नामका कुरा (निबन्ध)

गद्य विविध

सीताराम उप्रेती

कुनै बेला नागरिकतामा नाम बिग्रिएको कुराको चर्चा व्याप्त थियो । सुदूर पश्चिममा विशेषगरी दलित समुदायमा देखिएको यो समस्यालाई सञ्चार माध्यमहरूले बाहिर ल्याएपछि यसको चर्चा विशेष रूपले भएको थियो । त्यसको रोग पूर्वतिर सर्न थाल्यो झापा र मोरङका आदिवासी सतार जातिहरूमा । अनि गृह मन्त्रालयले यसलाई सच्याउनका लागि जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक प्रक्रिया पुरागरी सच्याउनका निम्ति आन्तरिक परिपत्रसमेत गरिसकेको कुरा पनि सञ्चार माध्यमहरूले प्रकाशन प्रशारण ग-यो ।
त्यस्तै मदन पुरस्कार गुठीले २०७८ सालको आफ्नो पुरस्कार छनौटका लागि छानेका आठ थान पुस्तकहरूमा केही लेखकहरूको नाम नै अशुद्ध भएको भनेर फेरि सामाजिक सञ्जाल केही समय तातिन पुग्यो सहमत असहमत हुनेहरूका आआफना धारणाहरू आए नाममा आफ्नो स्वतन्त्रता हुनुपर्छ भन्नेहरुको तर्क पनि रह्यो भने अर्थगत रूपमा तिनले दिने शब्दार्थको असरका विषयमा पनि कुराहरू आए । अचेल सामाजिक सञ्जालको प्रयोग व्यापक छ । यसमा भाषाको हुर्मत लिने काम पनि त्यतिकै भएको छ । साहित्यमा नाम चलेका र प्रज्ञा प्रतिष्ठानबाट कविता महोत्सवमा पुरस्कृत भाकाहरूले समेत जानेर हो वा नजानीकन हो भाषामाथि खेलबाड गरेको देख्दा भने साँच्चै दिक्क लाग्छ । यस्तै एफ.एम. रेडियो र टेलिभिजनका केही समाचार वाचक र कार्यक्रम प्रस्तोताहरूको भाषागत ज्ञान पनि बडो टीठलाग्दो देखिन्छ भने केही पुराना र खारिएका भनिएका पत्रकारहरूको भाषागत ज्ञान पनि गतिलो देखिन्न ।
पञ्चायत कालमा कवि लेखकहरूले आफ्नो नामको सट्टामा छद्म नाम राखेर लेख रचनाहरू लेख्ने कामसमेत गर्ने गरेका थिए । यसले एक समयमा लहर नै ल्याएको थियो । कवि लेखकहरू कुनै पेसामा आबद्ध रहेका कारण त्यसले आफ्नो सिर्जनात्मक क्षमतालाई असर नपुगोस् र पेसामा समेत अप्ठ्यारो नपरोस् भन्नाका खातिर छद्म नाममा लेखेको हुनसक्छ ? साहित्य सिर्जनामा हालसम्म पनि ती नामहरूमा निरन्तरता कायम रहिरहेको देखिन्छ ।
म पहिले आफैँबाट सुरु गर्न चाहन्छु । मलाई अक्षरारम्भ गराउने पहिलो गुरु नारायणप्रसाद कोइराला हुन । मैले थाहा पाएसम्म उनैले मलाई मेरो नाम लेख्न सिकाएको हुनुपर्छ, उनले म छोरो मान्छे भएका कारण मेरो नाम lसताराम उप्रेती लेख्न सिकाएका हुन कि ? मैले त्यसपछि ह्रस्व lसतारामकै नामबाट काम चलाएँ छु एस.एल.सी.सम्म पनि कसैले मेरो नाम सच्याउनुपर्छ भनेर सुझाव दिने काम गरेनन् । २०४१ साल असार २९ गते भानु जयन्तीका दिन मैले जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकता प्रमाणपत्र लिएँ । कुनै लेखनदासले पाँच रुपैयाँ लिएर मेरो अनुसूची फाराम भरि दिएको सम्झना ताजै छ त्यो लेखनदासको योग्यता कति थियो र म एस.एल.सी. दिएको मान्छेले किन अनुसूची फाराम आफूले भर्ने काम गरिँन? यो प्रश्न पनि आजसम्म अनुत्तरित नै छ । जिल्ला प्रशासन कार्यालयको खरिदार हो वा मुखिया दर्जाको कर्मचारी हो ? एकजना जनजाति मूलकी जस्ती देखिने महिला थिइन् नेपाली कागजको त्यस नागरिकता प्रमाणपत्रमा उनले भने मेरो नाम सीताराम उप्रेती भनेर नै लेखेकी रहिछन् । नागरिकता पाउने व्यक्तिको हस्ताक्षर सही भन्ने स्थानमा मैले भने सिताराम उप्रेती भनेर नै दस्तखत गरेको रहेछु ।
प्रवेशिका परीक्षा पास गरेपछि प्रवीणता प्रमाणपत्र तह पढ्न काठमाडौं आएपछि पाटन संयुक्त क्याम्पसमा भर्ना भएँ । क्याम्पसको पहिलो दिन अनिवार्य नेपालीका शिक्षक रामविक्रम सिजापतीको पहिलो क्लासमा परिचयको कार्यक्रम चलिरहेको थियो मेरो पालो आयो उनले सोधे ?सीताको सी ह्रस्व कि दीर्घ लेख्छौ ?
मैले नाममा ह्रस्व लेख्छु सर भने
उनले ह्रस्व लेख्यो भने भातको सिता हुन्छ दीर्घ लेख्यो भने राजा जनककी छोरी सीता हुन्छ तिम्रो नाम माता जानकीको नामबाट पुरोहितले जुराएका हुनाले आजदेखि दीर्घ लेख्ने गर्नू ! हो त्यसै दिनदेखि मैले मेरो नाम शुद्धसँग लेख्न सिकेँ भन्ने मलाई लागेको छ । परिचय सकिएपछि उनी पढाउन थाले मलाई भने त्यस दिन “बिहेको हतारमा केटी माग्न बिर्सिए झैं” भएछ मैले त कलम ल्याउन नै बिर्सिएँ छु । साथीहरू लेख्न थाले म ट्वाल्ल परेंको थिएँ राम विक्रम सिजापतीको नजर ममा परि हाल्यो ।
यहाँले लेख्नु पर्दैन ?
सर कलम ल्याउन बिर्सिएँ छु ।
उनले मलाई कलमका निहुँमा निक्कै व्याख्यान गर्न भ्याए । आफु साहित्यकार भएको पनि सुनाए र आफूसँग भएको कलमसमेत दिए र त्यस दिनको गर्जो मैले टारेँ । तर खै किन हो! मलाई अर्को दिनदेखि उनको कक्षा लिन अन्तर्मनले दिएन र भोलिपल्टदेखि ऋषिराज बराल सरको कक्षामा हाजिर भएर पढन सुरु गरेँ । यसरी मेरा केवल एक दिने गुरु हुन पुगेका छन् रामविक्रम सिजापती । पछि थाहा भयो ऋषिराज बराल पनि साहित्यकार रहेछन् तर उनले कहिल्यै पनि आफू साहित्यकार भएको भनेर कक्षामा विज्ञापन गरेनन् । तीनै साहित्यकार रामविक्रम सिजापती एक समयमा साहित्यिक चोरी काण्डमा समेत परेका थिए साझा प्रकाशनद्वारा प्रकाशित साहित्यिक पत्रिका गरिमामा, हिन्दी भाषाको साहित्यिक पत्रिका “नवनीत” मा प्रकाशित कथा एक कालीदाश किसी शकुन्तलाकी प्रतीक्षामे ? लाई उनलेः शकुन्तलाको प्रतीक्षामा कालिदास शीर्षक राखेर आफ्नो मौलिक कथा भनेर छपाउन दिएछन् सम्पादकले छापी दिए । पछि त्यो कथा चोरीको भनेर उद्धव उपाध्यायले मधुपर्कमा प्रमाणसहित छपाएका थिए । त्यसको खण्डन कतैबाट पनि भएन । रामविक्रमलाई जुम्लाका साहित्यकार रत्नाकर देवकोटाले पनि आफ्ना जुम्ली उखान टुक्का समावेश गरेर विद्यावारिधि गरेको आरोप लगाउने गरेका थिए । रामविक्रम सिजापतीको पनि केही वर्षअघि परलोक भयो । रत्नाकर देवकोटा पनि अब यो धरामा छैनन् ।
स्नातक पढने समयमा म राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारी भैसकेको थिए । त्रिचन्द्र क्याम्पसमा भर्ना हुने फाराममा मैले दीर्घ सीताराम उप्रेती नै लेखेर फाराम भरेर बुझाएँ तर त्यहाँका प्रशासनका कर्मचारीले ह्रस्व सिताराम लेखि दिए मैले दीर्घ हुन्छ सर भनेर भनेको उनले टेरपुच्छर लगाएनन् । मैले गर्नु केही थिएन कुरो सकियो ।
रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा स्नातकोत्तर पढ्न प्रवेश परीक्षा उत्तीर्ण गरेपछि भर्ना हुन भनेर गएँ । त्यहाँका कर्मचारीले पनि ठूलो रातो मार्कर कलमले मेरो नाममा ह्रस्व घुमाइ सकेका थिए । मैले सर मेरो नामको सी दीर्घ हुन्छ भनेर भनेपछि उनको कलमको टुँडो फनक्क फर्किएर दीर्घतिर लाग्यो उनले पुलुक्क मेरो अनुहारतिर हेरेका थिए ।
मुख्य विषय नेपाली पढेकै कारणले होला ? मेरो पनि साहित्य पढ्ने लत थाहै नपाईकन बसेछ । म त्यस समयमा प्रकाशित साहित्यिक पत्रपत्रिकाहरू खोजी खोजी नियमित रूपमा र मिहिन ढङ्गले पढ्न थालेँ । त्यसैले हुनसक्छ ? नेपालीमा सुरुको नाम र बीचको जोडिन्छ भन्ने ज्ञान पनि मलाई सोही बेलादेखि भयो । व्याकरण र शुद्धाशुद्धिमा थोरबहुत ज्ञान बढाउन सकेँ जस्तो लाग्छ अहिले पनि ? हुन त त्यस बेलाका सम्पादकहरू पनि साहित्यिक पत्रिकाको भाषागत कुरामा विशेष ध्यान पु-याएर सम्पादन गर्ने गर्दथे ।
जागिरको क्रममा म राष्ट्रिय वाणिज्य बैंकको मुख्य शाखा कार्यालय विशाल बजार पुगिसकेको थिएँ । हाकिमहरूका दैलामा नामपाटी राख्ने चलन रहेछ । एकजना हरिप्रसाद नाम गरेका हाकिम सरुवा भएर आएका रहेछन् । उनको नामको नामपाटी लेखेर आउँदा हरीप्रसाद भएर आएछ । त्यही टांसिएको देखेर मैले उनलाई भने ।
सरको नाम त बिग्रिएछ नि ?
खै जानेर हो वा नजानीकन हो उनले यो शब्दको अर्थ बुझने मान्छे यहाँ को आउला र ? भनेर मैमाथि प्रतिप्रश्न गरे ! मैलै हरि शब्द संस्कृत शब्द हो, दीर्घ हरीको अर्थ त बाँदर हुन्छ भनेर उनको कार्य कक्षबाट बाहिरिएँ । भोलिपल्ट त्यो नामपाटी गायब थियो केही समयपछि त्यो सच्चिएर देखा प-यो ।
बैङ्कमा त्यस बेला आज जस्तो बैङ्कहरूले नाम खाता नम्बर प्रिन्ट गरेर चेकबुक दिने चलन पनि चलिसकेको थिएन । छापाखानाबाट एकै पटक धेरै थान चेकबुकहरु छापेर ल्याउने चलन थियो र हातैले बैङ्कको शाखाको नाम, खाता नम्बर र ग्राहकको नाम ठेगाना लेखेर सम्बन्धित ग्राहकहरूलाई दिने प्रचलन थियो । एक दिन एकजना नवीन नाम गरेका प्रहरीका अधिकृत मेराअगाडि भद्र पाराले आइ पुगे । मैले उनको नाम शुद्धसँग लेखेर दिएपछि उनको प्रतिक्रिया थियो कुनै पनि कार्यालयमा मेरो नाम शुद्ध लेखिँदैनथ्यो तपाइँले त शुद्ध लेखि दिनु भयो भने अनि मलाई धन्यवाद दिएर उनी आफ्ना बाटा लागे ।

०००

लेखक परिचयः सीताराम उप्रेती काँकरभिट्टा झापामा जन्मेका हुन् र हाल कपन काठमाडौंमा वसोवास गर्छन् । विसं २०४८ सालमा “तेह्रथुम” शिर्षक कविता गाण्डीव साप्ताहिकमा प्रकाशित गरेर साहित्यमा उदाएका उनको “छिचोल्दै बादलका घुम्टाहरु“(२०७३) निबन्ध सङ्ग्रह प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *