आतङ्क

लघुकथा

लता के. सी.

 

“लु जा ! बल्ल भाउ भेटे , बज्याहरूले !” ठूलै युद्ध जितेको हाउभाउमा उनी बोलिन् ।

श्रीमान् उनलाई हेरेर हाँस्न थाले । उनी झन् थप्न थालिन् , “कम्ता उपद्रो गरेका थिए त ? छोरा छोरीको नयाँ लुगा , नयाँ किताब बिगारेर उधुम मच्चाउनेहरूलाई उपचार गरेरै छाडियो ।”

श्रीमानले खित्का छाड्दै भने , “हाम्रा घरमा मात्र हो र ? जहाजमा पसेर उडान स्थगित गर्ने , उडिरहेका जहाजलाई आकस्मिक अवतरण गर्न बाध्य पार्ने यी उपद्रियाहरू पो हुन् त !”

उनी अलि गम्भीर भइन् र भनिन् , “उता पाकिस्तानको संसद भवनमा छिरेर पोहोर निकै आतङ्क मच्चाएका थिए रे !”

उनी एक्कासि कराए , “एउटा जेमराज यहाँ नै आएर ढल्यो । ऊ अर्को पनि !”

उनले चिन्ता व्यक्त गरिन् , “बिष परेर भटाभट मर्न थालेका यी सिनोलाई अब कता पो थन्क्याउनु ?”

उनी जुरुक्क उठे र भने , “कोदालो झिक त ! बारीको एक ठाउँमा पुर्नु पर्छ नत्र रोग फैलाउन यी झन् माहिर छन् नि !”

शत्रु नाश गरेकोले उनी दङ्ग परिन् । श्रीमान भने एकोहोरो भए । विषले असर गरेको हो कि ? भनेर उनी आत्तिदैं घचघच्याउन थालिन् ।

बौरिए झैँ गरेर उनले भने , “घरका चारखुट्टे, अज्ञानी मुसालाई त तह लाइयो तर राज्यका दुईखुट्टे , ज्ञानी मुसाहरूलाई के गर्ने ? भनेर चिन्तन पो गरिराको त !”

०००

कथाकार परिचयः लघुकथा सर्जक लता के.सी. भोजपुरमा जन्मेकी हुन् र हाल तीनकुने, काठमाडौंमा बसोवास गर्छिन् । महेन्द्र मोरङ कलेजको वार्षिक मुखपत्र “प्रकाश” मा २०३९ “अन्तर्द्वन्द्व” कथा प्रकाशनसँगै साहित्य यात्रामा लागेकी उनका “चोटदेखि मृत्युसम्म” (२०७७), “दृश्य” (२०७८) र “सफलता” (२०८०) तीन लघुकथा सङ्ग्रहहरु प्रकाशित छन् ।

1 thought on “आतङ्क

  1. सुन्दर लघुकथा। कता दिदी लाई हार्दिक बधाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *