पृथ्वीमा उसको प्रेमको अवतरण

कविता

रामगोपाल आशुतोष

प्रेम के होइन ?
त्यो दुनियाँलाई थाहा छ ।

प्रेम के हो
त्यो दुनियाँलाई थाहा छैन ।

प्रेम त्यो हो
जुन पाउन संसार बदल्नेहरू जीवनभर बाँच्न पाएनन् ।

प्रेम त्यो होइन
जसका लागि मानिस प्रेम गर्छु भन्छन् ।

प्रेम गर्ने फुर्सद नभएका
प्रेम गर्ने शिल्पका अज्ञानी
प्रेम गर्ने कला नजानेका
प्रेम गर्ने फुर्सदबाट बञ्चित
प्रेम गर्ने सुविधाले निषेधित
प्रेम गर्ने औकातद्वारा पीडित
प्रेम गर्ने वर्ग र वर्णद्वारा किनारीकृत
सबैलाई थाहा नहुन सक्छ
प्रेम गर्न फुर्सद हुनुपर्छ ।

प्रेम गर्न समय खर्चिनुपर्छ
प्रेम गर्छु भनिरहनुपर्छ
तिम्रो प्रेम नभए
म अधुरो अपुरो हुन्छु भन्ने प्रमाणित गरिरहनुपर्छ

तिम्रो प्रेम नै सबैथोक हो
मेरो भावना, मेरो चाहना, मेरो विचार, मेरो आवश्यता
मेरो सपना, मेरो लक्ष, मेरो उद्देश्य
मेरो सास र सार सबै तिमी मात्र हौ भनी बताइरहनुपर्छ

मेरो सफलताको राज
मेरो खुशीको कारण तिमी नै हौ नभनेको दिन
प्रेमको रूप कस्तो हुन्छ
रौद्र हुन्छ कि शान्त दुनियाँलाई थाहा छ ।

नगाइने गीत र नसुनाइने कथा –
प्रेम मुखअघि मात्र हुन्छ !

पिठ्युँमा प्रेमको रूप र आकार
आकाशभन्दा विशाल र कल्पनाको ब्रम्हाण्डाभन्दा असीमित हुन्छ
यो प्रायःप्रायःलाई थाहा छैन ।

प्रेम र सफलताको श्रेयमा एकाधिकार छ ।

भनिन्छ–
बतासको आयु
पानीको उमेर
घामको जीवन
र, यो आगोको जन्म उसको प्रेमविना सम्भव छैन ।

धर्म
वेद, वाद, विज्ञान र विचार
दर्शन, चिन्तन, अध्यात्म
गीत, गजल, कविता
कथा, उपन्यास, शास्त्र
साहित्य, सङ्गीत र शास्त्रको
सीमा, स्रोत र शक्ति उसको प्रेममा टिकेको छ ।

मिहिनेत, कर्म, इमान
तप, योग, साधना र धैर्यको इन्द्रधनुष
प्रेमको रङविना फिक्का र सौन्दर्यविहीन हुन्छ ।

कथामा पढ्नूस्
इतिहास अध्ययन गर्नूस्
दर्शन, अध्यात्म, विचार वा वाद लेख्ने
यो पृथ्वी देख्ने वा यो ब्रम्हाण्ड रच्ने
कुनै पनि पुरुष आजसम्म
उसको प्रेमको सहयोगविना सफल भएकै छैनन् ।

००००

कवि परिचयः रामगोपाल किसिजूको साहित्यिक नाम हो रामगोपाल आशुतोष । साहित्यका कविता, गीत, गजल, निबन्ध, कथा, समीक्षा लगायतका विधामा कलम चलाउने उनले भक्तपुर बहुमुखी क्याम्पसद्वारा प्रकाशित स्मारिकामा आफ्नो पहिलो रचना” मनको मीत” शिर्षक कविता विसं २०५१ मा प्रकाशित गरेर साहित्य यात्रामा प्रवेश गरेका हुन् । उनका “आशुतोषका रहरहरू” (गजलसङ्ग्रह) – २०५९, “ईश्वर र फूलहरू” (कवितासञ्चयन) – २०७१, तथा ई रहरका पराकाष्ठाहरू (ई गजल संस्करण) – २०७३ प्रकाशित गरेका छन् । उनी भक्तपुरमा जन्मेका हुन् र भक्तपुरलाई नै कर्मभूमि बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *