ग़जल

गजल

रवि प्राञ्जल

खस्यो आँसु अनिदोमै बिहानीमा
जहाँ तस्वीर थ्यो यौटा सिरानीमा।

फुलेनन् फूल वासन्ती बगैंचामा
फुलेछन् फूल आँसुका खरानीमा।

थियो गाली पनि उनको गजब मीठो
त्यहाँ प्रीति थियो उनको रिसानीमा।

थियो‌ ‘देवता’ ती आँखामा हिजोसम्म
बन्यो ‘पत्थर’ अहो ‘जानी नजानी’मा।

शशी छोडी कहाँ हुन्थ्यो ‘रवि’ चर्चित
छुटेको पात्र थ्यो आफ्नै कहानीमा।

गजलकार परिचयः गजलकार रवि प्राञ्जलको जन्म काठमाडौं भाटभटेनीमा भएको हो । उनले विसं २०३५ देखि लेखन प्रारम्भ गरेका हुन् । उनका “आँसुका फूलहरू“(कविता सङ्ग्रह-२०४१), “घामका झुल्काहरू” (गीत सङ्ग्रह २०४७), “तारिदेऊ न माझी दाइ” (गजल सङ्ग्रह २०४८), “उही बाढी उही भेल” (गजल संग्रह २०५२) कृतिहरु प्रकाशित छन् । उनका तीनवटा गीति एल्बम प्रकाशित छन् र ५० बढी गीत गजल रेकर्ड भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *