(अशेष मल्ल नेपाली साहित्यमा नाट्य विधाका हस्ती हुन् । उनी कविता बिधामा पनि उत्तिकै सशक्त हस्ताक्षर हुन् । “मेरो कविताः मेरो रोजाई” अन्तर्गत कवि मल्लकै रोजाइको कविता र कविताको पृष्ठभूमि प्रस्तुत छ।)
अशेष मल्ल
कुनै दिन
तपाईं मेरो सामु प्रकट हुनुभयो भने
हे ईश्वर
तपाईसँग एउटै प्रश्न सोध्नेछु
तपाईं एउटै हुनुहुन्छ कि अनेक
न जीवन ,न मृत्यु
न सम्पति
न यश
मलाई केही चाहिएको छैन
के मागुँ
मैले माग्नुको सीमामाथि उभिएर
तपाईसँग
केवल एउटै प्रश्न गर्नेछु
मानिसै पिच्छे फरक फरक
जातै पिच्छे फरक फरक
ईश्वर कतिवटा छन्
एउटै कि अनेक
धर्मै पिच्छे फरक फरक
मुलुकै पिच्छे फरक फरक
कालो मान्छेको फरक ईश्वर
गोरोको फरक
के यो सम्भव छ
छैन भने
कस्ले को-यो रेखा यो धर्मको
कुनै राज्य जस्तो
सीमाना कसले तोक्यो धर्मको
ईश्वर
तपाईसँग एकान्तमा सोध्ने
एउटै प्रश्न
अन्तिम प्रश्न
तपाईकै नाममा विभाजित मानिसहरुको युध्दले
रक्ताम्ये नदीहरु
जब भत्काउँछन्
अनेक अनेक बाँधहरु
अनि
बस्ती बस्ती बगेर बगर बन्छन्
या
आगोको लप्का उठेर
मन्दिर , मस्जिद ,गिर्जाघरहरु
आर्तनादको बिगुल फुक्छन्
त्यतिखेर कहाँनेर
उभिएर हेर्नुहुन्छ
थुप्रै ईश्वरहरुले आआफ्नै
मन्दिर मस्जिद चर्च आदि आदिका बरण्डाबाट
या एउटै निराकार ईश्वरले शून्य आकाशबाट
मलाई यतिखेर अहिले
रिङ्गटा लागिरहेछ
धर्म युध्दले बगेका आँशु नदीका
उर्लदै गर ।
०००
(कविताको पृष्ठभुमि:
पचासको दशकको सुरुमै स्वास्थ्यको कारणले पटक पटक भारतको दिल्ली , भेलोर आदि ठाऊँमा जानू प-यो ।यही क्रममा दुई तीन वटा ठूला अप्रेसन समेत गर्नु पर्ने स्थिति सिर्जना भयो । मृत्युको नजिक पुगेको अनुभव पनि भयो । देवकोटाले जीवनको अन्त्यतिर आखिर कृष्ण रहेछन् एक त्यतिकै लेखेका थिएनन् । यो बोध मभित्र त्यतिखेरै विजारोपण भयो । मेरो अध्यात्मिक यात्रा त्यही बिन्दबाट शुरु भयो । अनेक अध्यात्मिक गुरु, अनेक धार्मिक संस्थादेखि अध्यात्म दर्शनका थुप्रै ग्रन्थहरुको अध्ययन गरेँ । मेरा पछिल्ला नाटक र कविता हरुका विषयमा पनि यसको प्रभाव प-यो । धर्मका बारे मभित्र थुप्रै भ्रमहरु रहेछन् । धर्म र अध्यात्म एउटै होला भन्ठान्थेँ । होईन रहेछ । कर्म काण्डी धार्मिक व्यवस्थाले हाम्रो सोचलाई नै सङ्कुचित बनाएको हाम्रो समाजलाई परिवर्तन आवश्यक छ भन्ने अनुभूति हुन थालेको छ ।
गौतम बुध्दका अष्टाङ्ग मार्ग र विपश्यना विधिले मेरो आध्यात्मिक सोचलाई फराकिलो बनाउँदै लगेको छ । ओशोका अनेक ध्यान विधिले अझ सहयोग पुर्याएको छ। बल्ल बुझ्न थालेको छु गीताको निष्काम कर्मको अर्थ ।
हाम्रो पूर्वीय दर्शनले अध्यात्मको बारे प्रसस्त व्याख्या गरिसकेको रहेछ । तर धार्मिक व्याख्याता अन्ध पण्डितहरुले गलत सन्देश प्रवाह गरिरहेका रहेछन् । यसैको प्रतिफल आज धर्मको गलत व्याख्या हुन थालेको छ । आज धर्म धर्म बीच प्रतिस्पर्धा छ । धर्मको सार त प्रेम र सत्य हुनु पर्ने । तर धर्मको नाममा आज राजनीति भइरहेको छ । तेरो धर्म भन्दा मेरो धर्म ठूलो भन्दै धार्मिक अन्धताले हिंशा निम्त्याइरहेका छन् । आज
विश्वमा जति पनि युध्द भईरहेको छ अधिकाँश धर्म कै कारणले हुनु दुर्भाग्य हो । मेरो गुरु साई बाबा भन्नू हुन्छ ईश्वर एउटै छन् जो सबै ठाउँमा छन् । धर्म धर्मका अलग अलग ईश्वर खडा गरेर यिनै धार्मिक अन्धताले मानवतामाथि नै प्रश्न उठाएको सन्दर्भमा आज विश्वमा नै जुन वैमनश्यता र अमानवीयता जागृत हुँदैछ यही पीडाको अभिव्यक्ति मेरा कविताहरुका विषय हुन् । धर्मले म तत्वलाई प्राथमिकता दिन थालेको छ । मेरो धर्म , मेरो ईश्वर म म म केवल म । तर अध्यात्ममा म तत्व लोप हुन्छ ।अध्यात्ममा आत्म चिन्तनले प्रथमिकता पाउँछ । ईश्वर आफूभित्रै समाहित छन् ।प्रेम नै ईश्वर हो ।
यही सत्य हो । प्रस्तुत कविताको सन्दर्भ यही हो । धर्मका नाममा बढ्दै गएको भ्रमले सिर्जना गरेको एउटा अनुभूति नै मेरो कविताको सन्दर्भ हो । यो कविता कान्तिपुर कोशेलीमा प्रकाशित भएको थियो ।)