वियोगी बुढाथोकी
टाउको फुट्ला झैं
निधारमा चट्याङ पर्ला झैं
टनटन गर्दो छ !
गाला रातो न रातो
मुस्ताङको पाकेको स्याउ भएको छ
मुख सुकेर प्याकप्याकतीको अवस्था, नभनौं भो !
आँखाले चश्माको खोल लगाएको धेरै भो
मिथ्या आरोप छ
दायाँ कानले सुन्छ, बायाँले उडाउँछ भन्ने
भन्नेकै समस्या हुनुपर्छ
यथार्थमा बायाँ कानले सुन्न छोडेकै धेरै समय भो !
कहिले यता, कहिले उता चस्किन्छ
मन त्यसै त्यसै झस्किन्छ
पेटमा वर्षाको आकाश झैँ गड्याङगुडुङ गर्दो छ !
गोडा बाउँडिनु
पैताला भतभती पोल्नु
बाँझो खेत झैँ चरचरी चिरिनु
वंशानुगत नै होला
यदाकदा शरीरको सुगम र दूर्गम भेगमा
रातो दागले थाहा नपाए जस्तो गरी
चिलाउन थालेको भर्खरै होइन !
समय निदानको खोजीमा निस्किएको छ
भन्नुहोस् विज्ञ महोदय !
मलाइ मात्रै यस्तो हुन्छ कि !
राजनीतिका कारण देशलाई पनि यस्तै छ ?
तपाईंभित्र संवेदनाको केही अंश भए
हातमा लौरो समाउनु अगावै बताउनु्स्
घरेलु औषधि के हुन सक्छ ?
(२०८१ कार्तिक २४, शनिश्चरबार, बेलायत)
०००
कवि परिचयः सिताराम बुढाथोकीको साहित्यिक नाम वियोगी बुढाथोकी हो । बिसं २०३२ सालमा कविता प्रकाशनसँगै शुरु भएको उनको लेखन यात्रामा ५ कविता सङ्ग्रह, ३ गजल सङ्ग्रह, ३ मुक्तक सङ्ग्रह, तथा २ नियात्रा सङ्ग्रह प्रकाशित छन् । समयलाई सञ्चो छैन, काठमाडौं धाइरहेछु, छुटेका यादहरु, म गोपाल अर्थात् गोपालहरु(श्रृङ्खला कविता), फर्किएँ जस्ता कविता शङ्ग्रहले उनी कविका रुपमा स्थापित छन् । काठमाडौं हात्ती गौंडा उनको पुर्खौली बासस्थान हो । उनले त्यसैलाई सिर्जनभूमि बनाएका छन् ।