श्यामल

साभार रचना

नकुल सिलवाल

(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “श्यामल” को परिचय।) 

  1. अठतीस सालको शहिद दिवस तत्कालीन का. न. पा. ले कविगोष्ठी गरेर मनाइरहेको थियो । त्यही गोष्ठीमा भेट भयो हरिहर अधिकारीसँग प्रथम पटक । उहाँ कमै लेख्नुहुन्थ्यो, मैले कमै पढेको ।

पूर्णविराम प्रथम पुरस्कृत हुनुभयो कि गोष्ठीमा जस्तो लाग्छ । उहाँ अर्थात् हरिहर अधिकारी, अगाडि नै भनिसकें पछि श्यामल हुनुभयो । उहाँले नाम-थर कोकोसँग मिल्न गयो भनेर उपनाम खोज्नुभयो धुइँधुइँती – म साक्षी छु । बोलीवचन र फुर्सद, सहयोगी पनि सबै जुरेर हामी प्रायः भेटिरहन्थ्यौं । न्युरोडमा, डेरामा, गोष्ठी यस्तैमा हाम्रो उठबस नियमितजस्तै थियो ।

पूर्णविरामले ‘पत्रिका निकाल्नोस् नकुलजी’ भन्नुभएको हो मलाई साहित्यमा बरालिइरहेको देखेर । ललिजनले हैंसे गरेको हो र बगरको प्रथम अङ्क श्यामलले हेर्नुभएको हो श्यामल नहुँदै । श्यामल नहुँदा मैले रूपरेखाको सूचीपृष्ठ हेरेर बगरको सूचीपृष्ठ बनाएको हुँ । बगर रूपायन प्रेसमा नै छापिने भएकाले मलाई सजिलो भएको त्यस बेला, उहाँले ठीक मान्नुभएन । छापिइसकेको थियो, रद्द गरिएन – बगरको ‘पहिलो भेट पहिलो दसैं’ भनेर मुखपृष्ठमा सार्वजनिक गरिएको थियो ।

म खुबै उत्साही थिएँ तर दोस्रो अङ्क त्यहाँ छाप्न सकिएन । श्यामल अर्थात् हरिहर अधिकारी झन् रिसाउनुभयो । अलि सस्तोमा छाप्दा बगरको स्तर खस्केको मैले थाहा पाएँ र तेस्रो अङ्क फेरि रूपायन प्रेसमा नै छाप्यौं ।

थोरै तर अत्यन्तै स्तरीय लेख्ने कवि श्यामल पछिल्लो दशकमा त झन् कम लेख्ने हुनुभयो तर उहाँले जेजति कविता लेख्नुभएको छ, अत्यन्त सुन्दर र सशक्त लेख्नुभएको छ ।

कवि श्यामल एकाध अधिकारी थर भएका कविजस्तै चालू हुनुभएको भए वर्तमान कविहरूको लस्करमा एक नम्बरमा पर्नुहुन्थ्यो । उहाँ सस्ता, चल्तीको कवि हुनुभएन । जे हुनु भयो बेठीक भने हुनुभएन तर उहाँले आफ्ना कविताको सङ्ख्या केही बढाइदिनुभएको भए नेपाली कविताले मनग्गे नाफा कमाउँथ्यो नै ।

लामै समयदेखि नेपालमा नेपाली नै शरणार्थी छन्, त्यो पनि लाखौंमा – भुटानका नेपाली । तिनको व्यथा, कथा, वेदना र छटपटी देख्नुभयो कवि श्यामलले र लेख्नुभयो कविता ‘दिलमाया’ उहाँले । कति सशक्त र मर्मस्पर्शी छ । ५० सालको सर्वश्रेष्ठ कविता भनेर यहाँ फेरि प्रस्तुत गरिएको छ ।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *