(अखण्ड भण्डारी पेशाले पत्रकार हुन् र हाल उनी अन्नपूर्ण पोस्टको प्रधान सम्पादकको रूपमा कार्यरत छन् । उनको परिचयको अर्को पाटो, उनी उपन्यासकार समेत हुन् । उनको “मलाया एक्सप्रेस” उपन्यास चर्चामा रहेको थियो । हाल उनले दोश्रो उपन्यास “बोरा” लिएर आएका छन् । यो उपन्यासले ५० हजार राशीको “लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार-२०८१” प्राप्त गरेको छ । हालै उनी अमेरिका भ्रमणमा रहेका बेला भर्जिनियाको सेण्टरभील शहरमा यसै उपन्यासमाथि केन्द्रित रहेर गरिएको छोटो सम्वाद प्रस्तुत छ ।)
बोरा उपन्यास लेख्न तपाईंलाई कति जति समय लाग्यो ?
लेख्न चाहीं ठ्याक्कै दस वर्ष लाग्यो । किनभने थालेको दस वर्षमा सकियो । दस वर्षअघि मैले ३० प्रतिशत काम गरेको थिएँ । तर २०८० सालको माघ फागुन चैतमा ७० प्रतिशत एकैचोटी सकें, ३ महिनामा । त्यसो हुँदाखेरि यसलाई
कसरी हिसाव निकाल्ने हगी ? सुरुवातको समयदेखि वर्ष चाहीं १० भयो, मूल काम चाहिँ ३ महिनामा गरिएको हो ।
यो उपन्यासको प्रेरणा श्रोत चाहिँ के थियो?
मैले एकजना आमा भेट्टाएँ आश्रममा जसलाई आफ्नो डाक्टर छोरा बुहारीले अति दुर्ब्यवहार गर्ने रहेछन् , अनि एकदिन उहाँलाई यस्तो आश्चर्य लाग्यो कि, तिनले आमा मन्दिर जाउँ भने र लिएर गए । मन्दिरको छेउमा एउटा फलैंचामा राखे । अनि नजिकैबाट हामी केही फूल प्रसाद किनेर ल्याउँछौं भनेर छोडेर हिंडेका छोरा बुहारी कहिल्यै फर्केर आएनन् । उहाँ सँग फोन पनि थिएन, सम्पर्क पनि थिएन, छोरा बुहारीको नम्बर पनि थाहा थिएन, अनि अलपत्र परेपछि कसैले आश्रममा ल्याएर राखि दिएको भनेर कथा सुनाउनु भो । त्यो भए पछि मैले के ठानें भनें, यो आमाको बारेमा एउटा उपन्यास लेख्नु प-यो । अनि म अनुसन्धान गर्नको लागि उहाँ सँग पनि फेरि कुरा गरें र नेपालका त्यस्ता बृध्द आमाबाबुहरु बस्ने महत्वपूर्ण आश्रमहरुमा गएर सबका कथा ब्यथा के रहेछ भनेर विस्तृत रुपमा अध्ययन अनुसन्धान गरें ।साथी भाइहरूलाई पनि म यस्तो गर्दै छु भनेर सुनाउने क्रममा एक जनाले भन्नु भो, एकजना बोरामा हालेर फालेको आमासमेत पालेको देखेको छु । त्यसपछि त्यहाँ गएर त्यो आमालाई भेटेपछि मेरो त्यो पुरानो सुरु गरेको कथा जुन थियो त्यो मोडिएर बोरामा हालेर फालिएकी आमा मूल विषय बस्तु बन्यो । अनि किताबको नाम पनि बोरा राखेँ ।
अनि यो अध्ययन अनुसन्धानलाई कति समय लाग्यो ?
अध्ययन अनुसन्धान चाहिँ मैले २०७१ साल २०७२ साल दुई वर्ष गरें । मूल अध्ययन यही दुई वर्ष गरें । अनि सामाग्रीहरु सङ्कलन गरेर कन्सेप्ट मैले बनाइसकेको थिएँ । लेख्ने समय नहुने कामको ब्यस्तताले । त्यसै अल्झिराखेको थियो । अनि २०८० साल माघ २ गते मेरो जन्मदिनमा मैले यौटा कागज गरें, आफैंले आफैंसँग , २०८० सालभरिमा यो किताब पूरा गर्छु भनेर । साँच्चै त्यसलाई पूरा गरेर २०८० सालको चैत मसान्तमा मैले किताबको विमोचन पनि गरें ।
अनि यसलाई सम्पादन, पुनर्लेखनमा चाहीं कति समय लगाउनु भयो त ?
अन्तिमको ३ महिनामा मैले मूल काम पनि गर्दै सम्पादन पनि गर्दै सकेको हुँ । त्यो बेलामा चाहिँ मैले करिव करिव १ महिनाभन्दा बढी अफिसमा बिदा लिएर गएर यौटा रिसोर्टमा बसेर लेखें । राती १ बजे पनि उठेर काम गर्थें । त्यो मैले द्रूत गतिमा गरें । लेख्ने पनि, सम्पादन गर्ने पनि, मिलाउने पनि, फाल्ने पनि, कुनै पाटै पनि फाल्दिने फेरि अर्को बनाउने, सप्पै कामहरू जेजे गर्ने त्यो सबै त्यही बीचमा गरें ।
अनि “बोरा” लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार” पनि पायो, यसको लागि बधाई छ । यो पुस्तकको तारिफ त धेरै सुन्नु भो होला । यसको आलोचना वा कमजोरी पनि केही देखाए ?
मलाई केही २।३ जना पाठकहरूले यसको आलोचनात्मक ढङ्गले पनि लेख्नु भो र २ जनाले अलि तगडै खालको अलिक कढै भाषामा यसका समग्र कुराहरुमा गम्भिर असहमति जनाएर अथवा भनौं न यो किताब कुनै ठाँचामा पनि छैन, कुनै केही पनि छैन भन्ने लेखेको पनि पाएको छु । यस्तो कुराहरुलाई म सहज रुपले लिन्छु ।
तपाईं आफैँलाई चाहिँ यो उपन्यासमा कुनै कमजोरी अनुभव भाको छ कि छैन ?
यसको केही प्राविधिक कुराहरूमा कतिपयले औँल्याउनु भएको छ, केही ठाउँहरूको नाउँमा, अलिक तलमाथि परेको, केही तथ्य गत त्रुटिहरू पनि यसमा भेटिएको छ, यसलाई अर्को संस्करणमा संशोधन गरेर, सच्याएर, छापिन पनि गइ सकेको छ । त्यो भन्दा बाहेक मैले यो किताब कुनै सिद्धान्त, कुनै वाद वा कुनै सूत्रमा आधारित नभएर , यो भित्र अलिक फरक शैलीमा दिने प्रयास गरेको छु । यसको मूल कुरो यसले दिने सन्देशको कुरामा र यसलाई रुचिकर ढङ्गले पढ्न सकिने पाठकहरूले पढ्न सकिने कुराहरूमा चैँ धेरै जनाबाट यो दुइटा कुरा छ भनिएकोले म पनि त्यसमा सन्तुष्ट नै छु । केही त्यस्तो ठूलो भूल भए जस्तो लागेको छैन ।
भनेपछि यो उपन्यासबाट तपाई सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छु । अब यस्तो सानुतिनु आलोचनाहरू त हामी लेखकहरूले सहनै पर्छ । त्यो त भैरहन्छ । समग्रमा यसले सन्तुष्टि दिएको छ ।
(गोगिप्रे)