डुवर्सेली नेपाली साहित्यालोचना एक सर्को अध्ययन

गद्य विविध

नवीन पौड्याल, कालिम्पोङ

नेपाली साहित्यको विकासमा डुवर्सको योगदान उल्लेखनीय छ। यहाँबाट पनि साहित्यका विभिन्न विधा उपविधा सिर्जनमा सक्रियता पाइन्छ। यसैगरी समालोचनाको स्वर गुञ्जिन लागेको छ। डुवर्सभित्र धेरै सिर्जनात्मक कृतिहरू प्रकाशित भइरहेका छन्। ती प्रकाशित केही कृतिहरूको समीक्षण र मूल्याङ्कन थोरै मात्रामा भए पनि भइरहेका छन्। डुवर्सका आफ्नै संसार छ, आफ्नै सामाजिक, सांस्कृतिक, आर्थिक, भाषिक, राजनैतिक, भौगोलिक परिवेश छ। त्यहाँका मानिसका आफ्नै जीवन शैली, आफ्नै कथा-व्यथा, पीडा छन्। त्यहाँका मिश्रित र संश्लिष्ट समाजमा हाम्राहरू आफ्नै प्रकारले जीवनको भोगचलन गरिरहेका छन्। त्यहाँ लेखिएका साहित्यमा त्यहाँकै जनजीवनका सुख दुःख, पीडा, संवेदना, उत्पीडन आदिलाई रेखाङ्कन र प्रतिबिम्बन गरिएको पाइन्छ। त्यहाँका मिश्रित सांस्कृतिक परिवेशअनुसारको डुवर्सेली नेपाली साहित्यिक स्वरूपबारे गहन अध्ययन गर्नुपर्ने देखिन्छ।
समालोचना शब्दको व्युत्पत्ति र अर्थका आधारमा हेर्दा समालोचनाका विभिन्न स्वरूप भेदोपभेद देखिन्छन्। सामान्य रूपमा समालोचना, आलोचना र समीक्षा शब्दको प्रयोग भएको पाइन्छ। यद्यपि यी तीनवटा शब्दका अर्थ र सीमा रहेका हुन्छन्। व्युत्पत्तिका आधारमा हेर्दा यसको अर्थ सम्यक् गुणदोष दुवैको विवेचना गर्ने कार्यलाई नै समालोचना भनिन्छ। ‘समालोचनाका यिनै अर्थका आधारमा नै यसको परिभाषा गरिएको पाइन्छ। समालोचना परिभाषा गर्ने तथा यसको व्याख्या-विश्लेषण गर्ने कार्य पूर्वीय र पश्चिमी साहित्यमा पहिले देखि नै हुँदै आएको छ। साहित्यका अन्य विधाका परिभाषामा जस्तो समालोचनाको परिभाषा दिने क्रममा पनि विभिन्न विद्वान तथा समालोचकहरूका बिचमा मतैक्य पाइँदैन। विभिन्न विद्वानहरूले समालोचनाको सम्बन्धमा आफ्नो नवीन धारणाहरू राख्दै आएका छन् र यसरी आफ्नो मत राख्ने क्रममा समालोचना सम्बन्धी नयाँ परिभाषाहरू पनि आएका देखिन्छन्।

डुवर्समा समालोचना टाक्सिएको छ। डुवर्समा आफ्नो कर्मक्षेत्र बनाएर बसेका जीवन नामदुङले सन् १९७८ मा प्रकाशित पुस्तक “नेपाली साहित्यका भौंप्वालहरू”का माध्यमबाट डुवर्समा पुस्तकाकार रूपमा समालोचनाको घडेरी बसाली दिएका हुन्। यसपछि सन् १९९१ मा मन नारायण प्रधानको केही साहित्यिक अध्ययन र मूल्याङ्कन पुस्तक डुवर्सको दोस्रो समीक्षात्मक कृति हो। मननारायण प्रधानकै दोस्रो समालोचनात्मक कृति “साहित्यालोचन”(२०२२) पनि गहकिलो र गहन अध्ययन मनन गरी तयार पारिएको समालोचना पुस्तक हो। यसपछि जनार्दन थापा,रुपेश शर्माले पनि प्रगतिवादी समालोचनालाई अघि बढाएका छन्। उनीहरूले मार्क्सवादीय सौन्दर्यशास्त्रीय समालोचना पद्धति अपनाएका छन्। किताबसिंह राईको “सिर्जना र समीक्षण” (२०१०) समालोचनात्मक पुस्तक प्रकाशित देखिन्छ। यसभित्र रहेका जम्मा तेह्रवटा लेखहरूमा दसवटा समालोचनापरक र बाँकी तीनवटा सामान्य सांस्कृतिक, शैक्षिक र नेपाली भाषिक पठन-पाठनको स्थिति लेखाजोखा गरिएको छ। समालोचनापरकमा पनि सर्वेक्षणपरक, कृतिपरक र कृतिकारपरक रहेका छन्। यस पुस्तकको खास मूल्य भने सर्वेक्षणात्मक समीक्षामा रहेको पाइन्छ। कोही विद्यार्थी-शोधार्थीले डुवर्सको साहित्येतिहास र सर्वेक्षण गर्नुपरे किताबसिंह राईको यस पुस्तक विशेष महत्त्वको हुन्छ। शङ्कर प्रधानका पनि “समीक्षै समीक्षा” (२०१३),”कालअनुरूप कविता”(२०१५) र “डुवर्सका कृतिहरू”(२०१६) गरी तीनवटा समालोचनात्मक कृति प्रकाशित देखिन्छन्। यसमा डुवर्सका कृतिहरू डुवर्स क्षेत्रका साहित्य सर्वेक्षण र अनुसन्धान गर्ने र रूचि राख्ने विद्यार्थी र अन्वेषकका निम्ति निकै उपयोगी बनेको छ। यसभित्र डुवर्सबाट प्रकाशित ११९ वटा विभिन्न विधाका पुस्तकहरू र ९६ वटा पत्रिकाहरूबारे संक्षिप्त रूपमा भए पनि समीक्षा-टिपोट गरेका छन्। रूपेश शर्माको “सिर्जना र दृष्टि”(२०१७) प्रकाशित छ। यस कृतिलाई डुवर्सको मात्र नभएर भारतीय नेपाली समालोचनामा एउटा उत्कृष्ट समालोचनाको पुस्तक मान्न सकिन्छ। शोधपरक समालोचनामा डा दिलकुमार प्रधान डा राजीव विश्व आदि पनि देखा परेका छन्। अहिले डुवर्समा केही अन्य समीक्षकहरू पनि उदाएका छन्।

डुवर्समा नेपाली सर्जकहरूका अनुपातमा समालोचकहरू अत्यल्प नै हुन्। त्यहाँका विभिन्न ठाउँबाट साहित्यकारहरूको उपस्थिति देखिन्छ। यद्यपि समालोचकहरू भने थोरै हुन्। डुवर्सबाट प्रकाशित कथा कविता, नाटक निबन्ध, उपन्यास आदिको उति सर्वेक्षण, अध्ययन र समीक्षण भएको छैन। त्यहाँका गाउँ-घर, चियाकमान, कुना कन्दराबाट प्रकाशित सिर्जनाहरूको क्रन्दनका स्वरहरू समीक्षकबाट अझै ओझेल छन्। त्यहाँका समीक्षाहरूका आधार भने त्यहाँबाट प्रकाशित समीक्षाका पुस्तक, फूटकर समीक्षात्मक लेखहरू र स्मृति ग्रन्थहरूमा प्रकाशित व्यक्ति र कृति मूल्याङ्कनपरक समीक्षा रहेका छन् । हालसम्म डुवर्सवाट पन्ध्रदेखि सोह्रवटा जति मात्र समीक्षा-समालोचनाका पुस्तक प्रकाशित भएका छन्। त्यसैगरी “कालजयी कर्महरूमा बद्रीनारायण प्रधान”, “किताबसिंह कीर्ति र कृति” आदि जस्ता स्मृतिग्रन्थ प्रकाशित भएका छन्। समीक्षाहरूमा मुख्यगरी प्रगतिवादी चेतना, भाव-पक्षको अन्वेषणपरक, प्रभाववादी प्रवृत्ति पाइन्छ। यहाँ डुवर्सका केही समीक्षकहरूको समीक्षा लेखनबारे रेखाङ्कन गर्ने प्रयास गरिन्छ।
१) कितापसिंह राई
डुवर्सको प्रसिद्ध साहित्यकार कितापसिंह राईको जन्म १३ अप्रेल, १९४७ मा डुवर्सको दलसिंह पाडा भएको थियो। उनका बाबुआमाको नाम स्व. रणवीर राई र स्व. सुभद्रादेवी राई हो। उनले नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन् भने उनी शिक्षण पेशासँग आबद्ध थिए। उनी एक कवि, निबन्धकार र समालोचक हुन्। उनका ‘आँखीझ्यालबाट’ (१९९७), ‘सिर्जना र समीक्षण’ (२०१०) नामक दुईवटा पुस्तकलाई समालोचनाको पुस्तक प्रकाशित छन्। अघिल्लामा दसवटा र पछिल्लामा रहेका तेह्रवटा लेखहरूमध्ये दसवटा भने समालोचनापरक लेख समावेश छन्। ‘सिर्जना र समीक्षण’मा रहेका समालोचनात्मक लेखहरुमा ‘साहित्यिक गतिविधि अनि डुवर्स’, ‘आधुनिक भारतेली कविका रूपमा अगमसिंह गिरी’, ‘निर्माण-रजत जयन्ती अङ्क रौंचिरा अभिव्यक्ति’, ‘खुब नाच्यो कठपुतली संक्षिप्त निरूपण’, ‘लेख प्रलेखभित्र दौडँदा’, ‘अनुराग खण्डकाव्यमा प्रकृति चित्रण’, ‘सामाजिक कथाका सचेष्ट स्रष्टा प्रेम नेवाङ’, ‘ओझेलमा परेका हाम्रा कथाशिल्पी’, ‘जीवनेच्छा खोज्दै जिजीविषामा एक अनुशीलन’ आदि मुख्य हुन्। यसमा सर्वेक्षणपरक, कृतिपरक र कृतिकारपरक लेखहरू रहेका छन्। अघिल्लो पुस्तकमा डुवर्समा नेपाली निबन्धको विकासदेखि लिएर हरेक विधाको परम्पराको चर्चा गरेका छन्। डुवर्सको साहित्यिक सर्वेक्षण र मूल्याङ्कन उनको समालोचकीय वैशिष्ट्य हुन्। भारतको डुवर्स क्षेत्रमा नेपाली साहित्यलाई टेवा र योगदान दिने एकजना विशिष्ट लेखक हुन् कितापसिंह राई।
२)गोपालसिंह विश्व
जीवनीपरक समीक्षामा गोपालसिंह विश्व अघि आएका छन्। उनका धेरै लेखहरू समकालीन साहित्य भन्ने अनलाइन पत्रिकामा प्रकाशित हुँदै आएका छन्।उनी कुनै कृतिकारबारे आफुले जानेका सुनेका पढेका कुरालाई समीक्षामा उतार्छन्। उनको पुस्तक “डुवर्सका साहित्यिक व्यक्तित्वहरू” नामक पुस्तकमा डुवर्सका केही कृतिकारबारे उनका लेखहरू समावेश छन्। यसमा डुवर्स भूमिका सोह्रजना सर्जकहरूका सामान्य जीवनी, कृतित्व र कृतिबारे निरूपणात्मक समीक्षा गरिएको छ। यसमा रहेका लेखहरू हुन्-‘बद्रीनारायण प्रधान व्यक्तित्व र कृतित्व’, ‘डुवर्सेली नेपाली साहित्यिको विकासमा चन्द्रवीर प्रधानको योगदान’, ‘वरिष्ठ साहित्यकार एस एन छेत्री’, ‘डुवर्स गीतिकाव्यका सर्जक मणिकुमार थापा’, ‘प्रेरणादायी व्यक्तित्वका धनी साहित्यकार कितापसिंह राई’, ‘मुनामदनका अङ्ग्रेजी अनुवादक गङ्गासिंह राई’, ‘डुवर्सका प्रथम उपन्यासकार श्री विष्णु शर्मा अधिकारी’, ‘डुवर्सेली साहित्यकार लोकनाथ प्रधानको संक्षिप्त परिचय’, ‘कला र साहित्यिका एकनिष्ठ साधक श्री राज के श्रेष्ठ’, ‘ओझेलमा परेका डुवर्सका साहित्य सर्जक कृष्णभक्त खँड्का’,‘साहित्य सर्जक इन्द्रबहादुर गुरूङको जीवन यात्रा’, ‘डा. सोनाम बी वाङ्ग्यालको संक्षिप्त परिचय’, ‘हिन्दी र नेपाली साहित्यका साधक साहित्यकार बिर्ख खँड्का डुवर्सेली’, ‘साहित्यिक व्यक्तित्व र कृतित्वका आलोकमा श्री जीवन राणा’, ‘साहित्यकार शङ्कर प्रधानको संक्षिप्त परिचय’, ‘कवि र गजलकार दिलमान राई चोट’। यसैगरी उनको अर्को पुस्तक “भारतीय नेपाली साहित्यका स्रष्टा र दृष्टाहरू”(२०२४) पनि प्रकाशित भएको छ। यसमा रहेका लेखहरूमा पारसमणि प्रधान, हाइमन दास राई किरात, इन्द्र सुन्दास, हरिभक्त कटुवाल, इन्द्रबहादुर राई, कृष्णसिंह मोक्तान,डा कमला सांकृत्यायन, आर पी लामा, असित राई, नरबहादुर दाहाल, विक्रमवीर थापा, जस योञ्जन प्यासी, डा. जीवन नामदुङ, दुर्गाप्रसाद श्रेष्ठ, केदार गुरूङ, युवराज काफ्ले, मुक्तिप्रसाद उपाध्याय गरी जम्मा सत्रजना भारतीय नेपाली सर्जकहरूको जीवनी, व्यक्तित्व र कृत्तित्वका बारेमा समीक्षा गरिएको छ।
गोपालसिंह विश्व मूलतः जीवनीमूलक र प्रभाववादी समीक्षक हुन्।

३)शङ्कर प्रधान
शङ्कर प्रधान पनि समीक्षा लेखनमा अघि आएका छन् । १ अगस्ट, १९६२ मा जन्मेका शङ्कर प्रधानका बाबु-आमाको नाम स्व. मननारायण प्रधान र श्रीमती कुमारी प्रधान हो। शङ्कर प्रधानका कविता, समालोचना र नाटक आदि गरी उनका विभिन्न पुस्तक प्रकाशित भएका छन्। समालोचनाको क्षेत्रमा उनका ‘समीक्षै समीक्षा’ (२०१३),‘कालअनुरूप कविता’ (२०१५),‘डुवर्सका कृतिहरू’ (२०१६) प्रकाशित छन्। उनले ‘कालअनुरूप कविता’मा नेपाली कविताको इतिहास खोतल्ने काम गरेका छन्। यस पुस्तकमा कविताको परिचय, भक्तिकालदेखि वर्तमानको अत्याधुनिककालसम्मको संक्षिप्त रूपमा भए पनि परिचय दिएका छन्। उनका अनुसार नेपाली कविताको कालविभाजन यसरी गर्न सकिन्छ- भक्तिकाल, रीतिकाल, गद्यकविता, वीरगाथाकाल, सुगौली सन्धिकाल, शृङ्गारकाल, गजल कविता, जनजागरणकाल, विकासकाल, प्रवर्तनकाल, महासमरकाल, आधुनिककाल, स्वतन्त्रता कविता अत्याधुनिक काल। यी सबै काल विभाजन गर्दा मुख्य प्रवृत्तिलाई आधार लिएका छन्। पछिल्लो पुस्तकमा शुरूदेखि २०१६ सम्म डुवर्सबाट प्रकाशित प्रत्येक साहित्यिक पुस्तक र पत्रिकाहरूको संक्षिप्त परिचयात्मक टिप्पणी गरेका छन्। डुवर्सको विषयमा भविष्यका शोध अनुसन्धान र साहित्येतिहास लेखकका निम्ति अत्यन्त उपयोगी हुन्छ। कृति र कृतिकार मूल्याङ्कन, सर्वेक्षण, आलोचनात्मक इतिहास प्रस्तुति र प्रभाववादी उनको समालोचकीय विशेषता देखिन्छन्। उनले खोजमूलक समीक्षामा पनि रूचि लिएको देखिन्छ।

४) विक्रम राई
जन्म ३ मार्च, १९८४, लुकसान, डुवर्समा मातापिता स्व रत्नमाया राई र नन्दलाल राईका सुपुत्रका रुपमा जन्मेका हुन् विक्रम राई । उनले नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेका छन् औ उनी प्राध्यापन पेशामा रहेका छन्। उनका समालोचनाको पुस्तक नभए तापनि उनका केही समीक्षात्मक लेखादि विभिन्न जर्नल र पुस्तकहरूमा प्रकाशित देखिन्छन्। उनका लेखहरमा शोधमूलक, कृतिपरक समालोचनात्मक लेख प्रकाशित भएका छन्। उनी कृतिको भाव र शिल्प, संरचना पक्षको राम्ररी केलाउने गर्छन्। कृति मूल्याङ्कन, सांस्कृतिक अध्ययन, लोकसाहित्यिक, भाषिक अध्ययन, विषयवस्तुगत समीक्षण आदि उनका समालोचकीय प्रवृत्ति हुन्।
५) रुपेश शर्मा
३० अप्रेल, १९७४ मा बाग्राकोट, जलपाइगढीमा जन्मेका रूपेश शर्मा एक दक्ष समालोचक हुन्। उनका बाबुआमाको नाम स्व. अमरनाथ शर्मा र श्रीमती निर्मला शर्मा हो। उनले नेपाली विषय लिएर स्नातकोत्तरसम्म अध्ययन गरेका छन् र उनी शिक्षण सेवासँग आबद्ध छन्। उनी मूलतः प्रगतिवादी समालोचक हुन्। हालसम्म उनको‘सिर्जना र दृष्टि’ (२०१७) समालोचना पुस्तक प्रकाशित छ भने अनेक लेख असङ्कलित रूपमा पत्रिकामा छरिएका छन्। उनको सिर्जना र दृष्टिमा खण्ड-क मा व्यावहारिक र खण्ड-ख मा सैद्धान्तिक विमर्श पाइन्छ। खण्ड क मा ‘पैतालातल्तिरमा क्रान्तिकारी आशावाद र भविष्यदृष्टि’, ‘अर्को लश्करको सैद्धान्तिक निकटता’, ‘पखेटा चलुञ्जेलको सौन्दर्य’, ‘म टिस्टा बगिरहेछु उदात्त यथार्थको प्रतिविम्बन्’, ‘निमित्तहरू श्रमजीवीवर्गको अवगुण्ठित विद्रोही भावको अनावरण’, ‘अक्षर अनप्लग्ड कविताको भावभूमिमा जैविकता’, ‘समय स्ट्रोक्समा प्रतिरोधी कालिक चेतना’, ‘गाउँलाई भनेर- मा रूपायित डुवर्स मोह’, ‘जिद्दी बालकमा मानवीय मूल्यबोध’। खण्ड- ख मा ‘नारीवादी लेखन र भारतीय नेपाली साहित्य’, ‘उत्तर आधुनिकता सन्दर्भमा भारतीय नेपाली साहित्य’, ‘विचारको शक्ति’, ‘साहित्यमा वाद असहमतीय जड़’ रहेका छन्। तत्व विवेचना, सौन्दर्य चिन्तन, प्रगतिवादी सिद्धान्तका आधारमा कृतिको विश्लेषण, वस्तुविवेचना, तार्किकता, इतिहास सापेक्षता, प्रगतिवादिता, विषयनिष्ठता उनका समालोचकीय उपलब्धि हुन्। उनी पत्रिका सम्पादक हुँदा सम्पादकीय लेखनमा पनि समीक्षा तप्किएको हुन्छ। उनको समालोचनाको कलम डुवर्स केन्द्री मात्र नभई समस्त नेपाली साहित्यिक क्षेत्रमा चलेको देखिन्छ।

६) बद्रीनारायण प्रधान
प्रगतिवादी साहित्यका एक साधक बद्रीनारायण प्रधानका केही समीक्षाहरू विभिन्न पत्र-पत्रिकातिर प्रकाशित भएका छन्। द्वन्द्वात्मक भौतिकवादी चिन्तन र प्रगतिवादी सौन्दर्यशास्त्रका आधारमा कृतिको परख गरेका छन्। उनको ‘मेरा केही लेखनी र साहित्यिक समालोचनाहरू’ नामक पुस्तक प्रकाशन गर्ने योजना थियो तर उनी जिवीत छँदा प्रकाशित हुन सकेन। उनका प्रगतिवादी सौन्दर्यशास्त्रीय चिन्तनपरक समीक्षात्मक लेखहरूको सम्पादन कार्य भइरहेको जानकारी पाइएको छ।

७) राजीव विश्वकर्मा
२७ नोभेम्बर, १९८२ मा डुवर्सको गेन्द्रपाडा जन्मेका राजीव विश्वकर्माको बाबु आमाको नाम श्री विक्रम विश्वकर्मा र श्रीमती लक्खी विश्वकर्मा हो। उनको एउटा समालोचनाको पुस्तक “अध्ययन केही”(२०१८) प्रकाशित भएको पाइन्छ। यस पुस्तकमा जम्मा १२ वटा लेख रहेका छन्। ‘लक्ष्मण श्रीमलको नाटक यो पनि हाम्रै हो’, ‘उसको घर एकाङ्की’, ‘प्राथमिक पाठशालामा पाठ्यपुस्तकमा भएका बालकविताको विवेचना’, ‘धरातलको आयुमा निरजका कविताहरू’, ‘श्रीनारायण प्रधानको कथासङ्ग्रह निमित्तहरू’, ‘किताबसिंह राईको सिर्जना र समीक्षण’, ‘किनारीकरणको अवधारणा र बाउको पसिना कवितासङ्ग्रह’, ‘गैरीगाउँकी चमेली कथासङ्ग्रहको मनोवैज्ञानिक पक्ष’, ‘विकास गोतामेकृत आज फेरि छोरासित’, ‘टीका एकाङ्कीको विश्लेषण’, ‘आवाजका बाजहरू’, ‘डुवर्समा नेपाली भाषाको वर्तमान स्थिति’ सङ्गृहीत छ। उनका समालोचनामा अनुसन्धानपरकता, प्राज्ञिकता, विश्लेषणात्मकता, तथ्यपरकता र प्रभावादिता जस्ता प्रवृत्ति पाइन्छन्।
८) मननारायण प्रधान

डुवर्सका मननारायण प्रधानको जन्म १७ जनवरी, १९६४ मा सामासिङ चियाकमानमा भएको हो। उनका बाबु आमाको नाम काजीमान प्रधान र शिवकुमारी प्रधान हो। उनी डुवर्स क्षेत्रबाट एक अग्रणी समालोचकका रूपमा परिचित छन्। उनको केही ‘साहित्यिक अध्ययन र मूल्याङ्कन’ (१९९१) र ‘साहित्यालोचन’ (२०२२) जस्ता समालोचनाका पुस्तक प्रकाशित देखिन्छन्। उनको साहित्यालोचनमा रहेका समीक्षात्मक लेखहरू हुन्- ‘कथाकार बद्रीनारायण प्रधान र उनको कथाकारिताको विश्लेषणात्मक अध्ययन’, ‘रूपनारायण सिंह कविका रूपमा’, ‘निबन्धकार एस एन छेत्री र उनको निबन्धकारिता’, ‘कथाकार हाइमनदास राई किरात र उनको बिनायो कथासङ्ग्रहभित्रका कथाहरूको विश्लेषणात्मक अध्ययन’, ‘सङ्गीतकार तथा साहित्यकारका रूपमा डी बी घिसिङ परिचयात्मक अध्ययन’, ‘कथाकार इन्द्रबहादुर गुरूङ र उनको बुखिमबारीका कथाहरूको विश्लेषण’, ‘जीवन नामदुङको पहिलो कृति नेपाली साहित्यका भौंप्वालहरू’, ‘सभ्यताका पेण्डुलमहरू र कवि पवित्रा लामाको काव्यिक चेतना’, ‘कवि कमल थुलुङका काव्य-प्रवृत्ति”, खण्डकाव्यकार केवलचन्द्र लामाको खण्ड-अखण्ड’। यसबाहेक उनका केही पुस्तक र पत्रिकामा अनेकौं लेखादि प्रकाशित छन्। उनले चन्द्रवीर प्रधानका कथाहरू, ‘स्रष्टा’को ‘डुवर्स विशेषाङ्क’ को सम्पादन पनि गरेका छन्।
उनी कुनै पनि कृतिको वस्तु विवेचना, शैलीप्रयोग आदिलाई राम्रोसँग केलाउने गर्दछन्। उनका समालोचनामा वस्तुनिष्ठ रूपमा कृतिको समीक्षा गरिएको हुन्छ। कृतिको भाव-पक्षको राम्रोसँग केलाइ-कुलाई गरी तिनका सामाजिक, सांस्कृतिक, सौन्दर्य आदि पक्षको सम्यक् समीक्षा गरिएको हुन्छ। कृति र कृतिकार सर्वेक्षण, शिल्प चेतना आदि पनि केलाइएको पाइन्छ। उनको समालोचनामा क़ृति विश्लेषण, अन्वेषणपरकता, विषयनिष्ठता, सर्वेक्षणात्मकता आदि गुण पाइन्छ। कृतिका वस्तुहरूका बारेमा गहन अध्ययन गरी तिनको मूल्याङ्कन र समीक्षण गरिएको पाइन्छ। उनको पछिल्लो कृति साहित्यालोचन मूलतः कथाविधा समीक्षामा बढी केन्द्रीत देखिन्छ।

९) बिर्ख खँड्का डुवर्सेली
डुवर्सेली उपनाम लेख्ने बिर्ख खँड्काको जन्म १ अक्टोबर, १९५४ मा कटलगढ़ी, डुवर्समा भएको हो। उनका बाबुआमाको नाम स्व. नरबहादुर खँड्का र स्व. जनमाया खँड्का हो। उनले विज्ञान विषयमा स्नातक र हिन्दी साहित्यमा स्नातकोत्तर अध्ययन गरेका छन् भने शिक्षण कार्यमा रही सेवा निवृत्त भएका छन्। उनी मूलतः एक सिद्धहस्त अनुवादक हुन्। उनले नेपालीका धेरै कथा कविताहरूको हिन्दीमा अनुवाद गरेर हिन्दीका सरकारी गैर-सरकारी महत्त्वपूर्ण पत्रिका-जर्नलहरूमा प्रकाशित गरेका छन्। उनको “नेपाली साहित्य विमर्श” (२०१७) हिन्दी भाषामा प्रकाशित छ। यसबाहेक नेपाली भाषामा पनि उनका दर्जनभन्दा बढी समीक्षात्मक लेखहरू पत्रिकाहरूमा प्रकाशित छन्। उनले समीक्षा गर्दा कृति र कृतिकारको परिचयन र मूल्याङ्कन, विषयवस्तु अन्वेषण आदि हेरेका हुन्। उनी पनि प्रभाववादी समालोचक हुन्।
१०)पवित्रा लामा
३ मार्च, १९७६ मा कालचिनी डुवर्समा जन्मेकी पवित्र लामाका बाबुआमाको नाम श्री ललित न्यासुर लामा र श्रीमती लघु लामा हो। उनी कविको रूपमा चर्चित छिन भने समालोचनामा पनि हात हालेकी छन्। उनका लेखहरू दैनिक समाचार पत्र र साहित्यिक पत्रिकामा प्रकाशित भएका देखिन्छन्। उनले लेखमा नारी विमर्श, मानव अधिकार आदि विषयमा समीक्षा लेख्ने गरेको पाइन्छ। कृतिभित्रको वस्तुतत्वको समीक्षण, विषयनिष्ठता,चिन्तनपरकता, नारी विमर्श, शास्वत विचारधारा आदि देखा पर्दछन्।

११)दिल श्रेष्ठ
४ जून, १९७४ मा खैरेनी बस्ती, सुकुनामा जन्म ग्रहण गरेका दिल श्रेष्ठका बाबुआमाको नाम श्री मकर बहादुर प्रधान र श्रीमती विष्णुमाया प्रधान हो। नेपाली समालोचनामा दिलश्रेष्ठको नाम उल्लेख गर्नुपर्ने देखिन्छ।उनले‘नेपाली र बङ्ला भाषाका आञ्चलिक उपन्यासहरूको तुलनात्मक अध्ययन’, विषयमा विद्यावारिधि हासिल गरेका हुन्। उनी वीरपाडा महाविद्यालयमा प्राध्यापन पेशामा संलग्न छन्। उनकोआञ्चलिकता र नेपाली केही उपन्यास” भन्ने ग्रन्थमा केही नेपाली उपन्यासमा पाइनेआञ्चलिक प्रवृत्तिमाथि राम्ररीअध्ययन गरिएकोछ। उनलेुआधुनिक भारतेली नेपाली कविताु आधुनिक भारतेली नेपाली उपन्यास भन्ने सङ्गोष्ठी पत्रहरूको सङ्कलनको पनि कुशल सम्पादन गरेका छन्। उनका‘महाकवि देवकोटाका कवितामा लोकलयको प्रयोग’, ‘आधुनिक भारतीय नेपाली कविताको केन्द्रीय स्वर’, ‘नदी केन्द्रिक उपन्यासको रूपमा ब्रहमपुत्रका छेउछाउ उपन्यास’, ‘लोकसंस्कृतिको वर्गीकरण र विवेचन पद्धति’, ‘नेपाली र बङ्गला आञ्चलिक उपन्यासहरूमा भूगोल र पर्यावरण’, ‘नेपाली साहित्य र संस्कृतिमा मानवीय हस्तक्षेपको कुरा’, ‘कवि किताबसिंह राई र उनको अक्षरानुभूति’, ‘नेपाली उखानमा लोकविश्वास’ आदि विषयमा लेखिएका लेखहरू विभिन्न जर्नल, पत्रिका र पुस्तकहरूमा प्रकाशित देखिन्छन्। उनको समालोचनामा विषयनिष्ठता, अनुसन्धानात्मकता, औपचारिकता, तथ्यात्मकता आदि वैशिष्ट्य देखा पर्छन्। उनी प्राज्ञिक समालोचनामा एकनिष्ठ समर्पित छन्। उनी सांस्कृतिक, सैद्धान्तिक र व्यावहारिक समालोचनामा देखा पर्दछन्। आञ्चलिकता अध्ययनमा उनको बढी रूचि देखिन्छ। हाल उनी वीरपाड़ा कलेजमा नेपाली विषयमा प्राध्यापन गर्छन्।

१२) जीवन नामदुङ
जीवन नामदुङ मूलतः डुवर्सको नभए तापनि उनी डुवर्सको सामसिंह उच्च विद्यालयमा शिक्षण कार्यमा संलग्न रहँदा समालोचना क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको छ। वास्तवमा भन्नु हो भने डुवर्सबाट समालोचनाको पहिलो पुस्तक प्रकाशित गर्ने र घडेरी निर्माण गर्ने जीवन नामदुङ हुन्। उनको जन्म ८ सितम्बर, १९५१ मा सोनादानजिक मुण्डाकोठीमा भएको हो। उनका बाबुआमाको नाम स्वं नरदीप राई र स्व. सञ्चमाया राई हो। उनले नेपाली विषयमा स्नातकोत्तर अध्ययन गरेपछि अगमसिंह गिरीको कवित्वमाथि विद्यावारिधि सम्पन्न गरेका हुन्। उनले पश्चिम बङ्गाल सरकारको नेपाली अनुवादकको रूपमा सरकारी सेवा गरी सेवानिवृत्त भएका हुन्। उनी साहित्य अकादमी, नयाँ दिल्लीसित दीर्घ दिनदेखि सम्बन्धित छन्। उनी सन् १९७८ मा ‘नेपाली साहित्यका भौंप्वालहरू’ लिएर नेपाली समालोचनामा देखा परेका हुन्। त्यसपछि देखि उनले यस क्षेत्रमा धेरै काम गरिसकेका छन्। नेपाली साहित्यमा उनको कवि व्यक्तित्व बाहेक एक डा. नामदुङ मूल रूपमा एक दक्ष समालोचक हुन्। उनको प्रथम पुस्तकबाट डुवर्सका नेपाली स्रष्टाहरू आलोकित, आलोचित र उपकृत भएका छन्। डुवर्स र अन्य ठाउँका केही ओझेलमा परेका पुराना र नयाँ लेखकहरूलाई डा. नामदुङले कुनै न कुनै रूपमा उत्खनन् र आलोकित गरेका छन्। उनले नयाँ लेखकहरूका कृति पढ्न र तिनमाथी समीक्षाको आलोक दिएर कृतिलाई उपकृत पार्दछन्। उनका प्रकाशित समालोचनाको पुस्तकहरूमा ‘नेपाली साहित्यका भौंप्वालहरू’ (१९७८) उल्लेखनीय छ। यो पहिलो समालोचनाको पुस्तक ‘नेपाली साहित्यका भौंप्वालहरू’ मा रहेका लेखहरूमा ‘डुवर्सको साहित्यिक झलक’, ‘कविता नियोजन किन’, ‘शिवकुमार राईका कथा गत वैशिष्ट्य’, ‘स्व नरेन्द्रप्रसाद कुमाईंको कविता यात्रा’, ‘मनबहादुर गुरूङका व्यङ्ग्य कविता एक दृष्टि’, ‘विरोकीका कविता यात्रा संक्षिप्त अवलोकन’, ‘स्व. हर्कजङ्गसिंह छेत्री’, ‘पन्त र गजुर्‌यालका भाषागत सादृश्यता’, ‘भानुभक्त रामायणमा नेपाली ठेट शब्दहरू’, ‘भानुभक्तमा रसिकता’, ‘पुराना कविहरूको सन्दर्भमा ज्ञानदिलदास’,‘रिमालको मसान र मसानको रिमाल’, ‘नहेर आज मलाई-लाई हेर्दा’, ‘दार्जिलिङका नेपाली पत्रिकाहरू एक समस्या एक समाधान’, ‘हिमालयभित्रका राष्ट्रवादी कविताहरू काव्यानन्द’ प्रक्रिया हुन्। ‘पर्यवेक्षण’मा रहेका लेखहरूमा पनि‘डुवर्सका दुई कथाकार’, ‘मणिकुमार थापाको गीतिकाव्य डुवर्स’ डुवर्सलाई स्थान दिएका छन्।उनको समालोचनामा अन्वेषणपकता, कृति र कृतिकार मूल्याङ्कन, समाजशास्त्रीय अध्ययन, तुलनात्मकता, प्रभाववादिता आदि प्रवृत्ति पाइन्छन्। यसका साथै ऐतिहासिक चेतना, तुलनात्मक, सर्वेक्षणात्मक प्रतिक्रियात्मक प्रवृत्तिका हुन्छन्।
१३) जनार्दन थापा
डुवर्सका एक अग्रणी लेखक, प्रगतिवादी चिन्तकका रूपमा परिचित जनार्दन थापा पनि एकजना कुशल समालोचक हुन्। समालोचनाको पुस्तक प्रकाशित नभए पनि विभिन्न पत्र-पत्रिकामा उनका समीक्षाहरू प्रकाशित भएका पाइन्छन्। उनका लेखहरू तर्कप्रधान, विचारप्रधान, वस्तुनिष्ठ र सौन्दर्यशास्त्रीय ढाँचाका हुन्छन्। उनी विशुद्ध मार्क्सवादी चिन्तनलाई अघि बढाउने एक प्रगतिवादी समालोचक हुन्।

१४)सीताराम काफ्ले
बाग्राकोटमा जन्मेका सीताराम काफ्ले एकजना कुशल समालोचक हुन्। उनको जन्म ४ डिसेम्बर, १९६२ मा बाग्राकोट, जलपाईगढी जिल्लामा भएको हो। उनका बाबुआमाको नाम स्व. रामचन्द्र काफ्ले र स्व. पवित्रादेवी काफ्ले हो। उनी कालिम्पोङको कुमुदिनी होम्स विद्याश्रमका एक शिक्षक रही नेपाली साहित्यको सेवा गर्दैछन्। अहिलेसम्म उनको गोजिका आंशिक समीक्षा, (१९८४), विवेचन (सम्पादन), रचना विमर्श (लेख र समीक्षा मिश्रित, १९९४), विचार विकीर्ण (लेख र समीक्षा मिश्रित, १९९५) , विमर्श विमर्श (२००९),एम एम गुरूङ (साहित्य अकादमीको भारतीय साहित्य निर्माता प्रकाशन शृङ्खलाअन्तर्गत जीवनीपरक समालोचना, २०१९), मनस्वी (२०२४) जस्ता समालोचनामूलक पुस्तक प्रकाशित देखिन्छन्। यीमध्ये ‘विमर्श विमर्श’ मा ‘हाम्रा गीत र देशभक्ति भावना’, ‘प्रदीप गुरूङ र विरिमफुल’, ‘भाइचन्द प्रधान’, ‘पर्यावरण र साहित्य’, ‘जापानी हाइकु’, ‘रामलाल अधिकारी’, ‘कवि चामलिङ र उनको सूर्य उदाउऩुभन्दा पहिल्यै’, ‘मोतीरामभट्ट’, ‘मनोज बोगटीका कवितामा यौन चेतना’, ‘सुधीर छेत्रीको शिल्पका पखेटाहरू’ आदि लेखहरू समावेश छन्। उनको पछिल्लो मनस्वी निबन्ध सङ्ग्रहमा पनि केही लेख समीक्षात्मक छन्। यसमा केही कृति र कृतिकारको समीक्षण र मूल्याङ्कन गरिएको छ। उनी पनि विभिन्न कृति र कृतिकारबारे प्रभावपरक ढङ्गमा विशेषगरी भाव पक्ष केलाउने काम गर्दछन्। उनको समालोचनाको लेखन शैली एक प्रकारको स्वच्छन्द परक देखिन्छ। कृति र कृतिकारको परिचय रोचक शैलीमा लेख्ने गर्छन् जसद्वारा पाठकलाई एक प्रकारले आनन्द प्राप्त हुन्छ।

डुवर्सेली नेपाली समालोचनाको प्राप्त र सीमा

डुवर्सेली नेपाली समालोचना उत्ति झाँगिएको छैन। सन् १९७८ मा सामसिङ उच्च विद्यालयमा अध्यापन गर्ने जीवन नामदुङको ‘नेपाली साहित्यको भौंप्वालहरू’ नामक पुस्तकबाट डुवर्सेली समालोचनाको श्रीगणेश भएको मानिन्छ। यसअघि बद्रीनारायण प्रधानले पनि फुटकर रूपमा भए पनि समीक्षात्मक लेखादि लेख्दा आएका हुन सक्छ। यसबारे अनुसन्धान गर्नुपर्ने देखिन्छ। डुवर्सबाट अहिलेसम्म थोरै नै समीक्षाका पुस्तक प्रकाशित छन्। गोपालसिंह विश्व, मननारायण प्रधान, किताबसिंह राई, जनार्दन थापा, रूपेश शर्मा, शङ्कर प्रधान, सिताराम काफ्ले, बिर्ख खँड्का डुवर्सेली आदि जस्ता समीक्षकहरू सक्रिय रही यसतर्फ केही काम गरेका छन्। अनुसन्धानमूलक अध्ययन प्रस्तुत गर्ने केही युवाहरूमा राजीव विश्वकर्मा, विक्रम राई, दिल श्रेष्ठ आदि पनि रहेका छन्। यहाँबाट प्रकाशित समीक्षाहरूको प्राप्ति दुवै सीमा दुवै छन्। डुवर्सका बद्रीनारायण प्रधानका कृतित्व र व्यक्तित्व सबैभन्दा बढी आलोकित भएका छन्। यसका साथै मणिकुमार थापा, इन्द्रबहादुर गुरूङ, किताबसिंह राई, विष्णु शर्मा अधिकारी आदि पनि केही मात्रामा आलोकित छन्। यद्यपि त्यहाँबाट अझै धेरै काम हुन बाँकी नै छ। वास्तविक रूपमा भन्नु पर्दा समीक्षकहरूको सङ्ख्या एउटा हातका औंलामा गन्न सक्ने मात्र छन्। त्यहाँका समीक्षकहरूले पनि त्यहाँका कृतिहरूको भावपक्ष, शिल्प पक्ष, सैद्धान्तिक पक्ष, मनोवैज्ञानिक पक्ष, भाषिक पक्ष, संरचना पक्ष आदिबारे गहन अध्ययन मनन गरी समीक्षा लेख्नुपर्ने छ। समालोचनाका नयाँ नयाँ सिद्धान्तहरू आएका छन्, तिनका आधारमा डुवर्सेली समालोचना आउन बाँकी नै छ। त्यहाँका आफ्नै सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश रहेको छ, त्यस ठाउँका कृतिहरूको मूल मर्म केलाउन बाँकी नै छ।

नेपाली साहित्यको समालोचनाको क्षेत्रमा डुवर्सको नाम पनि जोडिनुपर्दछ। त्यहाँ पनि अब केही समीक्षात्मक कृतिहरू कतै पुस्तकका रूपमा कतै फूटकर लेखका रूपमा र कतै स्रष्टाहरूका स्मृतिग्रन्थहरू कृति समीक्षा र मूल्याङ्कन गर्ने क्रममा देखिन्छन्। त्यहाँका केही उल्लेखनीय र नेतृत्व गर्ने समीक्षकहरूमा किताबसिंह राई, मननारायण प्रधान, रूपेश शर्मा आदि रहेका छन्। अन्य आशालाग्दा समीक्षक, अध्येता, अनुसन्धाता आदि पनि रहेका छन्। यहाँबाट प्रकाशित नेपाली समालोचनाको आफ्नै प्राप्ति र सीमा रहेका छन्। केही उल्लेखनीय काम भएका छन् भने अझै काम गर्नुपर्ने देखिन्छ। सैद्धान्तिक पक्षको निरीक्षण, कृतिको भावपक्षका साथै शिल्प पक्ष संरचना पक्ष आदिबारे अझै अध्ययन-समीक्षणको विस्तार हुन सके डुवर्सेली नेपाली समालोचनाको भविष्य उज्ज्वल नै हुनेछ भन्ने कुरामा आशा गर्न सकिन्छ।\

सहयोग ग्रन्थ सूची
१। नवीन पौड्याल, भारतीय नेपाली समालोचक सन्दर्भिका, कालेबुङ, नेपाली साहित्य अध्ययन समिति, २०२२
२। मननारायण प्रधान, साहित्यालोचन, सामसिङ, लेखक स्वयम्, २०२२।
३। रूपेश शर्मा, सिर्जना र दृष्टि, बाग्राकोट, बनाप्रप्र, २०१४।
४। रूपेश शर्मा ९सम्पा।०, कालजयी कर्महरूमा बद्रीनारायण प्रधान, बाग्राकोट, बनाप्रप्र, २०१४।
५। शङ्कर प्रधान, डुवर्सका कृतिहरू, बाग्राकोट, बसुन्धरा प्रधान ग्रामीण पुस्तकालय, २०१६।

००००

लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), भारतीय नेपाली समालोचक कोष (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी भारतको कालिम्पोङमा बसोवास गर्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *