पवन आलोक
स्रष्टाहरूको भीडमा परबाटै स्पष्ट रूपमा चिनिने व्यक्तित्वको नाम हो श्रीओम श्रेष्ठ रोदन ।
नेपाली साहित्य र नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा वहाँले विशिष्ट योगदान दिइ सक्नु भएको छ र यसै क्षेत्रमा निरन्तर कृयाशील रहि आउनु भएको छ । कविता, निबन्ध, लघु कथा, नियात्रा जस्ता विधाहरूमा थुप्रै कृतिहरू पनि वहाँले नेपाली साहित्य भण्डारमा दिई सक्नु भएको छ । त्यसको अतिरिक्त अन्तर्वार्ता सङ्ग्रह र व्यक्ति निबन्ध सङ्ग्रह ( अभिवन्द्य) पनि प्रकाशित छन् वहाँका ।
वर्तमान पुस्ताका निबन्धकारहरू मध्ये निबन्धको शैली र प्रस्तुतिमा पृथक्, पहिचान बनाउनु भएका श्रीओमजी सशक्त निबन्धकार हुनुहुन्छ । विशेष गरि आत्मपरक निबन्धमा वहाँको विशिष्ट पहिचान छ । वि.सं. २०७८ मा प्रकाशित व्यक्ति निबन्ध सङ्ग्रह ” अभिवन्द्य”मा वहाँले प्रयोग गरेको शैली र प्रस्तुति अन्य निबन्धकारहरूको भन्दा भिन्न र नितान्त नौलो छ । यो कृति निक्कै चर्चित पनि भयो र यसले एउटा महत्त्वपूर्ण पुरस्कार पनि प्राप्त गर्न सफल भयो।
नेपालको साहित्यिक पत्रकारिताका क्षेत्रमा पनि वहाँको योगदान महत्त्वपूर्ण रहेको छ। गोरखापत्र संस्थानबाट प्रकाशित नेपालकै अग्रणी र प्रसिद्ध साहित्यिक मासिक पत्रिका “मधुपर्क” मा दुई दशक भन्दा बढी सम्पादन गरेको अनुभव बटुल्नु भएको छ रोदनजीले । नेपालकै पहिलो र ऐतिहासिक दैनिक पत्रिका ” गोरखापत्र” को प्रधान सम्पादक र प्रबन्ध सम्पादकका रूपमा करिब चार वर्ष सफलतापूर्वक काम गरेको अनुभव पनि रोदनजी सँग छ। यी पत्रिकाहरूका अतिरिक्त प्रगति स्मारिका, झम्सिखेल सामयिक, ध्येय चिन्तन वार्षिक, ललित ज्योति त्रैमासिक, चिमाल कविता विशेषाङ्क, कुमारी, पूर्णिमा र वारपार , खसखस, विश्वास लगायतका सत्र पुस्तक र पत्रपत्रिकाको सम्पादन गरि सक्नु भएको छ । वहाँले सम्पादन गरेको एउटा महत्त्वपूर्ण पुस्तक “समकालीन नेपाली निबन्ध” वि. सं. २०७९ मा प्रकाशित भएको छ । यो निबन्ध सङ्ग्रहमा नेपालका स्थापित र चर्चित पैँतालीस निबन्धकारहरूका निबन्ध सङ्ग्रहित छन् । श्रीओम जी कुशल सम्पादकका रूपमा पनि नेपाली साहित्यिक फाँटमा सुपरिचित हुनुहुन्छ ।नेपाल स्रष्टा समाजबाट प्रकाशित हुने गरेको “स्रष्टा दर्पण” को प्रधान सम्पादक र देशकै प्रसिद्ध र अग्रणी साहित्यिक द्वैमासिक “अभिव्यक्ति” परिवारका सदस्य र सल्लाहकार समेत हुनुहुन्छ उहाँ ।
भद्र, मिलनसार, इमानदार र शालीन व्यक्तित्व भएका श्रीओमजी बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ । वहाँले दर्जनौं राष्ट्रिय र अन्तरराष्ट्रिय पुरस्कार र सम्मानहरू प्राप्त गर्नु भएको छ । विगतमा नाटकहरूको लेखन, निर्देशन र अभिनय लगायत कलाकारिताका क्षेत्रमा पनि निक्कै लामो अवधिसम्म सकृय रहनुभएको पाइन्छ।
नेपालमा विगतमा केही कलाकारहरूबाट लघु कथा लेखिने गरिएको भएपनि यो क्षेत्र लगभग उपेक्षित रूपमा नै रहेको थियो। श्रीओम जीले लघु कथाको विकाश र प्रवर्द्धन गर्ने उद्देश्यले झन्डै १७/१८ वर्ष अघि “लघु कथा समाज” को स्थापना गर्नु भयो। यो समाजको संस्थापक अध्यक्ष भएर रोपिएको लघु कथाको बिरुवालाई मल जल, गोडमेल गर्दै हुर्काएर यसलाई लोकप्रिय बनाउने कार्यमा महत्त्वपूर्ण योगदान दिनु भएकोले नै लघु कथाले अहिलेको उचाइ प्राप्त गर्न सकेको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।
रोदनजीले विगतमा धेरै संस्थाहरूमा सकृय रूपमा योगदान दिनु भएको पाइन्छ। गोरखापत्र संस्थानबाट उमेर हदका कारणले सेवा निवृत्त भएपछि नेपालको सक्रिय साहित्यिक संस्था नेपाल स्रष्टा समाजमा विगत दुई वर्षदेखि अध्यक्षको रूपमा सेवा गर्दै हुनुहुन्छ । यो अवधिमा थुप्रै र अन्य साहित्यिक संस्थाका भन्दा पृथक र प्रभावकारी कार्यक्रमहरू आयोजना गरेर संस्थाको छवि अझ उच्च बनाउन कृयाशील रहनु भयो । हालै सम्पन्न संस्थाको साधारण सभाले उहाँलाई पुन: अर्को कार्यकालका लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ।
श्रीओमजी लाई मैले चिनेको दशकौं भयो। उहाँ मेरो प्रिय मित्र हुनुहुन्छ। थालेको काम जसरी पनि सम्पन्न गर्ने, जिम्मेवारी वाट पछि नहट्ने, कर्मठ र सदा सक्रिय र इमानदार व्यक्ति हुनुहुन्छ उहाँ। नेपालका कतिपय साहित्यिक ,सामाजिक संस्थाबाट स्थापित पुरस्कार सम्मानहरूको चयन समितिमा पनि उहाँ हुनुहुन्छ । मलाइ जानकारी भएसम्म पुरस्कृत सम्मानित पात्रको छनौट गर्दा सम्बन्धित क्षेत्रमा उल्लेखनीय योगदान दिएका तर उपेक्षा र ओझेलमा परिहारहरूलाई प्राथमिकता दिनु पर्छ भन्ने उहाँ को मान्यता रहेको हुन्छ जुन कुरा मलाइ धेरै मन पर्छ। श्रीओमजीको काम गर्ने शैली र कतिपय मान्यताहरूबाट म प्रभावित पनि छु।
त्यही प्रभावले मेरो मानस पटलमा बनेको छ एक छवि-मूर्धन्य साहित्य सेवीको ।
०००
निकै रोचक र जानकारी मूलक पाएँ।