विमल वैद्य
(ईलामलाई कविताको कर्मभूमि बनाएर समकालीन नेपाली कविता जगतको टड्कारो ब्यक्तित्व बनाएका समर्थ कवि विमल वैद्य आफैंले रोजेको कविता र कविताको जन्मकथा प्रस्तुत छ-सम्पादक।)
प्राय: फुत्किन खोज्छ
पछिल्तिरको खल्तीबाट सधै,
देख्नेहरूले ठान्दा हुन्
सम्पन्नताको बिटो
लुकेको छ त्यसभित्र
मेरो पाइन्टको
दाहिने
पाकेट भित्र लुकेको पर्समा।
उसो त,
तिर्नु बाँकी
साहुका बिलहरू छन्
धितोमा परेको
जमिनको फोटोकपी
केही थान
श्याम/श्वेत आफ्नै तस्बिर
प्रयोग हीन
जन्म दर्ताको सक्कल पाना
बुझाउन बाँकी
बिजुलीको बिल
स्कुलका नानीहरूको
चर्को शुल्कका रसिदहरू
धारामा खस्न छोडेको
पानीको मासिक महशुलको रसिद
रिङ् बज्न छोडेको
टेलिफोनको क्यास स्लिप
मत खसालेर पनि
मतको सदुपयोग नभएको
मतदाता परिचय पत्र
यी सवै पत्र/ पत्र बनेर अटाएका छन्
मेरो पाइन्टको
पछिल्तिरको खल्ती भित्रको वालेटमा ।
व्यालेन्स रित्तिएको
निजी बैंकका दुई थान एटीएम कार्डहरू,
राजश्व बटुल्न
सरकारले निस्कासन गरेको
शहीदको फोटो अंकित
केही हुलाक टिकटहरू छन् चेप्टीएर बसेको
राजनैतिक पार्टीले थमाएको
म्यादी नियुक्ति पत्र
ट्राफिक प्रहरीले
तीन चोटि छेड पारिसकेको लाइसेन्स
कहीं कतै साट्न नसकिने
उच्च शिक्षाको प्रमाणपत्रको सक्कल पाना
आफ्नै निजी सम्बन्ध
स्खलित् भइसक्दा पनि
जोगाएर राखेको बिबाह दर्ताको कागज
देशले कहिल्यै नागरिक नसम्झिए पनि
बचाएर राखेको नागरिकताको एक थान प्रतिलिपी
छोरो विदेश पठाउदा लेखेको
आफ्नै आधा आँगनको लिखत
सवै/ लुकेर थन्किएका छन्
मेरो पत्लुङ्को
व्याक साइट पाकेटमा ।
लक्षिनका लागि
मन्दिरबाट साटेर राखेको एउटा ढ्याक पैसा
प्रतिबन्धित कालमा बनेको
राजनीति पार्टीको सदस्यता पत्र
उहिले एक समयमा
सुचना विभागले जारी गरेको पत्रकार परिचयपत्र
सन्दर्भ सकिएको राजाको टाउको भएको
एक सय रूपैयाँको नोट
उहिले धेरै अघि स्कुलले दिएको
चारित्रिक प्रमाण पत्रको नक्कल
अरू त के भनौ!
घरेलु कामदारका रूपमा
बर्षौ बिदेशमा बिताइरहेकी
आफ्नै पत्नीको धुमिल तस्बिर
र उनले भुलिसकेको
आफ्नै सन्तानको
बाल्यकालको अबोध फोटोहरू
सवै/ सवै खापिएर अटाएका छन् ।
देख्नेहरूले ठान्दा हुन्
अटाइ/ नअटाई रूपैयाँहरूको खात लागेको छ
मरो पाइन्टको पछिल्तिरको
दाहिने खल्तीको पर्समा।
०००
कविताको कथाः
फिदिम ( पाँचथर ) बाट मोटरसाइकलमा घर इलाम तिर फर्किदै थिए।पाँचथर र इलामको सिमाना राँके बजार काटेर देउराली भन्ने ठाउँमा आइपुग्दा साँझ पर्न लागेको थियो। घाम डुब्न लागेको त्यो समय मनमोहक थियो । त्यो दृश्यलाई फोटोमा कैद गर्न मन आतुर भयो । मोटरसाइकल बाटोको छेउमा रोकेर उत्रन खोज्दा मेरो जिन्स पाइन्टको पछिल्तिरको खल्तीमा रहेको ” मनी पर्स ” फ्यात्त भुइँमा खस्यो । हातले पर्स उठाएँ । पर्स मोटो थियो । केही रूपैयाँहरू थिए । त्यस भन्दा बढी अन्य सामग्रीहरू थिए । जस्तो कि एटीएम कार्ड, लाइसेन्स , केही भिजिटिङ् कार्डहरू, केही थान आफ्नै र परिवारका फोटोहरू , केही बिलहरू, नागरिकताको फोटोकपीहरू थिए । बस् यही प्रसंग बाट जन्मियो ” पर्स” माथिको कविता ।
बेलुका घर आइपुगे पछि पुरा गरें यो कविता र २० अप्रिल २०१९ गोरखापत्रको शनिबासरिय परिशिष्टाङकमा यो कविता प्रकाशित भएको थियो ।