ईश्वर पोखरेल
तिमीले दे’को चोखो माया राखौं कतातिर
‘मनमा राख’ भन्छ्यौ तिमी; मनभरि छ पीर
न रातमा निद मलाई न दिनमा चैन
सपनीमा आउनेको नाम सोध्न पा’कै छैन
रनाहामा हिडेको छु, तमोर तिरैतिर
‘मनमा राख’ भन्छ्यौ तिमी; मनभरि छ पीर
कि आँखामा उदासी छ, कि आँखामा आँसू
सबै साथी हाँसेका छन्, म कसरी हाँसू ?
कलेजीमा गढेको छ, माछी उन्ने झिर
‘मनमा राख’ भन्छ्यौ तिमी; मनभरि छ पीर
गीतकार परिचयः गीतकार ईश्वर पोखरेल कोटगाउँ, तीनपाटन, सिन्धुलीमा १९ असारमा जन्मिएका हुन् । २०३९ सालको ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकामा ‘रत्नपार्क’ शीर्षकको मुक्तक प्रकाशित गरी पोखरेल कविता सिर्जनामा संलग्न भएका हुन् । पोखरेल गीत कविताका साथै कथा लघु कथा, व्यङ्ग्य निबन्ध र संस्मरण रचनामा पनि सिर्जनरत छन् । पोखरेल हाल महालक्ष्मी— ३, बोझेपोखरी; ललितपुरमा बसोबास गर्दछन् ।