लखेट्तै लखेट्तै समयले (निबन्ध)

गद्य विविध
नरेन्द्रराज पौडेल 
मोफसलमा हराएको एउटा मध्यम वर्गीय अनाम नागरिकको रिटायर्ड जीवन ! कहिल्यै नदेखेको,भेउ नपाइँदो अँध्यारो उत्तरार्द्ध !
पहिले जीवन भुवा जस्तै हल्का थियो, हिजोआज छिनछिनै झन्झन् ओसिलो र बोझिल बन्दै आएछ । चरी जस्तै भुरुरुर्र उड्ने काया दिनानुदिन भद्दा, असजिलो र अलाख लाग्ने भएछ । आफैँ आफूलाई अप्ठ्यारो प्रतीत भइदिने रहेछ । आफ्नै कायातरु अलि कुरुप, अलि कफल्लो, अलि निम्छरो र अलि खोक्रो अनुभव हुन थालेछ ।तैपनि जस्तो हो, त्यस्तै देखिन मन नमान्ने । नाना नौ थरी डेन्टिङपेन्टिङ, मर्मतसम्भार, कसकास र सफाचट गरेर सधैँ फ्रेस बन्न मन लाग्दोरहेछ , संगसंगै उतिखेरै छ्या, होइ राखोस् भन्दै अलि नीचमारा र अल्छी बनिँदो रहेछ । आफू कता छुटी सकियो कि भन्नेतिर नजाँनिदोसंग सोचाइ पछि लाग्दो रहेछ तैपनि ताजा तगडा विचारवान् हुनुको नसा लाग्दो रहेछ । नयाँ पुस्ताकोअगाडि आफैँ आधुनिक,सभ्य,सक्षम र जानिफकार छु भन्ने अहम् जाग्दो रहेछ । सिधै हेरिरहँदा आँखा रसाउने भएछन् । आफूले अह्राएको कुरा आफ्नै शरीरले टेर्न छोडेछ । तुजुक देखाउँन खोज्दा बुता बर्कतले झेल गर्न थालेछ । सोझै फटाफटी हिँड्ने जमर्को गर्दा ढाड झुक्न थालेछ । खुट्टा अनियन्त्रित बन्दै लर्बरिने भएछन् । पाइलाहरू यता टेक्छु भन्दा उता टेकिन पुग्ने रहेछन् । तर अरूलाई त्यो देखाउन मन नमान्दो रहेछ । ह्याउ न भएको अहमले सहज बन्न खोज्दै गरेको कृत्रिम हिँडाइ अस्वाभाविक बनेर अरूको आँखामा अल्झिन पुग्दो रहेछ । सोचाइका तन्तुहरू सुर्किनी खुकुलिँदै गएर शिथिल बनेछन् क्या र – एक थोक भन्न खोज्दा अर्कै थोक बोलिने भएछ ।
विचारले विस्तारै अतीत मुखी बनाउँदै लगेछ । उति बेरका अनेक खाले अनुभूतिका पत्रैपत्र चाङहरू बेला कुबेला फ्ल्याशब्याकझैं स्मृति पटलमा खुल्दा रहेछन् । कति बेर तीनै अनुभूतिलाई मीठो वाणी दिएर मूल्यवान् सिर्जना फुलाउने रहर जाग्दो रहेछ । फेरि उति बेरै अल्छी लागेर थाती रहेको सम्झनालाई विस्तारै विस्मृतिले ढाक्दै लगि दिँदो रहेछ । केही चाहनाहरू नयाँ नौला आकार लिएर यदाकदा सल्वलाउने रहेछन् , फेरि सुस्पष्ट बान्की लिन नपाउदै तुहिँदै हराएर खेर जाने रहेछन । कुनै आकृति बद्ध भइ हाले पनि कुरूप ,थोत्रो , ध्वंशावशेष अतीतको व्यामोहमा लटपटिएर हिलाम्मे जस्ता लाग्ने । बाक्लो चस्माभित्र कैद आँखाहरू अल्छी मान्दा रहेछन् – सेतो कागजमा घरीघरी पोखिन । अनि हातहरू कलम समातेर अनुभवलाई वाणी दिन उति सारो रहर नगर्ने भएछन् । सधैँ “भोलि गरौंला, पर्सी गरौंला ” भन्दै टार्दै गर्न मजा आउने भएछ ।
केटाकेटीहरू जिस्क्याउन थालेछन् – “ बाबा भन्नु त हामी क –कसको  नाम के के हो ?”
धेरै भुराभुरी जम्मा भएर एकै चोटि खेर्दा चिनिराखेका नानीका नाम पनि फ्याट्ट भन्न न आउँदो रहेछ । उनीहरूले नाना थरी सानातिना कुरा सोधिरहँदा -याकिङ गरे झैं लाग्ने भएछ  । उनीहरू आपसमा खेलेको,चलेको पनि दैख्तै झर्को लाग्न थालेछ । हुलमूल, हल्ला, हर्कत देखाएको औधी मन नपर्ने भएछ । त्यो निर्दोष बाल संसार आफ्नै ठाउँ ओगट्न आएको कुनै अवाञ्छित प्रतिस्पर्धी जमातझैं प्रतीत हुन थालेछ । तिनिहरूले गर्दा नै आफू हास्य पात्र बन्दै गएको भान पर्न थालेछ र आत्म ग्लानिले सताइरहँदा पीडा बोध बनेर दुख्दो रहेछ । आफ्नै दैनिक र नियमित गतिविधिले आफैँलाई लज्जित पार्दै लगेछ । कतिपय भन्न मिल्ने कुरा पनि सुनि दिने साथी नमिल्दो रहेछ । बह पोख्ने पात्र नपाउँदा प्रत्येक दिन “ ग्लूमी सण्डे ” बनेर उदाउँदो रहेछ ।
रात बोझिलो बन्दै जान थालेछ ।  निद्रा कम कम हुँदै गएछ । कहिलेकाहीँ रोदी, दोहोरी, सिनेमा गए पनि हुन्थ्यो, तर अरूको आँखामा एकाकी, हास्य पात्र, बनिने डरले घरीघरी सताइरहने भएछ । मनोरञ्जनका नयाँ नौला प्रविधिहरू स्वयम् मनोरञ्जक बन्दारहेछन । डान्सबार मसाज सेन्टरतिर  डिलिङ गर्न अलि अपठ्यारो लाग्दोरहेछ । बेलुकी घरवाट निस्कनै झ्याउ लाग्ने भएछ । छिप्पिँदै गएको शरीर र शिथिल बन्दैगरेका हातखुट्टाले “त्यता न जाउँ ” भन्ने सल्लाह दिए झैँ लाग्न थालेछ । तैपनि थारो रोमान्सले बेला कुबेला अतीतमा भोगेका रसरङ्गका रमाइला सम्झना उग्राएर मनलाई कुतकुत्याउन छाड्दो रहेनछ । बैँसालु बेलामा बितेका अनेकौँ रङ्गीन क्षणको सम्झनाले मस्तिष्कमा तारनतार फन्का मारी रहन थालेछ । अतीतका अप्राप्ति, अक्षमता र प्रवञ्चनाहरूको रापिलो स्मृति सरणीले सुनसान रातमा भतभती मन पोल्दो रहेछ । जुनेली रातमा देही छटपटाउँदो रहेछ । पाए मिलेजतिमै सन्तोष गरौं भन्दै तयार पार्न खोजेको धैर्यको बाँधलाई असन्तोषको बाढीले बेला कुबेला भताभुङ्ग भत्काइदिँदो रहेछ ।
दिनचर्याका सामान्य गतिविधिले विसङ्गत बाटो लिएर हैरान पार्ने भएछन् । बाथरुम छिर्छु भन्दा कहिलेकहिँ खाद्यान्नको स्टोरभित्र पसिने रहेछ  । दारीमा दल्ने क्रीम यदाकदा झुक्किएर टूथ ब्रसमा पर्दोरहेछ । अनि टुथपेस्ट चाहिँ दारीमा दलिँदो रहेछ । यता गलातिर जति ब्रस दल्दा पनि राम्ररी फिँज न आएपछि जिल्ल पर्नुको विकल्प नहुँदो रहेछ । उता नराम्रो स्वाद जिभ्रोमा पु-याएपछि टूथब्रसमा सेभिङ्ग जेल परेको बल्ल थाहा हुँदो रहेछ । कहिलेकाहीँ हातैको भर न हुँदा नाकका छेउपुछार , ओठका तलमाथि कुना, गर्धन हुँदो छियाछिया बनाइदिन थालेछ दारी काट्ने रेजरले । थोरैमात्र सर्दीगर्मीले पनि धेरै असर गर्न थालेछ । दम,बाथ,रुघखोकीको जुलूशले हप्तैपिच्छे सताएर ग्वाँ पार्ने भएछ । शिरमा सामान्य सर्दी लाग्दा पनि एकाएक पिनास पल्टिएर महिनौं थला पर्न थालिएछ । खानपीनमा अलि तलबितल पर्दा पनि पाचनक्रिया गडबडाएर हैरान पार्दो रहेछ । कहिलेकहीँ साधारण लाग्ने रुघाखोकीले पनि असामान्य रूपले दबेटेर महीनौं ख्वाङख्वाङ, घारघुर पार्न थालेछ ।
पाकेट खर्चको पर्स कता छुट्यो – संझना नहुँदो रहेछ । अनि कहिले घरकै केटाकेटी त कहिले काम गर्ने नानीमाथि लामो हात गरेको शंका उब्जिदो रहेछ । तर केही भनी हाल्न पनि आँट न आउँदो रहेछ । पछि आफ्नै बेचल्तीको खल्तीमा हराएको पर्स भेट्ता थक्कथक्क र पछुतो लाग्दो रहेछ । शरीरमाथि उप्रीथुप्री भिरेका कपडामा धेरै खल्ती हुनुको समस्याले ठट्टा गरेर आजित बनाउन थालेछ । उमेरअनुसार नै शरीरका ग्ल्याण्डहरू घटबढ भैरहँदा अर्को हैरानी थपिने रहेछ । प्रोष्टेट बढेर तारन्तार शू आइरहने भएछ । जति प्रयास गर्दा पनि राम्ररी न निख्रिएर बाहिरी पोशाकमा समेत टाटाटुटी देखिँदा लज्जित बन्नुपर्दो रहेछ । थाहा पाउँदा पाउँदै पनि लबस्तरो बन्नु बाहेक अरू केही गर्न नसकिने रहेछ । कहिले मोवाइल हराएर हैरान पार्ने, कहिले हातमा मोजा लिएर अन्त खोजेको खोज्यै बिहान बित्ने , बाहिरतिर डुल्न निस्किँदा पाइन्टको फस्नर लगाउँन विर्सिने अनि सहयात्री र दर्शक हाँसेको पत्तो नपाइने, उल्टै आफ्ना अतीतका साहसी वृत्तान्त र उडन्ते गफमा प्रभावित मान्छेहरू हाँसेको भान परेर गौरवको अनुभव भैरहने – बस् यस्तै यस्तै लाग्दो रहेछ  ।
जीवनभर सिकेको सीपले आफ्नै वृत्त सिँगार्ने सम्म जाँगर चल्न छोडेछ । लामो अनुभव बिछ्याउने मन कता कता विरानु संसारतिर उड्न थालेछ । आफ्नै गुणको जगेर्ना गर्ने इच्छा समेत ओइलाएछ । मिडियासंसार देख्तै, सुन्दै दिक्क लाग्ने भएछ । सञ्चार माध्यमहरू असहयोगी बन्दारहेछन । बुढेसकाल जनाउने र माया दया देखाउन स्वाङ पारिएका भद्दा विज्ञापनहरूले गिज्याइ रहे झैँ लाग्दो रहेछ । धोद्रो, बोली ,झार्लाङ्गे पाराका लबजको परिहासमा नाच खेल गर्ने जोकर पात्र बन्नुको पीडा पिईनसक्नु तातो तेल लाग्न थालेछ । बुढ्याइँ जनाउने भद्दा बोली बात र अभिनय सुन्दा, हेर्दा रेडियो टि.भी.नै फुटाइदिउँजस्तो झर्को लाग्दो भएछ । लेखपढ गर्ने पुरानो बानी भएपनि समयका संवेदनालाई  पक्रिन नसक्ता शोचाइ विश्रृङ्खल भएर यताउता छरिने , पोखिने रहेछ । छरिबरि भएको विचारलाई उठाउने जाँगर चल्न छोडेछ । अल्छी र बासी मनबाट ताजा रचनाहरूको सिर्जना पनि असम्भव लाग्न थालेछ  । यता आफ्नै स्तर आफैं आँक्न नसकिने रहेछ, उता रचना नछापिएको पीडामा रन्थनिएर सम्पादकलाई दोष दिन मन लाग्दो रहेछ  । अतीतमा साँढा पल्टिने “अहम्” अहिले कुण्ठाको विष पान गरेर दिनदिनै सुकरात बन्न थालेछ । कुनै दिन नामी खाले लेखक हुनुको नाताले थुप्रै पुरस्कार सम्मान हात लागे हुनन् तर अहिले पनि त्यही भ्रम उग्राएर अतीतलाई चाटी रहन आनन्द आउने रहेछ । समयले लत्याई सक्यो , साहित्यका विधा , विधि , विधान भाषा, भाव, विषय कहाँबाट काहाँ पुगे – शैली , विम्व, प्रतीकका पखेटा कति फटफटाए – आत्मसात् गर्न न सकिने रहेछ । कैयौँ रचना शील नयाँ लेखक उदाई सके हुनन् , उनीहरूका सिर्जनाको सम्मान गर्नु साटो उल्टो “ मै ठीक ” रट लगाउँदै आत्म केन्द्रित बनेर घोक्रो फुलाउने बानी परेछ  । आत्मश्लाघाकै एक सुरे राग अलाप्न मजा आउँदो रहेछ । कोही सुधो पाठक भेटी हाले हत्तपत्त बोलाएर आफ्नो रचना सुनाएर बोर गराउने रउस चल्न थालेछ  । आफ्ना किताबको चाङै भिडाउँदै र पढी देऊ , समीक्षा लेखि देऊ भनेर हत्तू बनाउन मजा लाग्ने रहेछ । अनि पाठकबाट पर्याप्त सम्मान र सौहार्द न पाएको गुनासो पनि सँगसँगै उसै माथि पोख्न मन लाग्ने भए छ ।
बेला बखत छोइ रहने नाना थरी बिमारीहरूले तारनतार झस्काउन थालेछन् । यतिन्जेल भोग्दै आएको सुनौलो दृश्य संसार चटक्क छोडेर अविदिततिर जाने दिन आई नै सक्यो कि भन्ने आशङ्काले थर्कमान बनाउँदो रहेछ । पत्रपत्रिकामाथि परेको पहिलो दृष्टि स्वर्गीयहरूप्रतिका समवेदना– शीर्षक,फोटा अनि तिनको उमेरतिर तानिने भएछन । “व्रह्म सत्यं जगन्मिथ्या ”  अध्यात्म दर्शनमा पूरा विश्वस्त बन्न सकिएन छ कि कसो हो ? जीवनको  भविष्य नै आधार हीन, अन्धकार पूर्ण र भयावह लाग्ने भएछ । ज्ञान, भक्ति, कर्म कतै कुनै पनि योग साधनामा आफूलाई समर्पित गर्न नसक्नुको पछुतोले पछ्याइ रहन थालेछ । आफैले भ्रम ठानी आएको अध्यात्म चिन्तनमा, बेहोसी अल्छी बन्नुको विवशताले यति बेर लखेट्न थालेछ ।
“सांसारिक समस्याको जड मृत्यु होइन , मान्छे स्वयम् हो ” भनेका थिए– हाइडेगरले । त्यत्ति कुरा पनि  आत्मसात् गर्न नसक्नुले भित्र भित्रै खोक्रो पार्दै लगेछ । आफैँले पालेपोषेका प्रवञ्चनाहरूले काँतर बनाउँदै  लगेछन् । जो भएको नाम सुनाम कलत्र सन्तति श्रीसम्पत्ति एकाएक छोडेर एक्लै जानुपर्ने आसन्न वियोग– व्यथाले मन तुलबुल तुलबुल हुन थालेछ । जाँदा अक्कर, अनकन्टार कस्तो बाटो लाग्नु पर्ने हो, स्वर्ग नरक के कस्ता ठाउँहरूमा पुग्नु पर्ने हो भन्ने पत्तो न हुनुले सधैँ अवसाद ग्रस्त बनाउँदो रहेछ । अविदित भविष्य रूपी अन्योलले अन्धो राक्षस बनेर निरन्तर लखेट्दो रहेछ । कुहिराको काग बन्दो रहेछ सोचाइ–समझदारी जति । टाढा टाढाको अज्ञात संसारतिर कावा खाँदै उदास उदास बनेर कता कता हराइँदो रहेछ ।
सधैँ सुती आएको सजिलो ओछ्यान पनि प्रतिदिन झनझन असजिलो लाग्न थालेछ । कमलो, नरम बिस्तरा उसै पनि शरशैया बनेर बिझाउन थालेछ । कता जाउँ, के गरौं , के नगरौंको अस्पटी र निसासोले छिनछिनमा चिटचिटे पसिना आउँदो रहेछ । विना कारणको अन्त्य हीन छटपटीमा समय बित्ने भएछ । यदाकदा दिनमै ऐँठन हुन थालेछ । बेला कुबेला यसो आँखा लाग्दै खेरी डरलाग्दा सपना देख्न थालिएछ । भविष्यको अन्योल पूर्ण आँधीले वरपरबाट घेरा हाल्दै दपेट्न थालेछ । अज्ञात, अपरिहार्य र अविजेय असन्न विपदाले हुरी बनेर भीर पहरा हुँदो घचेट्न थालेछ , आफ्नो परिचित संसारको नेटो कटाएर डाँड पारी हुत्त्याउन थालेछ ।
खान पीनमा आफ्ना रुचि अरुचि र स्वाद बेस्वादका विषयहरू पाखा परेछन् । आफू अलि घाँमट, अलि ओ-याहा बन्दै गएको आफैँलाई पत्तो नहुँदो रहेछ । बसउठ गर्दा नयाँ सन्तान र परिवार जनहरूको उपेक्षा मैदल काँडा बनेर बिझाउँदो रहेछ । उता घरायसी व्यवहारमा आफू चाहिँ कहिलेकाहीँ सामान्य मर्यादा पनि भुल्न थालिएछ  । तर अरूले पनि त्यसै गरी आफ्नो अदब भुलि दिए लघुता र ग्लानिले आँतमा डढ्यौलो सल्किने भएछ । कहाँ आइयो ,के भइयो भन्ने अन्योलको आभासले छिनछिनमा मन कुहिराको काग बन्दो रहेछ । आफैभित्र कुण्ठित बनेर हराउँदा हराउँदै न राम्रोसँग औडाहा छुट्दो रहेछ । पोख्ने निकास नपाउँदा मनको बह आफै भित्र उम्लिएर सकस पार्दो रहेछ । अगिसम्म बैँसालु चाँदनी लिएर खेल्ने टहटह जून पनि क्षितिजको डाँडामाथि ओर्लिँदा पहेंलो,निस्तेज बन्दोरहेछ । देख्तै टीठलाग्दो उदास,असक्त र आफैंजस्तो असहाय लाग्दो रहेछ । बस !
०००
लेखक परिचयः साहित्यकार नरेन्द्रराज पौडेल सीपापोखरे इन्द्रावती गाउँपालिका ७ सिन्धुपाल्चोकमा जन्मेका हुन् र हाल काठमाडौंमा बसोबास गर्छन् । उनका ४ कविता सङ्ग्रह, ७ निबन्ध सङ्ग्रह, १ समीक्षा सङ्ग्रह, ५ नियात्रा, ५ कथा सङ्ग्रह र १ वाल उपन्यास प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *