उपनामधारी लेखक सम्मेलन ! (व्यङ्ग्य)

गद्य विविध

नवीन पौड्याल

प्रभो! मान्छेमा कीर्ति लिप्सा भन्ने कुरा पनि पनि लागु औषधीको जस्तै हुँदो रहेछ। नभई नहुने, नहुँदा तलतल लाग्ने। यसका लागि मान्छेले अचम्म- अचम्मका करतुत र तमासा देखाउँछन्। कोही दश तले बिल्डिङ्बाट फाल हान्छन् त कोही आफ्नो टुप्पीले ट्रक तान्छन्। कोही दाह्रीमा मौरी पाल्छन् ता कोही ब्लेड र बोतल चबाउँछन्। हन!मान्छेलाई के के सम्म गर्नुपरेको? नामै कमाउनका लागि कीरा पनि खाँदारहेछन् ता कोही एक घण्टामा हजारौं चुम्बनको वर्षात् गर्दारहेछन्।
साहित्य लेखनको एउटा प्रमुख उद्देश्य कीर्ति लिप्सा पनि हो। चाहे ठूला साहित्यकार हुन् वा साना, सबैलाई नामको भोक हुन्छ नै। ठूला साहित्यकारहरू ता लेखेर नाम कमाइहाल्छन् तर साना साहित्यिकहरू पनि नाम कमाउन इच्छा गर्छन् नै। आफ्नो नाम ता सबैलाई प्यारो लाग्छ। आफ्नो प्रिय नामलाई लोकप्रसिद्ध पार्ने इच्छा मानव मात्रको गुण हो। यसका लागि सबैभन्दा उत्तम उपाय ता साहित्य लेखन नै हो। ठूला- ठूला कवि लेखकहरू ता प्रसिद्ध भइ हाले, रहेका रहल-पहल, खुद्राखुद्री साहित्यकारले कीर्ति लिप्सा उत्प्रेरणा साहित्य लेख्छन्। यसका लागि सर्वोत्तम उपाय आफ्नो नाममा चट्ट उपनाम थप्यो। बस,त्यहाँदेखि कनीकुथी कलम चलाइ हाल्छ। हेर्नुहोस् न, नामका पछाडि कति राम्रा राम्रा उपनाम राखेका!
उपनाम रखाइ पनि थरी थरीका हुन्छन्। कसैले आफ्नो गाउँ-ठाउँको नाममा राख्छन्। जस्तै- धनकुटे, पोखरेली, भार्पाली, अम्बटे, इलामे, डुवर्सेली, गान्तोके, सदामे, मिरिके, मन्सोंगे, बिन्दु, पाल्पाली, दहचोके, हंसपुरे, भोजपुरे इत्यादि। त्यसै गरि कसैले आफ्नो स्वभाव र चरित्रको आधारमा उपनाम राख्छन्। यस्तै नामहरू नै बढी हुन्छन्। जस्तै- बेहोसी, विद्रोही, विरही, सन्तोकी, रोदन, समदर्शी, प्रियदर्शी, किरण, शुभेच्छु, प्यासी, एकान्तप्रेमी, गनगने, उदासी, अब्जसे, दोषी, निर्दोषी, प्रयासी, प्रवासी, व्यथित, शोषित, बेकारी, घायल, वियोगी, अयोग्य, पृथ्वी, सङ्कल्प, रोशनी, निराशा, आग्रह, क्रान्तिकारी, दग्ध, आँसु, जलन, शोषित, बाउसे, काँड़ा, पत्थर, लोहोरो इत्यादि। अर्को एउटा उप नामधारी वर्ग छ जसले भाववाचक संज्ञाका शब्दलाई लिएर पनि उपनाम राख्दा रहेछन्। हेर्नुहोस् है- अमूर्त, जलन, खुशी, क्षितिज, अनन्त, विकल्प, प्रयास, पियूष, रोदन, आकाश, निराशा, सङ्कल्प, आग्रह, जलन, अश्रु, सरित्, तृषित, अश्रुमाली, भिक्षु, कनकधारावाले, कलियुगे, निरूपम, शोषित्, पीडित, निम्छरो, अविरल, विवश, पागल, अनाकार इत्यादि। हाम्रा चेलीबेटी पनि उपनाम राखेर लेख्न जुर्मुराएकै छन्। चाँदनी, रोशनी, प्रियतमा, काँचुली, पत्थर, सत्यदर्शी जस्ता उपनामहरू झुण्ड्याएका हुन्छन्।
कसैले आफ्नो समूहका साथीहरूका नामको पहिलो अक्षर मिलाएर एउटा उपनाम राख्ने गरेका छन्। जस्तै अपतन, दिनेरू, विदिरा, सुदेपा, रोसूरी आदि। कसैले आफ्नो संस्था-समूहको नामलाई उपनाम बनाउने गर्छन्, जस्तै लेकाली, देउराली आदि। कतिले आफ्नो गोत्र र कुललाई उपनाम राखेका छन्। जस्तै- आत्रेय, वशिष्ठ, भारद्वाज, कश्यप, किरात, वशिष्ठ आदि। कसैले आफ्नो पदलाई पनि उपनाम राखेका छन्। जस्तै इन्स्पेक्टर, कप्तान, बैदार, सरदार आदि। कतिले प्राकृतिक विम्वलाई आफ्नो उपनाम राखेका हुन्छन्- क्याक्टस, कमल, सरोज, बाबरी, हिमाङ्शु, पत्थर, नदी, पवन, अस्तफल, असफल। कोही दोषी छन् त कोही निर्दोष। कोही प्यासी छन्, कुनै तृषित छन्। कोही असफल छन्, कोही अस्तफल छन्। कोही काँडा छन् कोही क्याक्टस।
एकपल्ट काठमाडौंमा उपनामधारी कवि-लेखकहरूको ठुलो सम्मेलन बस्यो। सम्मेलनको अध्यक्षता वरिष्ठ कवि शिवप्रसाद ‘व्यथित’ थिए भने मुख्य अतिथि सुनील ‘लोहोरो’। अन्य अतिथिहरूमा सुरेन्द्र ‘धड्कन’, विकास, ‘रहर’, विनय ‘सिकारु’, धनु ‘विहोसी’ रहेका थिए। कार्यक्रम थालनी अच्छा राई ‘रसिक’-को तस्बिरमा माल्यार्पणबाट भयो। अच्छा राई ‘रसिक’ उपनामधारीका प्रेरणास्रोत थिए र उनकै प्रभावले भर्खर प्रवेशिएका साहित्यकारहरूले उपनाम राख्ने परम्परा चलाएका हुन् भन्ने मान्यता रहेको छ। साहित्यमा रूचि लिएर लेखनमा नवप्रवेशीहरू बढी उपनामधारी बन्नपुगेका छन्।
कार्यक्रमको स्वागत भाषण लेखक उत्तम ‘सङ्कल्प’- ले गरे भने केही उपनामधारी कवि-कवयित्रीहरूले सिकारु, प्रयास, आग्रह, प्यासी, खोजी, जिज्ञासु, विद्रोही, काँडा, विप्लव, समदर्शी, अविरल, निर्धन, अमूर्त, अयोग्य, विरोकि, जलन, क्रान्तिकारी, निराकार, असफल, प्रयासी, सिकाउरे, चाँदनी, कोशिस, प्रतीक, दग्ध, भावुक, समदर्शी, मूकदर्शी, पारदर्शी, सङ्गम, अल्लारे, दोषी, अबजसे, डल्ले भाइ आदि कवि-कवयित्रीले आ-आफ्नो कविता पठन गरेर सुनाए। त्यहाँ केही प्रतियोगिता मूलक कार्यक्रम पनि सम्पन्न भए। गजल लेखन, मुक्तक लेखन र लघु कथा लेखन प्रतियोगिता सम्पन्न भए। यसका साथै यस्ता उपनाम राख्नेहरूले गजल लेखनमा पनि जोड दिएका छन्। त्यस सम्मेलनमा धेरै उप नामधारीहरूको जमघट भएको थियो।
त्यसमा सम्पन्न भएको गजल लेखन प्रतियोगितामा विरेन्द्र ‘रोचक’ प्रथम, सन्तोष ‘प्रतीक’ द्वितीय र सुनिता’ ज्वाला’ तृतीय भए। यसै गरी मुक्तक लेखन प्रतियोगितामा कमल असफल प्रथम, धनमाया मायालु दोस्रो र अर्जुन निराशावादी तृतीय भए। लघुकथा प्रतियोगितामा शैलेन्द्र क्षितिज प्रथम, सलिल सुसेली दोस्रो र राजेन विरही तृतीय भए।
उक्त सम्मेलनमा उपनामधारी लेखकहरूका सङ्ख्या वृद्धि गर्ने, उपनाम राख्न हौसला प्रदान गर्ने निर्णय पनि लिइयो। नयाँ – नयाँ उपनाम खोजी गर्ने पनि विचार प्रस्तुत गरियो। नवीन ‘अपजसे’, ज्ञानचन्द्र ‘अविरल’ र हरि ‘आकाश’ जस्ता वरिष्ठ उपनामधारी लेखकले उपनामको महत्त्वबारे प्रकाश पारे। धीरेन्द्र ‘गनगने’-ले सम्मेलनमा कविता लेख्न सजिलो काइदा सिकाए। उनका विचारानुसार भावनात्मक किसिमको निबन्ध लेख्नुपर्छ र त्यस निबन्धका वाक्यहरू भाँच्दै-टुक्र्याउँदै गएमा कविता भइहाल्छ। उनको उक्त महान् विचारलाई कार्यक्रममा उपस्थित सम्पूर्ण उपनामधारी लेखकहरूले ताली बजाई स्वागत र समर्थन जनाए। मनबहादुर ‘सन्तोकी’ले उपनामधारीले गजल, मुक्तक र लघुकथा मात्र लेख्नु पर्छ भन्ने सुझाव पेश गरे। यसका साथै धनप्रसाद अज्ञानीले यस्तो किसिमको उपनाम राख्दा यसले जात, जाति धर्म र सम्प्रदायभन्दा माथि उठेर सबै समान र एकाकार हुने मानसिकता तयार हुने, भेदभाव हट्ने, उपनामले नै आफ्नो रूचिको बारेमा प्रकाश पार्ने र साहित्यको इतिहासमा हामी उपनामधारीको योगदानको पनि कदर हुनुपर्ने भन्ने राय सुझाव अभिव्यक्त गरेका थिए। यसका साथै उपनामधारीले मात्र एउटा उपनामधारी लेखक पुरस्कार पनि बर्सेनी बितरण हुने भन्ने राय सर्वसम्मतिले पारित भएको थियो। यस वर्षको पहिलो उपनामधारी लेखक पुरस्कार धनमाया अश्रुलाई दिइने निर्णय गरियो।
उक्त सम्मेलन उपनामधारी लेखकहरूका एउटा समिति पनि गठन गरियो। समिति दिलीप ‘आततायी’ सभापति, भोलामान ‘कञ्जुस’ उपसभापति, हिरण्य ‘शून्य’ सचिव, नारद ‘निर्दोष’ उपसचिव तथा प्रवेश ‘संसारी’, राजु ‘झिल्के’, ईश्वर ‘कलियुगे’, भरत ‘अज्ञानी’, कुमार ‘पितुर्के’, अशोक ‘क्याक्टस्’, रोशन ‘दिलरुबा’, हरि ‘प्रवासी’ र सतीश ‘प्रियदर्शी’, कार्यकारिणी सदस्यका रुपमा छनौट भए। सम्मेलनको सञ्चालन चेतन ‘स्पन्दन’ ले गरेका थिए भने धन्यवाद ज्ञापन चाहिँ विवेक ‘आस्था’-ले गरेका थिए।
कार्यक्रमको अन्तमा उपनामधारीहरुक पक्षमा नारावाजी पनि भयोः
उपनामधारी सम्मेलन जिन्दाबाद।
उपनामधारी लेखकको संरक्षण गरौ।
उपनामधारी लेखकहरू अमर रहुन्।
उपनामधारी लेखकको जय होस्।
र यो सब प्रत्यक्ष देखेको मैले आफ्नो नाममा आजैबाट ‘उपनामविरोधी’ उपनाम राख्ने निधो गरें । कसो होला पाठक महोदय?

०००

लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), भारतीय नेपाली समालोचक कोष (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी भारतको कालिम्पोङमा बसोवास गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *