१६ कार्तिक २०८१, काठमाडौं
साहित्य सदन नेपालबाट अर्पण गर्ने गरिएको कविवर केदारमान व्यथितका नाममा स्थापित यस ‘व्यथित साहित्य सम्मान-२०८१’ विजय चालिसेलाई प्रदान गरिने भएको छ । नेपाली वाङ्मयका विविध विधामा कलम चलाएर उल्लेख्य पुस्तकाकार कृतिहरूको प्रकाशनका साथसाथ पत्रकारिता र साहित्यिक संस्थाहरूको सञ्चालन एवं उन्नयनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरे बापत साहित्यकार विजय चालिसेलाई अर्पण गर्ने निर्णय गरिएको साहित्य सदन नेपालले जनाएको छ ।
स्मरणीय छ, यो पुरस्कार गत वर्ष प्रा. अभि सुवेदीलाई प्रदान गरिएको थियो ।
साहित्य सदन नेपालले जनाए अनुसार आगामी कार्तिक ३० गते देवकोटा जयन्ती तथा व्यथित जयन्तीका सन्दर्भमा आयोजना गरिने कार्यक्रममा सो पुरस्कार समर्पण गरिनेछ ।