ज्ञानेन्द्र विवशको ‘अर्धकदको अवसान’ प्रकाशित

समाचार

१२ कार्ति २०८१, काठमाडौं

निबन्धकार ज्ञानेन्द्र विवशको नयाँ निबन्धसङ्ग्रह ‘अर्धकदको अवसान’ भर्खर सार्वजनिक भएको छ । निबन्ध, नियात्रा, कला र सांस्कृतिक लेखनमा स्पष्ट चिनारी बनाइसकेका विवसको यो पन्ध्रौँ कृति हो ।
यस सङ्ग्रहभित्र आफ्नो भनेको आफ्नै हुन्छ, प्रकृति तिमीलाई प्रणाम, आफैँ हामी आफ्नो होइनौँ, जीवन यादहरूकै दस्तावेज, प्रकृति तिमी भएर म, हेर्नुको सत्य, देख्नुको सौन्दर्य, फड्को मार्दै पाइलाहरू, अर्धकदको अवसान, शारदीय सौन्दर्य, ऋतुहरूमा मङ्सिर, सौन्दर्यको व्यञ्जन, प्रकृति र जिन्दगी, बादल बयान, भेटिनु–नभेटिनु, सौन्दर्य र सुगन्ध, नभेटिएको भेट आदि शीर्षकका ३६ वटा निबन्धहरू रहेका छन् ।
वरिष्ठ संस्कृतिविद तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगले मन्तव्यमा भनेका छन्– ‘ज्ञानेन्द्र विवशका निबन्धले वरण गरेका र गर्न खोजेका भाव कलामय संरचनामा सम्प्रेषित हुनु र तिनले पाठकका मनलाई पाठकीय आनन्द प्रदान गर्न सक्नु ठूलो उपलब्धि हो भन्ने मलाई लाग्छ । अर्धकदको अवसान निबन्ध सङ्ग्रहभित्रका निबन्धहरू पढिरहँदा म आफैँले पनि यस्तो महसुस गरेको छु ।’
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले पुस्तकमा उल्लेख गरेका छन्– ‘निबन्धको उत्साहहीन तथ्याङ्कमा पनि निबन्धकार ज्ञानेन्द्र विवश निरन्तर अभियानमा लागिरहनुभएको छ । जूनै विषय र सन्दर्भका निबन्धमा पनि उहाँको अध्ययन र अनुभवका विविध प्रसङ्गहरूले निबन्धहरू हार्दिक, बौद्धिक, कलात्मक र तर्कपूर्ण बनेका छन् । प्रकृति, जीवन भोगाइ र समाजका सूक्ष्म यथार्थलाई निबन्धहरूले जागृत गराउने प्रयास गरेका छन् ।’
यसअघि उनका ‘पीडाका अनुभूतिहरू’ (२०४८), ‘क्यानभासका तरङ्गहरू’ (वि.सं. २०५५), ‘राराकी अप्सरा’ (वि.सं. २०५८), ‘मृत्यु उत्सव’ (वि.सं. २०६०), ‘आकृतिको आवाज’ (वि.सं. २०६१), ‘प्रणय र पाइला’ (वि.सं. २०६१), ‘अन्नपूर्णाका विम्बहरू’ (वि.सं. २०७०), ‘प्रसिद्ध अग्रज नेपाली चित्रकार’ (वि.सं. २०७०), ‘प्रसिद्ध नेपाली पौभा कलाकार’ (वि.सं. २०७०), ‘सुन्दरीचोक’ (वि.सं. २०७५), ‘साँखुका सम्पदा र वास्तुकला’ (वि.सं. २०७५), ‘प्रसिद्ध अग्रज कलाकार चन्द्रमानसिंह मास्के’ (वि.सं. २०७६), ‘प्रतिनिधि नेपाली कलाकार’ (वि.सं. २०७८), ‘कलाकार सिद्धिमुनि शाक्यः जीवन र कला’ (वि.सं. २०७८) कृतिहरु प्रकाशित भैसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *