नवराज कार्की
एक्लै यात्रा गर्नुको पनि मजा बेग्लै छ । बेला-बेलामा म एकल यात्रामा निस्कन्छु । रुचि मिल्ने साथीहरु भेटिंदा समूहमै पनि थुप्रै यात्रा गरेको छु तर कहिले कहीं एक्लै हिँड्नुपर्ने अवस्था आई पर्छ । जान्छु भनेपछि मलाई जानैपर्छ ।
नेपाली साहित्यको प्रवर्धनको उद्देश्य लिएर बि. सं. २०६२ जेठ २० गते साझा प्रकाशनको अगुवाईमा हामी १० जना साहित्यकार र पत्रकारको टोली दार्जीलिङ्ग, सिक्किम भ्रमणमा निस्किएका थियौं । पहिलो “साझा-संगम” विराटनगरमा, दोस्रो धरानमा, तेस्रो बिर्तामोड, झापामा, चौथो उत्तर बंगाल विश्वविद्यालय, सिलिगडीमा, पाँचौ देवकोटा सदन, सिलिगुडीमा, छैठौं गोर्खा दुःख निवारण संघ दार्जीलिङ्मा सम्पन्न गरेर सातौं कार्यक्रम खर्साङ्मा गर्दैथियौं । दिउँसो दुई बजेका लागि स्थानीय साहित्यिक संघ, संस्थाहरुले भब्य कार्यक्रमको तयारी गरेका थिए । मञ्च सजाईएको थियो, निम्तो बाँडिएको थियो । अतिथि सत्कारको सम्पूर्ण प्रबन्ध मिलाईएको थियो । टाढाबाट आउनु पर्ने सहभागीहरु आईसकेका थिए । दर दुर्भाग्यवस त्यो कार्यक्रम त शोकसभामा पो परिणत भयो । कविता सुनाउने, गीत गाउने नेपाल र भारतका नेपाली साहित्यकारहरु एउटै मञ्चमा बस्ने संयोग नराम्ररी ट-यो । त्यही मञ्चमा हाम्रो टोलीका सदस्य साझा प्रकाशनका सञ्चालक, कवि विनय रावलको शव राखेर हामी शोक सभा गर्दै थियौं ।
बिहान डियर पार्क गएको टोली चढेको मोटर दुर्घटनामा परेर कवि रावलको निधन भएको थियो । सोही दुर्घटनामा कवि विश्वविमोहन श्रेष्ठ र अर्का सञ्चालक राजेन्द्र पराजुली पनि सख्त घाइते भएका थिए । झापाका पत्रकार लीला लुईंटेललाई भने अस्पताल भर्ना हुन परेन ।
पूर्व निर्धारित कार्यक्रममा त्यो विघ्न नपरेको भए खर्साङ्पछि हाम्रो “साझा संगम” सिक्किमको राजधानी गान्तोकमा हुन्थ्यो । दुर्घटनाले हाम्रो यात्रा स्थगित गर्नु परेकोमा क्षमा माग्दै हामी काठमाडौं फर्कियौं ।
यसरी अधुरै रहेको सिक्किमको साहित्यिक यात्रा पुनः सम्पन्न गरौंला भन्दा भन्दै बागमती र टिस्टामा धेरै पानी बगेर गयो । साझा प्रकाशनका संचालकद्वय शारदा अधिकारी र राजेन्द्र पराजुली दिवंगत भए । हाम्रो साहित्यिक यात्रा टोलीका अन्य सदस्यहरु पनि सम्पर्क विहीन हुँदै गए । उता सिक्किम तर्फका साथीहरु पनि मुख्यमन्त्री पवन चामलिङ्को सक्रिय कालखण्डमा झैं जुर्मुराएनन् कि? हाम्रो सम्पर्क टुट्यो ।
यता साझा प्रकाशनको ओरालो यात्रा थालिएछ। ठूलो यत्नले गोर्खाल्याण्ड आन्दोलन पश्चात् दार्जिलिङबाट, सिलिगुडी सारेको साझा प्रकाशनको शाखामा पनि ताला लागेछ ।
यति पूर्व प्रसङ्ग भनिसके पछि अब म अधुरो रहेको त्यो पुरानो यात्रालाई पूर्णता दिन्छु भन्ने दृढ अठोट लिएर एक्लै पूर्वतिर हान्निएँ । काठमाण्डौबाट उडेको प्लेनबाट ४५ मिनेटमै चन्द्रगढी पुगिंदो रैछ । चालीस बर्ष पहिले डकोटा विमानले त झण्डै एक घण्टा लगाए झैं लाग्छ । एयरपोर्टबाट काँकडभिट्टा तिर जाँदै गर्दा ट्याक्सी चालक भाइले अहिले साँझ पर्न लाग्यो, आज यतै बस्नोस् र भोलि बिहान ६.०० बजे बोर्डर खुल्नासाथ जानु भए राम्रो होला भन्ने सल्लाह दिए। मैले काँकडभिट्टालाई धेरैपल्ट नाघेर हिंडे पनि यो व्यबस्थित बजारलाई हेर्ने मौका पाएकै रहेनछु । होटलमा झोला थन्काएर महेन्द्र राजमार्ग भन्दा बायाँ तर्फको बजार एक चक्कर लगाएँ । थुप्रै नयाँ शैलीका घर र पसलहरु हेर्दै एक घण्टा घुमेर सन्ध्या भ्रमणको नित्य कर्म पूरा गरें। काँकडभिट्टामा पनि स्तरीय होटलहरु प्रशस्तै खुलेका रहेछन । होटलको सेवा र मौलिक खानाको स्वाद प्रशंसनीय लाग्यो।
सदा झैं भोलिपल्ट पाँचै बजे उठेर प्रातः भ्रमणमा निस्कें । अब राजमार्ग भन्दा दाहिने तर्फ घुम्नु थियो । केही बेर नेपाल -भारत जोड्ने मेची पुलमा उभिएँ र पश्चिमतिरै फर्कें । सुख्खा बन्दरगाह बनेको रै’छ । त्यहाँ केही भरिएका ट्रक र कन्टेनरहरु देखिए । बिहानै हुनाले अरु चहलपहल हुने कुरै भएन । सानै परिमाणमा भए पनि अर्थतन्त्र त चलायमान छ है ! भन्न मन लाग्यो । एशियन हाईवे निर्माण खातिर राजमार्ग छेउछाउका साना ठूला सबै रुखहरू काटिएछन् । सडक त नाङ्गो पो देखियो ।
भित्री गल्लीहरु पनि फराकिला र धेरैजसो कालोपत्रे देखिए । कच्ची बाटोमा पनि कतै ग्राभेल गर्दै र कतै ब्लक छाप्दै गरेको देखियो । अन्य नगर हरुको तुलनामा यो नगर अलि सफा देखियो । अलि भिरालो-भिरालो भएर होला कतै पानी जमेको थिएन । हिजो मात्रै शुरु भएको प्रथम मनसुनी वर्षा पनि स्वात्तै बगेर गएछ ।
अब ६ बजे सिमाना चौकी खुल्यो र दुई पाङ्ग्रे, तीन पाङ्ग्रे,चार पाङ्ग्रे र बहु पाङग्रे गाडीहरु कोही यताबाट उता हुईंकन थाले। मेरा हिजोकै चालक भाइले ठीक समयमै मलाई न्यू जलपाईगढी रेल्वे स्टेशनमा पु-याई दिए। म पूर्वीञ्चल भारतको मूल द्वार भनिने न्यू जलपाईगुडीबाट राजधानी एक्सप्रेसको सुविधाजनक यात्रामा गुवाहाटी तिर प्रस्थान गरें । भारु १४००।- को टिकटमा ब्रेक फास्ट, लञ्च, र चिया, कफीको सुविधालाई राम्रै मान्नुपर्छ । कोक्राझार, कोचविहार, चौतारा आदि स्टेशनहरु पार गर्दै ‘राजधानी एक्सप्रेस’ रेल गाडी साँझ ८,०० बजे गुवाहाटी पुग्यो ।
माता कामरूप कामांख्याको मन्दिर, एउटा डाँडाको खोंचमा रहेछ । बिहान ४,०० बजे म आठ किमी टाढाको यात्रा गर्दै मन्दिरमा पुग्दा त त्यहाँ दर्शनार्थीको भीड देखेर तर्सें । साधारण लाममा झण्डै ५-६ हजार , भि.आई.पी. लाममा ५०१/- भारु को विशेष टिकट लिन ४/५ सयजना भक्तजनको संख्या देखेपछि लौ आज माताको दर्शन संभव छैन भन्ने ठान्यो मनले । यस्तैमा एकजना पुजारी ! पंडित भेटिए । उनले कति हजारको संकल्प गर्नुहुन्छ ? मआजै दर्शन गराइ दिन्छु पो भन्न थाले । मैले आजै दर्शन गर्न चाहिंन र भोलिपल्ट आउँछु भन्दै फर्किएँ ।
भोलिपल्ट (अर्थात् मे १, २०२४) मा बिहानै भि.आई.पि. टिकट भा.रु ५०१।- को लाममा उभिंदा म ९ नम्बरमा परें । मन्दिर वरपरकै होटलमा बास बसेका तीर्थयात्रीहरु मभन्दा अगाडि पुग्नु स्वभाविकै थियो । ७,०० बजे मन्दिर खुले पछि एकै घण्टामा दर्शन संभव भयो । यो वर्षौं देखिको ‘संकल्प यात्रा’ पूरा गर्न पाउँदा हर्षविभोर भएँ ।
अब मेरो अर्को गन्तब्य थियो । बसाईं, अतृप्त, ब्रहमपुत्रको छेउछाउ जस्ता चर्चित उपन्यासका उपन्यासकार ९३ बर्षका वयोवृध्द श्री लीलबहादुर क्षेत्रीलाई भेट्ने । काठमाण्डौंमा कवि मित्र अविनाश श्रेष्ठले भन्नु भएको थियो “पल्टन बजारमा कुनै पनि नेपालीलाई सोध्नुभए- सके उसैले क्षेत्री सरको घरै पुग्याई देला नभए अटोवालालाई ठेगाना बताई दिनेछ ।” मैले निकैबेर घुम्दा पनि पल्टन बजारमा एउटै नेपालीको पसल देखिन, न त बाटोमा नै कुनै नेपाली नै भेटें । पुराना नेपालीहरु विस्थापित भै सकेछन्। नयाँ पुस्ताकाहरु अब अरबतिर जान्छन् अनि भारतको अल्पविकशित शहरमा कहाँ नेपाली भेट्नु ?
गुवाहाटी पूर्बोत्तर भारतको प्रवेशद्वार हो । बिशाल असम राज्यबाट छुट्टिएका ‘सेभेन सिस्टर्स’ राज्यहरु ( असम, अरुणाचल, मेघालय, मिजोरम, त्रिपुरा, नागालैण्ड र, मणिपुर ) नेपालीहरुको बाक्लै जनसंख्या भएको क्षेत्र हो । आकाश मार्गको बिदेश यात्रा सहज नहुँदाको बेला निम्न बर्गीय र मध्यम बर्गीय नेपालीको सजिलो गन्तब्य भनेकै पूर्वोत्तर भारत नै थियो । बर्मा जानेहरु यही बाटो जान्थे । बर्माबाट लखेटिएका नेपालीहरू यही बाटो सन् १९६० को दशकमा यही बाटो फर्के । इन्द्रबहादुर राई, लीलबहादुर क्षेत्रीजस्ता प्रख्यात लेखकहरुले यो भेकको यथावत् बर्णन आफ्ना कृतिहरुमा उतारेका छन् ।
एउटा चौराहामा प्रहरी भ्यानमा केही खाईलाग्दा प्रहरी अधिकृत सुर्ति माड्दै थिए । एउटा आकर्षक व्यक्तित्ववाला अधिकृतसित मेरो आँखा जुध्यो । आँखाको अव्यक्त भाषामा शायद हाम्रो एउटै सम्वाद हुँदो हो ? हैन, यो मान्छे त नेपाली जस्तो पो छ । मैले ठाडै नेपाली बोलिहाल्ने आँट गरिन र अंग्रेजी मैं सोधें- के तपाईंहरुलाई प्रोफेसर लेखक लील बहादुर क्षेत्रीको घर थाहा होला ? छेउमा बसेको चाँहिले भन्यो- “एस्, आई नो हिम भेरी वेल? हि, वन द पदम श्री एवार्ड लास्ट एयर ?” म खुशी भएँ ।
प्रहरीहरुले रिक्साको बन्दोवस्त मिलाइदिए र म मेरो अर्को साहित्यिक तीर्थस्थल लील बहादुर क्षेत्रीको घर पुगें ।
उमेरजन्य केही कमजोरीका वाबजुद पनि क्षेत्री सर यदाकदा आफै नीत्य कर्म गर्ने, यदाकदा बाहिरफेरका कार्यक्रममा पनि जाने गर्नु हुँदो रहेछ । म साझा प्रकाशनमा हुँदा उहाँसित अठार बर्ष अघि भेट भएको थियो । मैले मेरो परिचय दिएपछि उहाँले ठम्याउनु भयो । साझा प्रकाशनसित उहाँको लामो नाता जोडिदिएको थियो त्रि.वि. वि. को अनिवार्य नेपालीको पाठ्यक्रममा रहेको उही ‘बसाईं’ उपन्यासले । साझा प्रकाशनका पूर्व अध्यक्ष कमलमणि दीक्षित र पूर्व महाप्रवन्धक । अध्यक्ष क्षेत्रप्रताप अधिकारीलाई खुब सम्झनु भयो । हामी निकैबेर गफियौं । कवि, गायिका एवम् बाद्यवादक नीता गुरुङलाई आफैले फोन गरेर बोलाउनु भयो । “आज मेरोमै खाना खाएर जानोस् ” भन्ने आग्रहलाई टार्न नसकेर मैल पनि हस् भनें ।
हाल त्रियानब्बे वर्षमा हिंडिरहनु भएका क्षेत्री सर, डायमण्ड शमशेर राणा पछि साझा प्रकाशनबाट धेरै लेखकस्व पाउने दोस्रो लेखक हुनुहुन्थ्यो । एउटै उपन्यास ‘बसाईं’ ले उहाँलाई धेरै कुरा दियो । र उहाँले पनि नेपाली साहित्यलाई धेरै कृतिहरु दिनुभयो । उहाँको साथमा ८५ बर्षीय श्रीमती धनमायाँ (जो आफैं पनि अवकाश प्राप्त शिक्षिका हुनुहुन्छ ) कान्छो छोरा र बुहारी एउटी नातिनी छन् । छोरीको घर ८ किलोमिटर टाढा पर्छ रे ! उहाँलाई नेपाल र भारत दुबैतिरको उत्तिकै सम्मान रहेछ भन्ने विविध प्रमाण र चित्रहरु भित्ताभरि सजिएका थिए ।
धेरै बर्ष देखि जान्छु जान्छु भन्दाभन्दै पनि जाने अनुकूल नमिलेर थाती रहेको असम, गुवाहाटीको धार्मिक एवं साहित्यिक भ्रमण सकेर म अर्को साहित्यिक यात्रामा गन्तब्य गान्तोक तिर लागें । फर्कदा उही बाटो उही एन जे पी अर्थात् न्यु जलपाईगुडी भएरै जानु थियो ।
म चाहन्थें भारतले भर्खरै सार्वजनिक सेवामा ल्याएको आफ्नै मौलिक प्रविधिको (अत्याधुनिक र महंगो पनि ) रेल चढौं न त भन्ने तर त्यसको समय र मेरो समयले मेल खाएन र म उही ” राजधानी एक्सप्रेस ” चढेर फर्कें ।
०००
लेखक परिचयः नवराज कार्की मूलतः कवि हुन् । हास्य ब्यङ्ग्यात्मक कविता तथा मुक्तकहरु उनका काव्यिक लेखनका विशेषता हुन् । शिखघार म्याग्दीमा जन्मेका उनी सन् २००९ देखि अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । उनका सिलसिला (कविता सङ्ग्रह २०४०), मनभित्रको आँधी (कविता तथा गीत सङ्ग्रह २०५३), एक दनक (हास्य ब्यङ्ग्य कविता २०५९), पलपल (गीत गजल सङ्ग्रह २०७०), तिमी हाँस्यौ र….(मुक्तक र छोटा कविता सङ्ग्रह २०७०), म्वाईं ( हास्य ब्यङ्ग्य कविता २०७०), एउटा यस्तो साथी (वाल कविता २०७०) सधैंसधैं (मुक्तक सङ्ग्रह सन् २०२२) प्रकाशित छन् ।