योगेन्द्र तिमिल्सिना
(सम्पादकीय टिप्पणीः सिध्दहस्त कथाकार योगेन्द्र तिमिल्सिनाले आफ्नो कथा लेखनको प्रारम्भिक समयका लेखेर तयार पारेको सङ्ग्रह फेला पार्नु भई त्यस समयको कथा लेखनको पृष्ठभूमि र त्यस सङ्ग्रहको भूमिकासहित एक कथा विश्व परिक्रमामा प्रकाशनार्थ पठाउनु भयो । यो ऐतिहासिक महत्त्वको विषय भएकोले हामीलाई यो प्रकाशन गर्न पाउँदा गर्वको महसुस भएको छ । एक स्थापित कथाकारको शुरुवाती कथाको विषयमा पाठकले परख र पारख गर्न पाउने हुँदा यसको आफ्नै प्रकारको महत्व छ । कथाकारलाई हार्दिक साधुवाद दिंदै कथाकारको आजको भनाई, त्यतिवेलाको भूमिका र कथा प्रस्तुत छ । कथाकारको भनाई अनुसार कथाको शिर्षक “सजाय मुक्त एक हाँसो” लाई कथाकारले नै “पुनर्जीवन” नव नामाकरण गर्नु भएको हो ।)
पृष्ठभूमि
२०२१ सालमा एस एल सी परीक्षा दिएपछि २०२२ सालदेखि मैले कथा लेख्न थालेको अभिलेखबाट देखिन्छ । मोफसलको त्यस वेलाको आफ्नै कथा हुन्छ । कथा सिक्ने, सिकाउने, प्रकाशन गर्ने वातावरण थिएन । कथा छाप्ने पत्रिका कहाँ छन् र कसरी पत्रिकामा छापिन्छ भन्ने कुरा पनि थाहा थिएन । यसरी कथा लेख्नुपर्छ भनेर सल्लाह कसले दियो अथवा कसले कस्ता कस्ता कथा लेखेका छन् भन्ने केही पनि जानकारी नलिई कसरी मैले कथा लेख्न थालेँ अथवा मैले त्यसवेला लेखेका कथा, कथा भए वा भएनन् भन्ने कुरा म आज पनि भन्न सक्तिन । कक्षा १० मा अध्ययनरत हुँदा मैले नासो र परिवन्द जस्ता प्रसिद्ध कथा पढेको थिएँ, अरु सामाजिक कथा पढेको मलाई थाहा छैन । त्यस बाहेक दन्त्यकथाहरु पनि पढेको थिएँ । सार्वजनिक पुस्तकालय धरानमा कहिलेकाहीँ मध्यान्हपछि पुग्ने गर्थें, शायद त्यहाँ केही रचनाहरु पढ्थें होला, तर कथा नै लेख्न चाहिँ मलाई के ले प्रेरणा दियो भन्न सक्तिन ।
त्यसै वेला लेखेका कथाहरूको हस्तलिपि छ मसँग । कथा सङ्ग्रहको नाउँ हो ‘परिवर्तन’ । यसमा जम्मा ७ वटा कथाहरु संकलित छन् । ती हुन्, सजाय मुक्त एक हाँसो, जिउँदो लासको चिता, परिवर्तन, सङ्घर्ष, सजनको मृत्यु, भावना र किनिएको जिन्दगीः घाइते युवक । यी सातवटा कथाहरुले एउटा पुस्तकको आकार लिन सक्छ या सक्तैन, पुस्तक छाप्न के गर्नु पर्छ, कहाँ जानुपर्छ, छाप्न सकिन्छ या सकिँदैन भन्ने कुरा त्यस वेलाको