहिले कर्णाली राजमार्ग पछ्याउँदै मुगु, जुम्ला, कालिकोट छिचोलेर दैलेख जिल्ला प्रवेश गरेपछि हामीले कर्णाली राजमार्ग पछ्याउन थाल्छौं ।
यसै राजमार्गको छेउमा दुल्लु दैलेखको पञ्च कोशी तीर्थ स्थलमध्येको एक तल्लो डुङ्गेश्वर पुगेर मात्र बस रोकियो घ्याच्च । दुल्लु नगरपालिका वडा १ मा अवस्थित रहेछ यो तीर्थ स्थल ।
स्कन्द पुराणअनुसार शिवकी पत्नी सती देवीको अङ्गपतन भएका स्थानमध्ये पाँच स्थान हुन् दुल्लुका पञ्च कोशी तीर्थ स्थलहरू । दुल्लु दैलेखको पञ्च कोशी तीर्थ स्थल धूलेश्वर, शीर्षस्थान, नाभि स्थल, पादुकास्थान त दुल्लु यात्रामै दर्शन गरि सकेका थियौँ, बाँकी रहेको डुङ्गेश्वरको पनि दर्शन पाइनु संयोग नै बन्यो ।
कर्णाली र लोहोरे दुई नदीको दोभानमा रहेको छामाघाटमा अवस्थित सती देवीको अङ्ग पतन भइ उत्पत्ति भएकी कालसैनी कालिका र डुङ्गेश्वरका दुई तले छाने शैलीका मन्दिरहरू आकर्षक थिए । नमन ग-यौँ । छायाचित्र लियौँ ।
त्यहीँको सानो बजारको चन्द्र सूर्य होटेलमा कर्णालीकै माछाको सितनसहितको खानाले पेट पूजा गर्न पनि भ्यायौं । बिहानको छाक टारेर बस अझै ओरालो उकालो चढ्न थाल्यो । गन्तव्य छोट्टिँदै थियो तर तुरेको थिएन । अझै हुँइकिनु बाँकी नै थियो ।
स्मृतिबाट झल्याँस्स भएँ । हामी सुर्खेतको भूमिमा पुगिसके छौं फर्किने क्रममा ।
“लौ अब अङ्ग्रेजी शब्द खेल यहीँ टुङ्ग्याऔं” हाम्रा अगुवा भवेश्वर सरको उद्घोषण भयो । अम्बा दत्त सरले आम्दानीको फेहरिस्त पेश गर्दै भने, “यस उपक्रमबाट यात्रा अवधिभरि जम्माजम्मी छ हजारभन्दा बढी रकम उठेछ । त्यो रकमबाट खाजा खाने कि कोषमा राख्ने ? सुझावको अपेक्षा गरिन्छ ।”
सुझाव बर्सिए थरिथरीका । जे सुझाव बर्सिए पनि मलाई लाग्यो कति हुस्सु रहेछौँ त हामी । अङ्ग्रेजी शब्दको मोह कति गढेको रहेछ त हामीमा । अङ्ग्रेजी शब्द नघुसाइ बोल्न नसक्ने । सतर्क बन्दा त यस्तो अवस्था, अगिपछि कस्तो अवस्था होला ? यस खेलले थप्पड हान्यो नि हौ, मर्म पुग्ने गरी ।
यसै क्रममा सुर्खेतको मालचना भन्ने पहाडी वन क्षेत्रमा राउटेसँग जम्काभेट भएको हो । पातलिएको वन र गाउँ बस्तीको नजिकै सडकको मुन्तिर प्लास्टिकका असरल्ल केही छाप्रोहरू देखिन्थे । राउटेका बस्ती राउटीमा पहिले थौला (स्याउले छाप्रो) हरू हुन्थे ! स्याउलाले नै बार्ने र स्याउलाले नै छाउने गरिन्थे थौलाहरू, तर अहिले प्लास्टिकले छोप्न थालेका रहेछन् । प्रत्यक्ष देखियो ।
बिचरोहरू के गरुन् त, वन जङ्गलमा स्याउला नै पाउन छोडेपछि । काठ दाउरा नै काट्न नपाएपछि । काठमा भाँडाकुँडा पनि त बनाउन छोड्दै रहेछन् । धन्न धानिरहेका देखिन्छ आफ्नो परम्परा, घुमन्ते जीवन !
हामी सडकको डिलमा गएर हेर्न थाल्यौं । केही मानव आकृतिहरू सलबलाइएका देखिए । कोही झिटी झाम्टा बाँधबुँध गर्दै थिए, कतै हिँड्ने तरखरमा लागे जस्ता देखिन्थे । वरपर झुत्रेझाम्रे र नाङ्गे भुतुङ्गे केटाकेटीहरू पनि चलमलाएका देखिँदा मानव जीवन चलायमान नै रहेछ भन्ने लाग्यो ।
दुई चार जना राउटे केटाकेटीहरू सुस्त सुस्त बारीका कान्लो उक्लँदै सडकमा आउन थाले । लङ्गौटी र झुत्रो लुगामाथि अघिल्तिर गाँठो पारेर पछाडि तलसम्म छोडिएको सेतो मैलो काम्लो ओढेका केटोहरूको प्रत्येकको शिरमा टोपी फिस्स हाँसिरहेको थियो मैलो र झुत्रो भए पनि ।
सेतो मैलो कपडाको कछाड र सेतै काम्लो ओढेका पाका राउटेहरूको शिरमा पनि झुत्रे र मैलो भए पनि टोपी नछुटेको देख्दा भावुक बनेँ म ! राष्ट्रियता गुराँस फक्रिए झैँ लाग्यो । बरु हामी अधिकांश विना टोपीमै थियौँ ।
पाका महिलाहरूको आफ्नै पहिरन थियो । रातो छिटको चोली, सामान्य गुन्यू र शिरमा रातै काम्लो ओढेका राउटे महिलाहरूले गहनाहरू पनि पहिरिएका देखिन्थे ।
म मख्खिँदै उनीहरूलाई नियाल्दै थिएँ हाम्रो सामु आएर स-साना हात पसारिए । अचम्म लाग्यो, पहिले मान्ठे (मान्छे) देख्दा केटाकेटी मात्र के वयस्कहरू पनि पर पर भाग्थे रे ! अहिले त समाजसँग झ्याम्मिन थालिसके छन् । अल्छे र लालचे पनि बनेछन् क्या र ।
पहिले अनकन्टार वनको बिच भागमा रमण गरी गुना (बाँदर) मार्थे, कन्दमूल खोजी खोजी खान्थे राउटेहरू । अहिले गाउँ बस्तीको नजिक बस्न थालेको देखिँदै थिए । सायद आधुनिक समाजसँग घुलमिल हुन खोज्दै थिए । यो सकारात्मक पक्ष त हो, तर अल्पसङ्ख्यक भ्रमण शील राउटेको अस्तित्व कहाँ पुग्ने हो ? अन्यौलग्रस्त भएँ म ।
केटोहरू आफ्नै पाराको बोलीमा के के फलाक्दै थिए, सायद खाम्ची बोली मिसिएको खसभाषा होला । पैसा पो माग्दै थिए कि ? अड्कल काटेँ मैले । साँच्चै ! यिनीहरू त माग्न पो आएका रहेछन् ।
आकाशमा बादल मडारिए झैँ मडारियो मेरो मन । थपिए वृद्धवृद्धाहरू पनि माग्नेको लहरमा । हामीले फोटो खिच्यौं समूहमा । राउटेहरूसँग उभिनु पनि रमाइलै क्षण बन्यो । दक्षिणा पनि चढायौं आशालाई निराशा पार्नु थिएन हाम्रो ।
सोच्न थाले म । सरकारले अल्पसङ्ख्यक राउटेहरूलाई गाँस वासको लागि विभिन्न कार्यक्रम चलाएको छ भन्थे । सामाजिक करण गर्न प्रत्येकलाई मासिक भत्ता पनि दिएको छ भनिन्थ्यो । यसले त झन् उल्टो असर पारे झैँ लाग्दै थियो मलाई । न उनीहरूले आफ्नै परम्परागत खान, बस्न र विचरण गर्न पाए न त अन्य झैँ सामाजिक जिउन नै सके । भीरमा फलेको चिन्डो झैँ कति झुन्डि रहने हुन् खै ? यही हो त उपलब्धि ?
राउटेका माउड्या (नाइके)दिलबहादुर शाही भेट भएन । उनी राउटी सार्ने क्रममा उचित स्थानको खोजीमा अन्यत्र लागेका रहेछन् । भेटेको भए सोध्थें “के छ त हालचाल ? जीवन यसै गरी बिताउने हो ? केटाकेटीको भविष्य कहाँ छ खै ?”
बिचरो माउड्याले के उत्तर दिन्थे, कुन्नि ! तर सम्बन्धित सरकारी निकायले भन्ने थिए होलान्, “सुध्रिन मान्दैनन् । जति सहयोग गर्न खोज्छौं झन् दरिद्री देखाउँछन् । पैसा भेटे रक्सीमा धूत हुन्छन् । आफ्नो पुर्खाले देखाएको बाटो छोड्दैनौं भन्छन् । घुम्दै माग्दै खानुमै रमाउँछन्, के गर्नु र ?”
साह्रै दरिद्री सोच हो यो । गर्न चाहे के गर्न सकिन्न र ! राउटे जस्ता अल्पसंख्यक जनजातिलाई व्यवस्थित गर्न नसकिने हैन होला । तर आफ्नै दुनो सोझ्याउने धूनमा छन् सबै । कसलाई कसको चासो !
हामी पनि अल्पसंख्यक राउटेहरूको दयनीय अवस्था यथावत् छोडेर बसमा सवार भयौं । हामीले के पो गर्न सक्थ्यौं र लेख्नु सिवाय । यतिखेर हामीलाई पनि त गन्तव्य छोट्टाउने हतारो थियो ।
बस हुइँकियो, हुइँकिरह्यो सुर्खेत उपत्यका छिचोल्दै पूर्व पश्चिम राजमार्ग भेट्न । घाम ओझेल पर्दै पनि त थियो ।
०००
लेखक परिचयः तेज प्रकाश श्रेष्ठले वि.सं. २०२५ फागुनमा “गाउँफर्क” कविता प्रकाशन गरी लेखन यात्रामा होमिएका हुन् । उनका पाइलाका डोवहरु(२०४८), दौडाहा घुमाउरा बाटाहरूमा(२०५७), स्वप्नलोकका पदचाप(२०६७), अशान्त मन र यात्राका बिम्बहरू(२०७१), बुर्कुसीमा रम्छ मन(२०७५), म्यान्ली रोमाञ्च(२०७९) लगायतका नियात्रा कृतिहरु प्रकाशित छन् । उनका पाँच वाल नियात्रा कृति समेत प्रकाशित छन् । उनका ६ कथा सङ्ग्रह, २ उपन्यास, २ कविता सङ्ग्रह, लोक साहित्यमा ७, संस्मरण विविध ७ तथा वाल साहित्यका ७५ कृति प्रकाशित छन् । हाल उनी चन्द्रा गिरी नगरपालिका, तीनथानामा बसोवास गर्छन् ।