कवि – समीर ताँती
अनुवाद – मुक्तिप्रसाद उपाध्याय
मठ मन्दिर र दरगाहरूले
मभित्र
आङ तान्छन्
कैयौँ अप्सरा र गन्धर्वहरू
कैयौँ किन्नर-किन्नरी, यक्ष
आएर बसेका छन् साधु सन्यासी, फकिरको छेउमा
रातले कोल्टे फेरेको छ
मेरो शरीरमा उम्रिएका छन्
हजारौं वर्षे बोट-बिरुवा, फूल-पात-जरा
चरा, पशु र सरीसृपका पाइला
उडिरहेको छ हजारौँ वर्षे धूलो
हजारौं वर्षको हिलो-पानीमा
कुहि रहेका छन् दुवै खुट्टा
प्राचीनभन्दा पनि प्राचीन
हातमा रगत र आँसुको बटुको
आँखामा लाखौँ करोडौँ वर्षको नशा
ओठमा मूर्ति बनिसकेको ओठको नशा
बोल्न खोज्छु बोल्न सक्दिनँ
दुवै आँखाले पखेटा फिँजाइसके
जिब्राभरि अनन्त कालको तिर्खा
तिमीले मलाई नजिकै तान्छौ
बिहान हुँदै छ
म छैन
रित्तो गुन्द्री
गुन्द्रीमा एउटा मृत रातको
झरेको निन्द्रा
निन्द्रामा निहत अनुहारहरूमा
म मायाले बटुल्छु
लड़ेका मठ मन्दिरका महूर्तहरूलाई
त्यही हो मेरो विपन्न काव्यिकता
एउटा मृत कविताबाट बिस्तारै
ओर्लियो
एउटा शुद्ध बिहान
हजारौं अनाविस्कृत दिनका अधि विद्या
तिमीले मलाई पाउनका लागि व्याकुल भइसक्यौ
तर म त अहिले अधि विद्याको छातीमा
कुण्डली मारेर उड्न लागेको धुवाँ
*******
मूल कविः समीर ताँती असमका प्रतिष्ठित कवि हुन् । बोकाखाट असममा जन्मेका उनका जुध्द भूमिर कविता(१९८५), सुकाकुल उपत्यका(१९९०), अत्याचारेर तुकाबोही(१९९३), बिछिोइ दुर्भिख्य(१९९४), काली नोरोकोर पोरा(२००८) लगायतका कविता कृतिहरु प्रकाशित छन् । उनी गुवाहाटी असममा बसोवास गर्छन् ।
अनुवादकः मुक्ति वराल बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुन् । उनको विस्तृत परिचय विश्वपरिक्रमामा नवीन पौड्यालले लेखेका छन् । (https://vishwaparikrama.com/5983/)