यस सिकारुलाई जानकारी नभएको प्रतीत हुन्छ, अथवा जसरी हुन्छ पाण्डुलिपिमै भए पनि एउटा ससानो पुस्तक तयार गरौँ भन्ने तीव्र इच्छा यस सिकारुलाई भएको पनि हुनसक्छ । यस आलेखमा ती तथाकथित कथाकारले त्यस वेला लेखेको पुस्तकको भूमिका र कथा सङ्ग्रहमा परेको पहिलो कथा सजाय मुक्त एक हाँसो को शीर्षक पुनर्जीवन नाउँले परिवर्तन गरी यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु । कथा सङ्ग्रहको नाउँ हो, परिवर्तन । पाण्डुलिपि भएको कापीको दोस्रो पृष्ठमा लेखिएको छ, “समर्पण–प्रेरणाकी देवी अचिन्त्यलाई” त्यसपछि आफ्नै कुरो शीर्षकमा यसरी भूमिका लेखिएको छ ।
आफ्नै कुरो
मानिसलाई जन्मदेखि मरणसम्ममा धेरै अल्झाहरु आइलाग्छन् । परन्तु उसका सीमित ज्ञान र बर्कतले भेटेसम्म उसले ती अल्झाहरु पन्छाउने वरदान पनि पाएको हुन्छ । तर मूल कुरो अर्कै छ–त्यो हो, एक अर्कामा आआफ्ना भावना व्यक्त गर्न पाउनु । मर्न लागेको व्यक्ति पनि बाँचुन्जेल पूरा गर्न नसकेका कामहरू आफ्ना छोरा वा ओछ्यानको छेउमा बसेको रुँगालोलाई व्यक्त गर्दछ र उसबाट ‘हुन्छ, म पूरा गरौंला’ भन्ने जबाफ चाहन्छ । त्यस्तै मृत्युको अन्तिम घडी पर्खिरहेको मानिसको अगाडि आएर कुनै अपराधी जसका कारणले कसैको मृत्यु हुन गइरहेको छ, आफ्नो पापको क्षमा माग्दछ भने त्यस मानिसका आत्माले शान्ति पाएको अनुभव गरी उसले प्राण छोड्छ । त्यसैले मानिसले जतिसुकै सङ्घर्ष गर्नु परोस्, सांसारिक सञ्जालभित्र जतिसुकै बन्धनमा परोस् या उसलाई जतिसुकै आनन्दका साधन प्राप्त किन नहोस्, यदि आफ्नो भाव अरूलाई व्यक्त गर्न पाउँदैन भने ती केही होइनन् । उसलाई आफू जस्तै बोल्ने मानिस चाहिन्छ, अनि मात्र त्यो आनन्द साँच्चिकै हुन्छ । जङ्गलमा तपस्या गर्ने ऋषिमुनि, संन्यासीहरूलाई मात्र समाजको वास्ता हुँदैन औ आफ्नो भावना कसैलाई व्यक्त गर्ने आवश्यकता पनि पर्दैन । कुनै एकान्त स्थल निर्जन टापुमा रहनु पर्दा अलेक्जेन्डर सिल्कर्कलाई मानिससँग बसेर आफ्नो भावना व्यक्त गर्न नपाउँदा कति दुःख प-यो, उक्त कुरा विलियम कपरले यस टुक्रामा अभिव्यक्त गरेका छन् ।
Society, friendship, and love
Divinely bestow’d upon man.
O had I the wings of a dove
How soon would I taste you again !
(अर्थात् समाज, मित्रता र प्रेम दिव्यरुपले मानिसमा प्रदान गरिएका हुन् । अहा ! यदि मसँग ढुकुरका जस्ता पखेटा भए कति छिटो तिमीहरूलाई पुनः अनुभूत गर्थे होला ? )
त्यस्तै ओमर आफ्नो कवितामा भन्छन्, “यो एकान्त स्थल रुखको शीतल छाँयामा बसेर एउटा रोटी, एक बोतल मदिरा खान पाइयोस् र साथमा कविताको एउटा पुस्तक र तिमी हुनुपर्छ, यो पृथ्वी स्वर्ग बन्छ ।”
ओमर खै्ययामले एकान्तस्थललाई रुचाए पनि उनी रोटी, रक्सी र कविताले मात्र अघाउँदैनन्, ‘तिमी हुनुपर्छ’ भन्छन् (भावना व्यक्त गर्न) ।
एक अङ्ग्रेज लेखक भन्छन्, “एउटी महिलाले सन्तान भएपछि सान्त्वना पाउँछे, तर लेखकले केही नलेखिकन भन्दा लेखेपछि शान्ति पाउँछ ।” त्यसैले म पनि बोल् सक्ने मानव भएकोले आफ्नो भाव अरूलाई पोख्न मन लाग्यो । वर्डस्वर्थले लुसीलाई चितामा देखे जस्तै मैले चाहिँ प्रस्तुत कथाका पात्रहरूलाई जीवनकै लामो बाटोमा देखेको छु ।
संसारमा जति मानव कर्तव्यहरू छन् ती मध्ये साहित्य सेवा पनि एक हो । देवकोटाले ‘नक्षत्र हेर नभमा, दिलसाथ सोध’ भन्नु भए झैँ उच्च साहित्यिक विद्वान्हरूका कर्तव्य पथ अहिले भेट्न नसके पनि खोज्ने प्रयास त गर्नु नै परेको छ । नेपाली साहित्यको बामे सर्ने बालक भएकाले यसमा कैयौं भुल हुन गएका होलान् । त्यसको लागि म क्षमा चाहन्छु र साहित्यिक प्रेरणाका साथै सुधारका सुझावहरू पाए म पाठक वर्गको ऋणी हुने थिएँ ।
कथा साहित्यमा परिपक्व नभएको कान्छो भाइ हुनाले भाषा शैलीमा मिठास नहोला । त्यसको निम्ति सुझावको स्वागत र प्रयत्न बाहेक अरू म के गर्न सक्छु र ! जे भए ता पनि यो मेरो थिग्रिन खोज्ने प्रयास हो । यसले पाठकका हृदयमा सानो स्थान ओगट्न पायो भने म आफ्नो अहो भाग्य सम्झन्छु र अरु पनि केही खेस्रा यहाँहरू समक्ष राख्न मलाई प्रेरणा मिल्ने छ । विशेष ‘परिवर्तन’को निरुपण त पाठकहरुले गर्नु नै हुनेछ ।
पुनर्जीवन (कथा)
बले चिसाङ खोलाको छेउको ठुलो ढुङ्गामाथि बसेर बगिरहेको पानीतिर गौढ गरेर हेरिरहेको थियो । कुनै अपरिचित मान्छेले झ्वाट्ट ‘कहाँ बस्ने भाइ’ भनेर सोध्दा पो झसङ्ग भयो ।
यहाँ बस्ने भनेर कसरी उसले जवाफ देवस् त ! उसको न त घरबारी छ, न बाबु आमा न कुनै नोकरी नै छ । बले बालखै छँदा आमा चाहिँ मरेकी रे । बाबु पनि उसको उमेर पन्द्र पुग्दा नपुग्दै छोडेर गैगयो । सानो घरबारी पनि साहुले तीस रुपैयाँको कर्जामा जफत गरी हाल्यो । अनि कुले मलायामा भर्ती हुन आउँदा बले पनि उसँगै झरेको थियो । कुले चाहिँ पहाडको पानीले खाइलाग्दो थियो मुड्के, छोटो गर्धन, हब्बे गाला, ठुलो खप्पर, जखमले तिघ्रा, अरमट्ठे छेपारी, कसिएको शरीर र चौडा छात्ती भएको बाइसे पट्ठो भएकाले जाने बित्तिकै उ भर्ती भैहाल्यो । बले बरा ! कच्चा उमेरको, चुर्से मुख, सुलिखुट्टे र पातलो शरीरको गहुँगोरो ठिटो थियो । उसले नोकरी खोज्न मलाया पुग्नु पनि आकाशकै तारो थियो । त्यसैले होला, ईश्वरका कृपाले बाटैमा एउटा व्यापारीकहाँ उसले नोकरी पायो, त्यो पनि लगाई खाई महिनाको पाँच रुपैयाँको । त्यस्तो अवस्थामा जिउ पालेर पैसा समेत बचाउन पाउँदा उसले त्यस व्यापारीलाई मनमनै कति धन्यवाद दियो होला भनी साध्य छैन ।
दोकान श्रेष्ठजीको भए पनि जुत्ताकै थियो । दुई चार दिन त बले जिल्लारामै प-यो । ग्राहक ओइरिएका ओइरियै हुन्थे । कोही ‘कुन कम्पनीको हो ?’ भन्थे त कोही ‘दाम कति ?’ र कोही चाहिँ ‘कतिसम्म टिक्ला ?’ भनी सोध्थे । एकातिरको सवालको जवाफ दिँदा नदिँदै अर्कातिरबाट प्रश्न ओइरिई हाल्थ्यो । आखिर कोही ग्राहक त सोधेको कुरो पनि भन्दैन भनी जङ्गिँदै ‘भै गो, अर्कै दोकान जाउँ’ भनी उठी पनि हाल्थे । तर यस्तो समस्या उसले छिटै हल ग-यो । उसले यस्तो काम नगरेको हो र ! दसै वर्षकै उमेरदेखि गरेको । फरक यति थियो कि त्यसवेला थोरै ग्राहक आउने हुनाले काम गर्न एकदम सजिलो र दलाली गर्न पल्केका विष्टहरुलाई दोब्बर दाम गरे मात्र जुत्ताको मूल्य उठ्ने । यहाँ चाहिँ दलालीको नाम, निसानै छैन । तोकिएको रेट अनुसार पसलेले जत्ति भन्यो उति फ्याँक्तै जुत्ता टिप्तै लान्छन् ।
उसका बाबुलाई नचिन्ने मान्छे वरिपरिका गाउँमा विरलै थिए होला । हर्कदले मिजार भनेपछि खैरे, सोर्साने, भोर्ले, माछामारे गाउँका मानिसहरु त्यसै कुत्कुती लागेजस्तो गरेर हाँस्न थाल्थे । उसको ठट्टा गर्ने आदतले कामै नभए पनि गाउँलेहरुलाई हर्कदलेका घरतिर तान्थ्यो । एकदिन हिक्मते क्षेत्रीले उसलाई भन्यो,
‘ए हो ! जुत्ता त साह्रै राम्रा पो बनाइस त हौ मिजार !’
‘हो र हजुर ! जुत्ता त कमलै राम्रा हुन्छन् अरे नि त !’
यो सुनेर ताक्चे भोटेले खित्का छाड्दै भन्यो, ‘यो मिजार उल्टो सुन्छ !’
‘सुन उल्टो भएर के हुन्छ र ! म सुल्टै छु ।’
यसरी आफूलाई खिज्याएको देखेर कोही चाहिँ भित्र भित्रै कुँडिन्थे, तर उसले नजानेको केही थिएन भन्दा पनि हुन्छ । उसले मनोविज्ञानको अध्ययन नगरे पनि आफ्नो दोकानमा चाहिँ प्रयोग गरिसकेको थियो । बिष्ट रिसाएको थाहा पाउने वित्तिकै फुत्त अर्का राम्रा खालका जुत्ता निकाली हाल्थ्यो र यसो भन्थ्यो,
‘हजुरका खुट्टा कति राम्रा सलक्क परेका ! यी सुन्दर पयरमा एकजोर कमलै राम्रा जुत्ता छन् कि हेरौँ है !’
जुरुक्क उठेर भित्र पस्थ्यो अनि जुत्ता बाहिर ल्याई ग्राहकका खुट्टामा लगाइदिँदै भन्थ्यो,
‘अड्कलौँ है हजुर !’ अनि जुत्ता लगाई सकेर भन्थ्यो, ‘भन्ने नपर्ने ! मैले हजुरकै निम्ति राखेको न हो, फरक किन पर्थ्यो त ! मलाई पनि त थाहा छ नि, पुरै छ महिना भई सक्यो, अझै हजुरका तिनै थोत्रा जुत्ता त रहिरहेका छैनन् होला नि ! यी नयाँ डिजाइनका हजुर, फेरि उस्तै सस्तो !’
यसरी दोकानेले मान गर्दा गर्दै भो किन्दिन तेरो जुत्ता भनेर हिँड्न पनि ग्राहकलाई अरु मानिसका मुखुञ्जेल अलि नामर्द नै देखिने । त्यसैले नम्र भएर ‘पैसा त अहिले ल्याइँन, भोलि पठाई दिउँला है’ भन्न उसलाई करै लाग्थ्यो । यसरी हर्कदलेले विक्री गर्ने कला नपढे पनि सर्प पनि मार्थ्यो र लट्ठी पनि जस्ताको तस्तै । त्यस्ताको छोरो वले–अवश्य उ पनि व्यापारमा कम चलाक थियो भन्न सकिंदैन । फेरि गाउँमा दुक्ख गरेर भए पनि केही लेखपढ गरेको थियो । जागीर पाएको हप्तादिन पछि त उसले पनि बजारको आनीबानी पहिल्याउँदै ल्यायो । श्रेष्ठजीको दोकानमा पनि जमघट बढ्न लाग्यो । हर्कदले झैँ उसले पनि कुनै तालिम लिएको थिएन, तर भनेसम्मको चलाक र गजब पट्ठो थियो ।
कुशल विक्रेता भएपछि व्यापार पनि फस्टाउँछ । व्यापार बढ्दै गएपछि श्रेष्ठजीले अर्को दोकान खोले । त्यहाँ चतुरे नाउँको अर्को एउटा विक्रेता राखे । तर नयाँ दोकानबाट दैनिक पन्द्र, बिस रुपैयाँ पनि मुश्किलले आउँथ्यो । पहिले पहिले त साहुजी नयाँ दोकान भएर त्यति नचलेको हो भन्थे, तर ६ महिनासम्म पनि जस्ताको तस्तै भएपछि नयाँ पसलको विक्रेतालाई उनले निकाली दिए ।
जागीरबाट निष्काशित भएता पनि चतुरे वलेसँग नजिकिन चाहन्थ्यो । अब चतुरे सधैँ दोकानतिर बिना काम पनि जान थाल्यो । एकछिन फुर्सद हुँदा उ वलेसँग गफ गर्थ्यो र ग्राहकको भिड हुँदा उसलाई सघाउँथ्यो पनि । कहिलेकाहीँ बेलुका चिया खाउँ भन्दै होटलतर्फ पनि लान्थ्यो । बिस्तारै उ वलेसँग नजिकिँदै गएको थियो । छिटै वले चतुरेको विश्वासी मित्र भैसकेको थियो ।
दिउँसो सधैँ वलेले चतुरेलाई चियापसलबाट चिया लिएर आउन भन्थ्यो । एकदिन चतुरेले वलेलाई होटलबाट चिया लिएर आउन अनुरोध ग-यो । चिया ल्याउन्जेल उसले पसल हेरिदिने कुरा ग-यो । आजसम्म चतुरेले दोकानमा कुनै शंकास्पद काम नगरेकोले वलेले उसलाई विश्वास गर्न थालेको थियो । चिया दोकानबाट चिया लिएर आउन दस–पन्द्र मिनेट लाग्थ्यो । एक छिन पसल कुर्नुहोस् है त भनी क्यास बाकसको साँचो चतुरेलाई जिम्मा दिएर वले चिया दोकानतिर बाटो लाग्यो ।
वले चिया लिन हिँडेपछि कुनै ग्राहक आएन, पसल पनि सुनसान भयो । यही मौका छोपी चतुरेले नगद राखेको बाकस खोल्यो, तिन हजार रुपैयाँ निकाल्यो र आफ्नो हाफपेन्टमा घुसा-यो अनि छालाको पेटीले टम्म कम्मर कस्यो । त्यसपछि दोकानमा एउटा ग्राहक पनि आइपुग्यो । ग्राहकलाई जुत्ता देखाउँदै गर्दा वले पनि दुई कप चिया लिएर टुप्लुक्क आइपुग्यो । वलेलाई साँचो जिम्मा दियो र चिया खाएर पसलबाट निस्केको चतुरे त्यसपछि बेपत्ता भयो ।
दिनभरीको आम्दानी हिसाब गरी साहुलाई बुझाउनु पर्ने भएकोले उसले नगद राखेको बाकस खोल्यो । त्यहाँ राखेको तिनहजार रुपैयाँ गायब भएको देखेपछि भुइँमा कतै प-यो कि भनी कुर्सी यताउती सारेर, कपडा झड्कारेर उसले अनेक खोज्यो । पैसा फेला परेन, तर उसले चतुरेमाथि शंका गरेन । उसले सोच्यो, “यस रुपैयाँले त मेरो जिन्दगी डुबाउँछ, । बरु भाग्छु । मुख देखाउँदिन, अब यसै भागिहाल्छु ।” बलेले दोकान उराठलाग्दो छोडेर सुइँकुच्चा ठोक्यो ।
साँझतिर साहुजी पसलमा आउँदा पो वलेले दोकान उराठलाग्दो अवस्थामा छोडेर पैसा चोरेर भागेको कुरा उनले थाहा पाए । उनले स्थानीय थानामा जाहेरी दरखास्त दिए । भोलिपल्ट चतुरेले साहुजीलाई भेट्यो र आफूले केही थाहा नपाएको कुरो साहुजीलाई बतायो । चतुरे दैनिक दोकान आई साहुजीलाई सघाउन थाल्यो । साहुजी खुशी भई चतुरेलाई नै दोकानमा जागीर दिए ।
बले चिराङ खोलाको छेउको ढुङ्गामाथि बसेर बगिरहेको पानीतिर गौढ गरेर हेरिरहेको थियो मानौँ उसको जीवन खोला जस्तै बाङ्गोटिङ्गो छ । खोला एकाठाउँमा गएर थान्को लाग्छ, तर उसको जीवनको कुनै लक्ष्य थिएन । कुनै अपरिचित व्यक्तिले झ्वाट्ट ‘घर कहाँ हो भाइ ?’ भनेर सोध्दा पो उ झसङ्ग भयो । एकछिन त त्यस मानिसको सुन्दर जिउडाल र चिटिक्क परेका लुगा हेरेर उ दङ्ग प-यो । मान्छे भने पुड्को थियो, तर खाकी पोशाक, पेन्टको जेबमा रातो रुमालको फुर्को अलिकति देखिएको र एउटा सैनिक झोला समेत काँधमा झुण्ड्याएको थियो ।
अपरिचित मानिसले सोधेको प्रश्नको उत्तरमा बलेले भन्यो, ‘ढुङ्गामाथि’ ।
‘अनि जाने चाहिँ कहाँ नि ?’
‘थाहा छैन ।’
सोधखोजको क्रममा थाहा भयो उ त सिंगापुरबाट फर्केको उसैको साथी कुलबीर लिम्बु पो रहेछ । यसरी पहिलेका वले र कुलेको मित्र मिलन भएपछि खुशी भई दुबैले अङ्कमाल गरे । साँझ पर्न लागेको थियो । कुलेले दही, चिउरा र चिनी बन्दोबस्त ग-यो । दुबैले अघाउँजी खाए र नजिकैको गाउँमा एउटा घरको पिंढीमा बास बसे ।
राति १ बजिसकेको थियो । वलेलाई कसैले धक्का दिइरहेको जस्तो लाग्यो । एकछिन त थकाइ र निद्राले उसले चाल पाएन । जब उसको जिउमा कसैले बेस्सरी धक्का दिए जस्तो भयो उसले टाउको उठायो । अँध्यारोमा केही देख्न सकेन । कुले घ्यार घ्यार गर्दै हातखुट्टा फ्याँकिरहेको थियो । बल्लतल्ल उसले सिरानमा राखेको कुलेको टर्च लाइतट भेट्यो । टर्च लाइट बालेर हेर्दा कुलेका गाला, खप्परभरी काटेका चिरा चिरा थिए । गर्धन छिनाल्न अलिकति मात्र बाँकी थियो । बेलुका घरकी बुढी आमाले पानी दिएको लोहोटा त्यहीँ थियो । लोहोटाको पिँधमा अलिकती पानी थियो, त्यही उसका मुखमा हाली दियो । त्यसपछि कुलेका फट्फटाइरहेका खुट्टा निश्चल भए । उ मरिसकेको थियो ।
निराश बले मित्र वियोगमा छटपटाउन लाग्यो । एक्कासी उ रुन कराउन लाग्यो । घरका मानिस बिउँझिए । गाउँलेहरु पनि भेला भए । त्यो दुर्दशा सबैले हेरे । प्रायः सबैका मनले वले नै दोषी ठहरिई सकेको थियो । एउटाले अर्कोसँग साउती गर्दै थियो, “कहाँदेखि पछ्याएको हो, अहिले यहाँ दुरुस्त हुन्छ ।” त्यसैवेला रगतमा लतपत भएको सानो खुकुरी पनि नजिकै भेटियो ।
“ल है, मान्छे चलाकी गर्न खोज्दै छ है, उम्कन दिनु हुँदैन । नत्र हामी गाउँले बाँधिन्छौँ है ।” यस्तो वातावरणमा उसँग केही सुझबुझ थिएन । आखिर वले परिवन्दमा परिसकेको थियो । उसलाई कारवाहीको निम्ति प्रहरी हिरासतमा पठाइयो ।
साहुजीले चतुरेलाई विश्वास गर्न लागेका थिए, तर उसलाई पैसा चोर्ने बानी लागिसकेको थियो । उसले एउटा डायरी नै राखेको थियो । नियमित रुपमा पसलबाट पैसा चोर्थ्यो र डायरीमा हिसाब राख्ने गर्थ्यो । पहिले चोरेको तीन हजारको हिसाब पनि उसले राखेको थियो । एकदिन आफ्नै लापरवाहीले उसले पसलमा डायरी छोड्यो । सोझा, सिधा ग्राहकसँग ठगेको पैसा पनि उसले डायरीमा लेखेर राख्थ्यो । पैसा चोर्ने बानीले उसलाई महत्वाकाँक्षी बनाएको थियो । उसले केही दिनमै नयाँ जुत्ता र सर्ट पेन्ट किनेको थियो । कालो चश्मा ढल्काएर उ पसलमा आउने गर्थ्यो । साहुजी सशंकित हुँदै गएका थिए । चतुरेको आफ्नै लापरवाहीले एक दिन डायरी पसलमै बिर्सेर उ चिया लिन होटल गयो । साहुजी पसलमै थिए । उनले चतुरेको त्यो डायरी फेला पारे र सबै यथार्थ बुझे । वले चतुरेको जालमा परेको यथार्थ जानकारी भएपछि साहुजीलाई पश्चात्ताप भयो । चतुरे प्रहरी हिरासतमा चलान भयो ।
साहुजीको प्रयासबाट अदालती कारवाहीमा चतुरे जेल चलान भयो अनि वले जेलमुक्त भई पुनः साहुजीको पसलमा काम गर्न थाल्यो ।
(मूल कथामा वलेले कुनै अपराध नगरेता पनि उन्मुक्ती नपाएको र चतुरेसँग जेलमा अकश्मात भेट हुँदा उसलाई हृदयघात भई अस्वाभाविक मृत्यु भएको देखाइएकोमा हाल सम्पादन गरी वले जेलमुक्त भई साहुजीकै पसलमा काम गर्न थालेको कुरा राखिएको छ । त्यसैले कथाको शीर्षक पनि “पुनर्जीवन” भनी सच्याइएको छ -कथाकार)
०००
कथाकार परिचयः कथाकार चुङमाङ धनकुटामा जन्मेका हुन् । उनको पहिलो प्रकाशित कथा “अपरिचित प्रेमिका र अल्पायु मृत्यु” विसं २०२४ सालमा प्रकाशित भएको थियो । उनका “बैंसको निर्वासित शहर(२०३४), “अनन्त आकाश”(२०७५) दुई कथा सङ्ग्रहसहित ४ उपन्यास तथा जीवनीमूलक कृति प्रकाशित छन् । उनी हाल टोखा, काठमाडौंमा वसोवास गर्छन् ।