विश्व शाक्य
(पोखराका साहित्यकार, कलाकार र फोटोग्राफर हुन् विश्व शाक्य । व्यङ्ग्य उनको लेखनको मूलधार हो । यो कविता त्यसैको दृष्टान्त हो । साथमा प्रस्तुत छ यस कविताको कथन ।)
यमराजको निम्तो आयो,
म झस्किएँ ।
अगुल्टोले तर्सेको कुकुरजस्तो ।
मलाइ लाग्यो-
लौ वा …! अव त मेरो पनि मिति सकिएछ !
तर, उसको छोराको विहे पो रहेछ ।
भोलिपल्ट विहान सवेरै
मैले आकाश नियाली हेरें ।
बादलहरु तँछाडमछाड गर्दै कुदिरहेका रहेछन् ।
मैले सम्झें-
उनीहरु पनि उनैको निम्तामा जाँदै रहेछन् ।
केही छिनपछि,
आकाशवाट गड्यामगुडुम आवाज आउन थाल्यो ।
मलाई लाग्यो-
ट्याक्सी मोटरहरु पनि निक्कै पुगेका रहेछन् ।
त्यसको एक्कैछिनपछि,
झल्याकझुलुक विजुली पनि चम्कन थाल्यो,
तब मैले विचार गरें-
जन्तमा फोटोग्राफर पनि गएका रहेछन् ।
यस्तैमा,
“गुरूरर्र ड्याङ” मेघ गर्जेको आवाज आयो ।
म एक्कासी झस्किएँ अनि अत्तालिन थालें
लौ वा…! जन्ती त हिंडिसकेछन् !
बाजागाजाहरु पनि बज्न थाले ।
ठानें-अब त पक्कै अबेर भएछ !
टोपी लगाउँदालगाउँदै र जुत्ता कस्दाकस्दै
असिना पानी पनि बर्सिहाल्यो,
भयो फसाद ?
जन्ती पनि पर्सीसकेछन् ।
त्यै भएर पो अक्षता, जल पृथ्वीमा खस्यो ।
अब त पक्कै अबेर भयो,
मुख देखाउन मात्र भए पनि
हस्याफस्याङ गर्दै
म यमलोक पुगें ।
दुलही भित्र्याइसकेका रहेछन् ।
दरवारभित्र यता हेरें, उता हेरें
अनि म छक्क परें ।
त्यहाँ त हामी जस्तै मानिस रहेछन् ।
म आशचर्यचकित भएँ
अनि सोच्न थालें-
“यमराज पनि मानिस नै हुँदा रहेछन् क्यार !
के मानिस पनि यमराज नै हुन् त ?
यस्तै यस्तैमा मैले सुनें-
हाँसोहरुका गुञ्जाहटसँगै बजेका
रक्सीका रित्ता वोतलहरु।
अनि रक्सीको मात मत्याइसँगै
कम्प हुनथालेका होटलहरु ।
म केही कदम अगाडि बढ्छु ।
केही कदम पछाडि हट्छु ।
कहिले यता, कहिले उता,
अनि एउटा साँघुरो कोठा
कोठाभित्र
युग, परिस्थिति, काल, धर्म र अरुरु..
हल्लिंदै र झल्लिंदै
मदीराको गहिरो नसामा
अफूले आफूलाई विर्सने दशामा
वेहोस वेहोस भएर पिइरहेका रहेछन् ।
मलाई ढोकामा उभिइरहेको देखेर
आश्चर्यचकित हुँदै धर्म वोल्यो-
” ओहो ” सत्यता” तिमी भतर्खर ? ”
परिस्थितिले एउटा हातमा गिलास भर्दै
अर्को हातमा बोतल उठाउँदै
“चियर्स चियर्स….” कराउन थाल्यो ।
तर आश्चर्य !
मलाई देख्ने वित्तिकै
गोलभेंडाजस्ता आँखा बनाएर
वतासले हल्लाएको केराको पातजस्तै
हल्लिंदै र झल्लिंदै
क्रोधावेगमा युग गर्जन थाल्यो-
यू गेट आउट
उसको गर्जाइले म एक्कासी झस्किएँ
अनि ब्युझें-
यो त मेरो सपना पो रहेछ ।
000
कविताको कथाः
‘यमराजको निम्तो’ कविता मैले वि.सं. २०३०को दशकतिर लेखेको कविता हो । यो कविता मलाई औधि मनपर्छ । यो कविताले धेरै विषय वस्तु र प्रसङ्गहरू नसमेटेको भए तापनि यसले वर्तमान युग बोधको चेतना बोकेको छ । हामी बाँचेको युगले शक्ति, सोहरत र आडम्बरको मादमा जीवन र जगतको सत्यतालाई तिरस्कार गर्दै आइरहेका छौं । र, सत्यबाट टाढिंदै छौं । मानिसले अनेक कालखण्डमा महामारीको प्रकोपबाट व्यहोर्नु परेको मानवीय क्षति यसैको परिणति हो । यही नै यो कविताको सन्देश र मानव सभ्यताका लागि सचेतावनी हो ।