बहुआयामिक अर्थ बोकेको ‘आगोको बीउ’

पुस्तक समीक्षा

अनिता कोइराला

नेपाली साहित्यमा नयाँघरेको कलमको मसी निकै अर्थपूर्ण छ । नयाँघरेद्वारा लिखित पुस्तकहरूको सूचि लामो छ । उनले प्राप्त गरेका पुरस्कारहरू पनि दर्जनौँ छन् । आगोको बीउ उनको उन्नाइसौँ कृति हो ।

नयाँघरेका निबन्धहरू निजात्मक अनुभवमा आधारित छन् । आफूले देखेको ठाउँ, घटना, विषयबस्तु र भूगोलले जब हृदय छुन्छ तब लेख्छन् पाठकलाई मोहित पार्ने निबन्ध नयाँघरे। सिर्जनशील निबन्धकार प्रकृतप्रेमी छन् । प्रकृतिलाई नै ज्ञानको स्रोत मान्छन् । माटोसँग अगाध स्नेह राख्छन् । भुइँमान्छेका कुरामा उनको रुझान देखिन्छ । त्यसैले उनको लेखनी माटो सुहाउँदो छ । जीवन्त छ । समसामयिक छन् विषयहरू । अनुकरणीय र पठनीय हुन्छन् उनका भाषा र भाव । सरलतामा विराटता, विविधतामा एकता नयाँघरेको विशेषता नै रहेछ । सुशब्दका शिल्पी नयाँघरे, गौँथलीलेझैँ सुन्दर गुँड निर्माण गर्छन् बाक्यहरूको । कालिगडले झैँ शब्दलाई जोखेर तौलिएर, बडो मिहिन पाराले काँट छाँट गरेर वाक्यमा टाँस्छन्। त्यसैले निबन्धमा प्रयोग भएका वाक्यहरू पढ्दा बडो आनन्द लाग्छ । अर्थपूर्ण छोटो छरितो वाक्यले हृदयलाई छुन्छ । हरेक निबन्धमा गहिरो सन्देश सम्प्रेषित भएको छ । प्रत्यक्ष कथनभन्दा परोक्ष कथनमा रमण गर्छन् नयाँघरे ।

यी निबन्धमा आफ्नै घरआँगनका विषयलाई टपक्क टिपेर, माटो सुहाउँदो विम्बको जादूमा दर्शन,विचार, समाज, सम्बन्ध र सत्तालाई प्राथमिकतामा ल्याएका छन् । समयको आवाज बोल्छन् नयाँघरे ।

म कुरा गर्दैछु उनको नवीनतम कृति ‘आगोको बीउ’। कति आकर्षक छ शीर्षक नै । बडो कौतूकमय छ शीर्षक । विविध अर्थलाई सम्बोधन गर्छ ‘आगोको बीउ’ले । कोही मान्छे घरमा आएर तुरुन्तै फर्किन लाग्यो भने आमा भन्नुहुन्थ्यो, ‘के आगो लिन आएको जस्तो गरेको ।‘ केटाकेटी उमेरमै बुझेकी थिएँ कसैको घरमा गएर हतारमै फर्किए आगोको बीउ लिन गए जस्तै हुने रहेछ । आखिर नयाँघरेको ‘आगोको बीउ’ कुन सन्देश लिएर आएको छ ?

अहिलेको पुस्तालाई थाहा छैन आगोको बीउको प्राकृतिक विशेषता । मेरो पुस्तालाई थाहा छ, कुनै समय अगेनामा खरानीले छोपेर राख्नु पर्थ्यो आगोको बीउ । धुपौरो लिएर गाउँ नै हिँड्थ्यो आगोको बीउ खोज्न। गाउँमा सलाई उपलब्ध थिएन । सलाई पनि आगोको बीउ हो । आगोको बीउले भात पनि पाक्छ । डडेलो पनि लाग्छ । आगो प्रतीक हो विद्रोहको । आगो प्रतीक हो ज्ञानको । निबन्धकार नयाँघरेले २६ वटा निबन्धहरूको सङ्ग्रहमा विम्बको रूपमा ‘आगोको बीउ’ भर्खरै सार्वजनिक गरेका छन् । मौलिक विम्वमा जीवन दर्शन भेट्छन्  नयाँघरे । आफ्नै घर आँगनमा ज्ञानको मार्ग भेट्छन् । अनि उत्साही भएर गाउँले परिवेशमा उभिएरै दार्शनिक निबन्ध लेख्छन् । आफ्नै आँगनसँग पाठकलाई पुनः परिचित गराउन सफल छन् ।

छोटो मीठो वाक्य लोभ लाग्दो छ । गहन शब्द छनौट कला पूर्ण छ । भावको गहिराइ वजनदार छ । बडो बौद्धिक छ लेखनी । वैचारिक र दार्शनिक छन् निबन्धहरू । अप्रकट भाव, सन्देश र भाषा बिम्बित छन् । कथानकको आँगनमा विचारको बिस्कुन छन् । समाज, देश राज्य र प्रशासनको फितलोपन चिच्याएको छ । स्वार्थले गाँजेको सत्ता छ । छन् बग्रेल्ती अगस्तिको पेट लिएर बसेका शासकहरू । भ्रष्टाचारका अनेकौँ दुला देखिएका छन् यत्रतत्र । अदृष्य छन् नेपाली समाजका विशृङ्खलित नीतिनियम, कानून र प्रशासन । बदलिँदो छ समाज, सम्बन्ध, संस्कार र संस्कृति । राजनीतिले डोजर लगाएका सम्भावनाका पहाडहरू बग्रेल्ती छन् । सुशासन मृत प्रायः छ  । अराजकता उत्कर्षमा छ । अव्यवस्थामा अभ्यस्त हुँदैछ समाज, सत्ता र सरकार । नागरिक अभ्यस्त छन् बेथितिमा बाँच्न । दाउमा छ देश । संकटमा छ देश । धमिलो छ राजनीति । नयाँघरे आक्रान्त हुन्छन् छातीमा देश दुःखेर । नयाँघरे यसरी पिरोलिन्छन्, ‘म यतिखेर देशमा हरेक जड्ता र तरलतामा धमिलिएको वातावरणले आक्रान्त छु, आकुल व्याकुल छु, आहत छु ( पृष्ठ १५२ ) ।’ मस्तिष्क चलाएर प्रदूषित पारिँदैछ देशको अङ्ग अङ्ग । शालीन विद्रोह गर्छन् नयाँघरे । सस्तो नारा छैन कुनै निबन्धमा तर विचारको बुलेट चलाएका छन् नयाँघरेले ।

चाल्दै चाल्दै जीवनको धूलो सक्किन्छ व्यर्थको प्राप्तिमा । समयले चालेर सफा पारि दिएको जीवनमा मिसाउँछ मान्छे आफ्नै हातले बियाँ र ढुङ्गा । पिल्सिन्छ मान्छे आफ्नै आन्तरिक कुनिउँलाई व्यवस्थापन गर्न नसक्दा । रङको अलमलमा हराउँछ मान्छे दिनदिनै। भोगको लागि बौलाउँछ मान्छे । देख्दैन रगतको युद्द । बिँडो थाम्ने हतारमा छन् पुस्ता । जिम्मेवारी रुचाउन्न् आजका मान्छे । जतात्यतै अथकित छ थुक । प्रशासन थुक्छ सडकमा । विश्वविद्याल थुक्छ उर्जावान् काँधमा ।

समय चिन्तन छ नयाँघरेका निबन्धहरूमा ।

अग्ला आलिशानमा उज्यालो चम्किदा दृष्टिभ्रम छ अल्गाइमा । रुमलिएको छ मानव उचाईमा  । जब प्रकृतिले फेदमा खँगार्छिन् तब आलिशान अन्धकारमा छट्पटाउँछ । पालमा बल्छ बत्ती । जमिनमा उभिन बिर्सिएकाहरू निर्माण गर्छन् छुट्टै भूगोल आलिशानमा । प्रकृतिले समानताको पाठ घोकाउँदा पनि विवेक निदाएको छ आलिशानमा । घटना प्रधान भएर आएका छन् कति निबन्धहरू । महाव्यादिले जीवन बोध सिकाएको छ । देशभित्र बसेर झिँगाको थोप्ले विष्टा गन्न आह्वान गरेको छ समय । मानवीय संवेदना बाम पुड्के भएको बेला काउलीका बोट र पात अग्लिएका छन् काउली बारीमा । आर्यघाटमा जीवन र मृत्युको मसिनो डोरी देखेर पनि दौडन्छ मान्छे आगोको बीउ लिन । असिनाको भागबन्डाले देश थिलथिलो भएको छ । बालिकाहरू बटुल्दै छन् आफ्नै पिताको आँगनमा असिनाको भाग । निबन्धकार भन्छन् , ‘असिना – परिवर्तनको एउटा नमुना हो । असिना –रूप र सारको एउटा संयोग हो ।असिना- रूपान्तरणको एउटा प्रमाण हो । असिना – विजयको एउटा आधार हो  (पृष्ठ १६१)।‘ नयाँघरेलाई असिना र देश उस्तै लाग्छ र भन्छन् , ‘एउटै हबिगतमा छ अहिले मेरो देश ( पृष्ठ१६६) ।’

आमाको मस्तिष्कमा टम्म अटाएको बुवाको ठूलो गोजी देख्छु म निबन्धमा । आमाको अवसान पछि बाबुको गोजीमा साँगुरिएको छ संसार । बुवाको गोजीले समयको कोर्रा खाएपछि सबैको संसार एउटा सानो ग्याजेटमा अटाएको छ । निबन्धकारको मन रोएको छ देशको वास्तविक ऐना देखेर। विशृङ्खलित समय बोलेको छ नयाँघरेका निबन्धमा। गिलिपित्ति भएको राजनीतिले आकुलव्याकुल पारेको छ निबन्धकारलाई। खुट्टामा ठेला उठाएर यात्रा गर्नै नियात्राकार मस्तिष्कमा ठेला उठाएर लेखेका छन् ‘आगोको बीउ’ । त्यसैले नयाँघरेको लेखनीले तरङ्ग ल्याउँछ पाठकको मस्तिष्कमा । आफ्नै माटोमा फर्काउँछन् नयाँघरे विम्बको कोलाज समेट्न छनोट । यो कलापूर्ण निबन्धहरूले प्रत्येक पाठकको हृदय अवश्य छुन्छ ।

लेखिका परिचयः अनिता कोइराला कमलामाई नगरपालिका सिन्धुली भिमानमा जन्मेकी हुन् र हाल चन्द्रागिरि नगरपालिका गुर्जुधारामा  वसोवास गर्छिन् । विसं २०७८ सालमा सेतोपाटी’ मा ‘डिग्रीवाली गृहिणी‘ आलेखको प्रकाशनसँगै लेखन क्षेत्रमा पदार्पण गरेकी हुन् । उनको एक उपन्यास “उज्यालो औंसी“(२०८१) प्रकाशित छ ।

 

Leave a Reply