वासु शशी

साभार रचना

नकुल सिलवाल

(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “वासु शशी” को परिचय।) 

म कविता छापिहिँड्ने बेला थियो त्यो । खुबै कविता लेख्ने, लेखिरहने र छाप्न मन लाग्ने । ‘सञ्चय’ निकै स्तरीय पत्रिका थियो- डाइजेस्ट, साहित्य- प्रधान ।

त्यस बेला पूर्णविराम, श्यामल, ललिजन रावल र म प्रायः भेटघाट गर्ने र सँगै हिँड्ने गथ्यौँ । वासु शशीकहाँ पनि जान्थ्यौं, बेला-बेला गइरहन्थ्यौं । उहाँ अनुजहरूलाई खुबै स्नेह गर्नुहुन्थ्यो, कविता सुनाउन लगाउनुहुन्थ्यो र खुबै प्रशंसा गर्नुहुन्थ्यो अलिकति मन पर्नासाथ ।

मेरो पनि कविता सुन्नुभयो र राम्रो भनेर सञ्चयका लागि कम्पोज गर्न दिनुभयो । छापियो पनि तर सञ्चय भने प्रकाशित भएन । केही पृष्ठ छापिएर पनि त्यो अङ्क सायद निस्केन । निस्केला-निस्केला भन्दाभन्दै त्यो कविता त्यसै रह्यो । कस्तो र कुन कविता हो मलाई सम्झना छैन । तर वासु दाइकहाँ आउजाउ भने त्यस्तै नियमित नै रह्यो ।

उहाँको प्रेसबाट बगर निकाल्ने भनेर पूर्णाङ्क ५ का केही पृष्ठ छाप्यौं पनि तर सबै छाप्न सकिएन । प्रेस बिग्रियो या मेसिनम्यान आएन ! कम्पोज गरेको ग्याली-ग्याली नै लगेर त्यो पनि राति देवपत्तनका वैद्यको प्रेसमा छापेको छु राति नै बगर र बिहान निकालेको छु ।

घर-कम्पाउन्डभित्रै सृजनामा रमेर बस्ने कवि-साहित्यकार थोरैमा पर्नुहुन्छ वासु शशी । कविताजस्तै उहाँ, उहाँजस्तै कविता- शिष्ट, शान्त, मर्यादित वासु दाइ । जस्ता खालका मानिसहरू पनि उहाँकहाँ आइरहने । धेरैसँग मिल्न सक्ने स्वभाव वासु दाइको । धेरैलाई उहाँका कविता मन पर्ने, नाटक त्यस्तै । पुस्तकहरू पनि खुबै लेख्नुभयो उहाँले तर खासै पुरस्कार र सम्मान प्राप्त गर्नुभएको देखिएन । बित्नुभयो चाँडै भूपि, पारिजात, वासु शशी र… । रोगले, रोगैरोगले बित्नुभयो उहाँहरू तर आफूलाई देशमा, समाजमा धेरै-धेरै नै छोडेर, छरेर जानुभयो र त टुसाइरहेछन्, हुर्किरहेछन् र झाँगिइरहेछन् भूपि, पारिजात र वासु शशीहरू ।

निरन्तर लेखी नै रहने कुनै न कुनै विधा वासु शशी । बीसौं शताब्दीको गीत’, ‘नक्कली मान्छेको कथा’ उहाँले लेख्नुभयो र गाए पाठकले, पढ्यो समाजले । धेरै मन पराइयो र चर्चा-परिचर्चा गरियो ।

त्यस्ता कविको कविता ‘हामी भाग्यमानी छौं‘ सायद प्रथम पटक छाप्यो अनुरागले र ‘उत्कृष्ट रचनाहरू २०४९‘ मा भित्र्याउन पायो बगरले । अहिले त्यसैमध्येबाट सर्वोच्च स्वीकार गरेर यो सङ्कलनमा आबद्ध गरिएको छ ।

०००

Leave a Reply