नवीन पौड्याल
भारतमा नेपाली साहित्यको ठुलो क्षेत्र छ। दार्जिलिङ सिक्किम, असम सबैतिरबाट नेपाली साहित्य लेखिन्छ र पढिन्छ। अझ दार्जिलिङ सिक्किम र असमका उच्च शैक्षिक संस्थानमा नेपाली भाषा( साहित्यको पठन(पाठन हुन्छ। यहाबाट पनि नेपाली साहित्यक पुस्तक र पत्रिकाहरू प्रकाशित हुन्छन्। यहाँ आफ्नै किसिमको नेपाली साहित्यिक परिवेश छ। यहाँको नेपाली साहित्यमा आफ्नै मौलिकता, परम्परा, प्रवृत्ति, प्रभाव पाइन्छ। यहाँको साहित्यमा यहाँकै स्थानीय माटोको वासना पाइन्छ। यद्यपि नेपालबाट यताको नेपाली साहित्यलाई हेर्ने चश्मा भने अलिक धमिलो छ भन्न सकिन्छ। यहाँबाट पनि ठुल्ठुला नेपाली साहित्यकार छन्, तिनको मूल्याङ्कन भने अझै गर्नुपर्ने देखिन्छ।
नेपाली साहित्यिक जगत, नेपाली भाषा-साहित्यका विद्यार्थी र भारतमा गोर्खाली राजनैतिक चासो राख्नेहरूका लागि डा गोकुल सिन्हा एक प्रखर परिचित नाम हो। उनी एक कुशल समालोचक, प्रवीण भाषाविद्, एक आदर्श शिक्षक, एक सफल अनुवादक, एक पक्का साहित्यकार, एक जण्डा राजनितीज्ञ र एक चिन्तकको उनको जन्म १५ डिसेम्बर, १९४० मा महारानी चियाकमान, टुङमा भएको हो।
उनका माता(पिता स्व। लक्षिमी खँड्का र स्व। कर्णबहादुर खँड्का थिए। यस हिसाबले हाल उनी पचासी बसन्त पार भइसकेका छन्। उनी अहिले पनि फुर्तिला काम गरिरहने, अध्ययन गरिरहने, साहित्यिक वार्ता गोष्ठी, अधिवेशन आदितिर मुख्य अतिथि, सभापति भएर उपस्थित दिइरहेका छन्।
उनले प्राथमिक विद्यालयदेखि अध्यापन गर्दै शैक्षिक योग्यता बढाउँदै यता नोकरीको बढोत्तरी गराउँदै अन्तमा कलेज प्राध्यापन कार्य गर्दै नेपाली रामकथा परम्परा विषयमा विद्यावारिधिसम्म सम्पन्न गरेका हुन्। उनले रङबुल निम्न बुनियादी पाठशाला -१९५७ देखि १९६६ सम्म, केन्द्रीय तिब्बती विद्यालय, कालिम्पोङ -१९६६ देखि १९८५ सम्म र सिलगढी महाविद्यालय- १९८५ देखि २००० सम्म । त्यहाँ नेपाली विभागका तत्कालीन एक्ला प्राध्यापक थिए। त्यहाँ उनले नेपाली विषयमा सम्मान खोल्न ठुलो भूमिका खेलेका हुन्। आफु सेवानिवृत्त भएपछि पनि दार्जीलिङ सरकारी महाविद्यालयको स्नातकोत्तर नेपाली विभागमा २००४ देखि अतिथि प्राध्यापक रही सेवा दिएका थिए। यस हिसाबले उनीसित शिक्षणमा उनीसित पचास वर्षे अनुभव छ। उनले तीन वर्ष जति उस्मानिया विश्वाविद्यालय भाषा कर्पसमा नेपाली भाषा विशेषज्ञ भएर काम सम्पन्न गरेका हुन्। अहिले पनि उनी दार्जिलिङ पार्वत्य विश्वविद्यालयमा नेपाली पढाउन जान्छन्, दार्जिलिङको स्थानीय सरकारद्वारा सञ्चालित नेपाली एकाडेमीका कामु अध्यक्ष रही सेवा प्रदान गरिरहेका छन्। अहिले पनि उनको दिनचर्चा साहित्यिक भाषिक परिचर्चा, अध्ययन लेखन रहेको छ।
शैक्षिक क्षेत्रमा एक लोभलाग्दा व्यक्ति हुन् डा सिन्हा। उनले प्राइभेट तवरबाट नै उच्च शिक्षा हासिल गरेका हुन्। यसका साथै उनले शोधनिर्देशकबिना नै नेपाली रामकाव्य परम्परा विषयमा विद्यावारिधि (पी.एच.डी.) हासिल गरेका हुन्। यसबाट हामी सबैले प्रेरणा लिनुपर्दछ। शिक्षा हासिल गर्न र अध्ययन गर्न उमेरले छेक्दैन भन्ने कुरामा उनी एक राम्रा उदाहरण हुन्।
प्रकाशनका हकमा डा सिन्हा धनी हुन् । हालसम्म उनका अँग्रेजी र नेपाली भाषा गरी जम्मा छब्बीसवटा जति पुस्तक प्रकाशित छन्। उनका पुस्तकहरुमा भाषिक चिन्तनपरक लेखसङ्ग्रह, जीवनीपरक समीक्षासङ्ग्रह, सङ्ख्यावाची शब्दकोश, कथासङ्ग्रह, भूमिकासङ्ग्रह, समीक्षासङ्ग्रह रहेका छन् । उनले पवित्र कुरआन, चालिस हदिस, हदिस चयन, नेपाली भाषाको मान्यताको प्रश्न, गालिब, चिरकुमार सभा, बहाई घर,
नयाँ नियम, पुरानो नियम, भागवद्गीता, रामगीता अनुवाद गरेका छन् । उनका १० पुस्तक अङ्ग्रेजी भाषामा समेत प्रकाशित भएका छन् ।
डा. सिन्हाको योगदान पुस्तक सम्पादन, पत्रिका सम्पादन आदिमा समेत रहेको छ । उनले महाकवि देवकोटाले दार्जिलिङ केन्द्रित कविताहरूलाई सङ्कलन गरेर ‘देवकोटा दोर्जेलिङैमा’, पाइन्स प्रकाशन, दार्जिलिङ, २००९, ‘पहाडी खोला’, ‘एकीकरण’ (दार्जिलिङ सिक्किम एकीकरण अभियानको मुखपत्र), ‘इन्द्रबहादुर राई अभिनन्दन ग्रन्थ’, ‘बी बी लकान्द्री स्मृति गुच्छ’, ‘आधार’ (भारतीय नेपाली राष्ट्रिय परिषद्को मुखपत्र), ‘सङ्गम’, ‘नेभा’, ‘अकादमी पत्रिका’।
यीबाहेक विभिन्न पत्र-पत्रिका, स्मृति ग्रन्थ र अभिनन्दन ग्रन्थहरू सम्पादित छन्। उनका धेरै लेखहरू विभिन्न पत्र पत्रिकामा छरिएका छन्। अझै एउटा समीक्षा र एउटा निबन्ध । उनले अश्वघोषको बुद्धचरित्रको तिब्बती र चिनीयाँमार्फत् अङ्गेजीमा फेला पारेर त्यसको नेपाली अनुवाद कार्यमा संलग्न छन्। उनी अनुवादमा पनि खोजमूलक रहेको छ।
नेपाली भाषा र साहित्यको विशिष्ट योगदान दिए तापनि उनले त्यति बढी सम्मानित र पुरस्कृत भएको मान्न सकिन्न। हालसम्म उनले डा पारसमणि पुरस्कार, कालिम्पोङ, २०००। भानुभक्त पुरस्कार, अरूगि पुरस्कार र तुलसीराम कश्यप स्मृति पुरस्कार, सिक्किम, लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार, सिलगढी, नेपाली साहित्य सम्मेलन पुरस्कार, दार्जिलिङ, २०१७, बद्रीनारायण प्रधान, डुवर्स, २०१७, साहित्य सम्मान पुरस्कार, नयाँ दिल्ली, २०२२, गिरी पुरस्कार, सूचना एवम् र सांस्कृतिक विभाग, जी टिए, २०२२। इत्यादि र विभिन्न ठाउँबाट अभिनन्दित भएका छन्। अगमसिंह गिरी संस्थान, सलुवा (कोलकतानजिक)ले आफ्नो मुखपत्र परदेशीले यस वर्ष गोकुल सिन्हा अभिनन्दन ग्रन्थ प्रकाशित गरिरहेको छ। उनको व्यक्तित्व कर कृतित्वमाथि विभिन्न लेखकहरूको लेखहरू समावेश भैरहेका छन्। यसमा उनका सबै पक्षको योगदानको समुचित अध्ययन, समीक्षण र मूल्याङ्कन हुनेछ भन्ने कुरामा आशा गर्न सकिन्छ।
डा. सिन्हाको राजनैतिक व्यक्तित्व पनि आफ्नै किसिमको छ। गोर्खालीगसित पनि एक समयमा सक्रिय थिए। उनीहरूका विचारैक्य मिल्नेहरूले गोर्खा राष्ट्रिय काँग्रेस दल गठन गरेका हुन्। पछिबाट सिक्किम-दार्जीलिङ एकीकरण मञ्च गठन गरी त्यसको एक सक्रिय सदस्य राजनितीज्ञ र चिन्तक हुन्। ऐतिहासिक सन्धि-सम्झौता र दस्तावेजका आधारमा दार्जीलिङलाई सिक्किममा गाभ्नुपर्छ भन्ने राजनैतिक अडान राखेका छन्। सिक्किमसित दार्जिलिङको सामाजिक, भाषिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, जातित्व सबै कुरा मिल्छ। दार्जिलिङका गोर्खालीहरूलाई सही अस्तित्व रक्षाका निम्ति सिक्किमसित विलय गर्नुपर्छ भन्ने उनको अड़ान छ। उनी एक स्पष्टवादी राजनितीज्ञ हुन्। उनी नेपाली भाषा आन्दोलनमा पनि नेतृत्व पङ्तिमा रही बौद्धिक रूपमा अघि थिए।
नेपाली भाषा र साहित्यका क्षेत्रमा डा गोकुल सिन्हा एक भाषाविद, कथाकार, अनुवादक, समालोचक। कोशकार, सम्पादक आदिका रूपमा परिचित छन्।
डा गोकुल सिन्हा एक भाषाविद र चिन्तक हुन्। उनको नेपाली भाषाको अध्ययन र चिन्तनमा महत्त्वपूर्ण योगदान छ। नेपाली भाषाको वर्णविचारदेखि लिएर, व्याकरणिक व्यवस्था, भाषिक एकीकरणसम्बन्धी विशद् अध्ययन र लेखनमा आजपर्यन्त सक्रिय। विभिन्न राष्ट्रीय र अन्तर्राष्ट्रीय संगोष्ठीतिर प्रपत्र प्रस्तोता, साहित्यिक र विभिन्न सामाजिक संस्था आदिका पदाधिकारी, विभिन्न साहित्य समारोह आदिका मुख्य अतिथि, अध्यक्ष, स्रोत व्यक्ति आदि हुन्। यीबाहेक विभिन्न सरकारी निकायमा विषयविज्ञका रूपमा रहन्छन्। उनी नेपाली लेखन शैली गोष्ठीका स्रोत व्यक्ति, नेपाली सांस्कृतिक कोश निर्माणका स्रोत व्यक्ति रहेर काम गरिसकेका छन्।
उनी भाषाका एकेक शब्दलाई केलाई त्यसको अर्थ, व्युत्पत्ति आदिबारे चिन्तन गर्छन्। उनी हरेक लेख बौद्धिक- चिन्तनपरक रहेका हुन्छन्। उनले डा पारसमणि प्रधान अभिनन्दन ग्रन्थमा नेपाली व्याकरणमा एकरूपताको प्रश्न विषयमा एक अत्यन्त गहकिलो लेख लेख्नुभएको छ। त्यस लेखमा नेपाली नेपाली भाषामा एकरूपताको समस्याको दिशा, तिनका कारण आदिबारे गम्भीर अध्ययन गरेका छन्। उनका भाषा भाष्कर, भाषा भारती जस्ता भाषा चिन्तनपरक पुस्तकहरूमा भाषिक चिन्तन, अध्ययन गरिएको पाइन्छ। नेपाली भाषाको सरलीकरण, एकरूपता आदि जस्ता पक्षमा आफ्नो तारिकक प्रस्तुति दिन्छन्। उनी भाषाको ध्वनि तत्त्वका आधारमा नेपाली वर्णमाला निर्धारण हुनपर्छ भन्ने अडान लिएका छन्। हाम्रा पचासवटा वर्ण भएको वर्णमालामा एउटै वर्ण पनि हटाउनु हुँदैन। सबै वैज्ञानिक छन् र ध्वनिगत आ(आफ्नै विशेषता र भिन्नता भएका हाम्रा ड़ र ढ़ (तलथोप्ली ड र ढ) फ्याँक्नुहुँदैन भन्ने तर्क प्रस्तुत गरेका छन्। नेपाली भाषाको चिन्तन परम्परामा डा> गोकुल सिन्हाको नाम पनि जोड्नु पर्दछ । हालसम्म उनका भाषा भारती (२०२१) र भाषा भाष्कर (२०२२) प्रकाशित छन्। उनको अङ्ककोष पनि प्रकाशित छ। भाषा भारती भित्र रहेका लेखहरू हुन्- ‘अक्षरहरूको आध्यात्मक अर्थ’, ‘वाक्यार्थ जानिलिनु’, ‘नेपाली वर्णविचार’, ‘हाम्रा स्वर र व्यञ्जन’, ‘भाषाको परिप्रेक्ष्यमा भारत र नेपाल’, ‘अगि र अघि’, ‘पहाडे र पाहाडे’, ‘तपाईं सम्झनुहुन्छ कि सम्झिनुहुन्छर?’, ‘दार्जिलिङ र दार्जिलिङ’, ‘स्थान नाम अर्थवान् हुन्छ’, ‘पाहाड़ी भाषाहरू’,‘मध्यपाहाडी कुमाउनी’, आखाणा पखाणा मध्य पहाडीमा, नेपाली भाषामा एकरूपताको प्रश्न ।
यसैगरी ‘भाषा भाष्कर’मा रहेका लेखहरू हुन्- भारतमा भाषा अध्ययन परम्परा र नेपाली, नेपाली र बङ्गाली भाषामा अन्तरसम्बन्ध, नेपाली हिन्दी क्रियामा लिङ्ग व्यवस्था, व्याकरणकै कुरा नेपालीमा लिङ्ग, केही नेपाली
निपातहरू, केही व्याकरण उपसर्गहरू, भाषा जनगणना र नीति, नेपाली भाषा संविधानको सन्दर्भमा, शुभेच्छा पनि समाचार पनि, भाषाले मान्यता पायो मात्र हैन, यसका साथै पायौँ अधिकार र कर्तव्य पनि, भारतमा नेपाली भाषाको स्वरूप, भारतीय परिप्रेक्ष्यमा नेपाली भाषाको समस्या र समाधानको खोज, वर्तमान भाषा प्रयोग र भाषा विमर्श, दार्जिलिङको भाषिक समुदायमा भाषिक सङ्क्रमण, गिरी र गिरी, आइ बी राईको भाषा दर्शन, भाषा भण्डारी, सारस्वत जन बिम्स्।
डा. सिन्हाका केही समालोचनात्मक लेखहरू विभिन्न पत्रिकामा प्रकाशित छन् । यद्यपि उनको समीक्षा पुस्तक भने ज्ञ देखि अ सम्म। पुस्तकको नामै अनौठो छ। ज्ञानदिलदासदेखि असीत राईसम्मका विषयमा जीवनीपरक समीक्षा गरिएको छ। यसमा रहेका समीक्षात्मक लेखहरू हुन्- ज्ञानदिल दास- ‘यम गीता’, गङ्गाप्रसाद प्रधान- ‘पाद्री गङ्गाप्रसादको लेखाइ’, दिलुसिँह राई- ‘नेपाली निर्वचन प्रथम पुरुष’, पारसमणि प्रधान- ‘पारसमणि’, रूपनारायण सिंह- ‘राजनैतिक रूपनारायण’, अच्छा राई रसिक- ‘रसिक’को राजनैतिक प्रतिबद्धता’, अगमसिंह गिरि- ‘विद्रोही कविको क्रान्तिभूमि’, शिवकुमार राई- ‘फ्रन्टियर’का सिपाही शिवकुमार’, रामकृष्ण
शर्मा- ‘परिचेय रामकृष्ण’, देवप्रकाश राई- ‘रोमान्टिक कथाकार देवप्रकाश’,बद्रीनारयण प्रधान- ‘मालती उर्फ मौली’, इन्द्रबहादुर राई- ‘लीला लेखन एक आद्यस्वरूपीय प्रयुक्ति’, भाइचन्द प्रधान- ‘भानुको प्रथम किरण कालेबुङमा’, राजनारायण प्रधान- ‘राजको डायरी’, लक्खीदेवी सुन्दास- ‘अहल्या’को पौराणिक प्रसङ्ग’, कुमार प्रधान- ‘नेपाली जातीय इतिवृत्तिमा डा कुमार’, रामलाल अधिकारी- ‘निबन्धकारी अधिकारी’, असित राई- ‘साहित्य साहित्यकार र असित राई’।
उनको सबैभन्दा पछिल्लो समीक्षासङ्ग्रह हो ‘बाह्र बटुलो’ (२०२३) हो। यसभित्र रहेका केही लेखहरू हुन्- नेपाली कविताः एक सिंहावलोकन, कविता(दार्जिलिङः एक खाकाचित्र, भारतमा नेपाली कविता परम्पराको प्राथमिक पर्व, नेपाली कथाको परम्परा र मौलिकता, नेपालीको केही साहित्यिक त्रयीहरू, आधुनिक नेपाली साहित्यमा सामाजिक राजनैतिक परिदृश्य, नेपाली जाति भाषा र साहित्य, अनुवाद साहित्यको पक्षमा, नियात्राको पदयात्रा, साहित्यमा समकालीनताको प्रश्न र सानु लामाको हिमालचुली मुन्तिर, कोकिला- को कथा विशेषाङ्क एक कथन प्रसङ्ग, वृहत् समालोचना एक महत् संयोजन एक संक्षिप्त विवेचन। सिन्हाका समीक्षामा गहन अध्ययन, अन्वेषण, तथ्य, तर्क, वस्तु विवेचना, तात्त्विक विमर्श, भाषिक चर्चा, जीवनीमूलकता, सर्जकको मूल सिद्धान्तको अन्वेषण र तिनको व्याख्या आदि पाइन्छ।
डा. गोकुल सिन्हा एक कोशकार पनि हुन्। कोशसम्बन्धित उनका दुई वटा पुस्तक प्रकाशित देखिन्छन्- भाषिक र साहित्यिक शब्दावलीको प्राविधिक कोष (A Lexicon of Linguistic & Literary Terms, CIIL, Mysore) र अङ्ककोष देखिन्छन्। अघिल्लोमा भाषिक र साहित्यिक शब्दावलीलाई नेपाली शब्द र अर्थ खुलाएका छन्। उनको अङ्ककोष नेपाली कोश परम्परामा एउटा विशिष्ट किसिमको पहिलो कोश हो जसमा अङ्कवाची शब्दहरूको व्युत्पत्ति र अर्थ खुलाएका छन्। नेपाली भाषामा सङ्ख्यावाची शब्द विभिन्न प्रसङ्ग, स्थान, संस्कार, संस्कृति आदिमा प्रयोग हुन्छन्।
ती जम्मैलाई सङ्कलन र कोशीकरण गरिएको छ। यसमा शून्यदेखि लिएर नौलाखे, सपादलक्षसम्मको अर्थ केलाएका छन्। यसमा सबैभन्दा बेसी पाँचबाट उठेका तत्सम, तद्भव, आगन्तुक र देसज शब्दहरू र तिनको अर्थ केलाइएको छ। यसका साथै चौंसठ्ठी कला भित्र कुन कुन कला पर्दछन्, चौंसठ्ठी योगिनीमा कुन कुन योगिनी पर्दछन्, साठ्ठी संवत्सरमा कुन कुन पर्दछन्, चौरासी सिद्धमा कुन कुन हुन् आदि पनि दिइएको छ। पुस्तक ८७ पृष्ठको रहेको छ। परिशिष्टमा अङ्क तथा अक्षरमा गन्ती, केही रोमन अङ्कहरू, केही अङ्ग्रेजी सङ्ख्यावाची शब्दहरू राखिएका छन्।
डा गोकुल सिन्हा एक दक्ष अनुवादक हुन्। उनका अनूदित पुस्तकहरूको सङ्ख्या एक दर्जन पुग्यो। उनले नेपालीबाट अङ्ग्रेजीमा र अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरेका छन्। उनले पवित्र बाइबल, पवित्र कुरान, बहाइ जस्ता कृति नेपाली पाठकका निम्ति नेपालीमा अनुवाद गरेका छन्। यसैगरी अन्य भाषाभाषीका निम्ति हाम्रो भानुभक्तीय रामायणको अङ्ग्रेजी अनुवाद गरेका छन्। एउटा अचम्मको कुरा के भने उनले कुरान, बाइबल, भागवत्गीता तीनै धर्मका धर्मग्रन्थहरूको नेपालीमा अनुवाद गरेका छन्। उनले भानुभक्तीय रामायणलाई पनि अङ्ग्रेजीमा गद्यानुवाद गरेका छन्। उनी रामायणका विशेषज्ञ हुन्। उनले रामायणबारे विदेशमा गएर पनि वार्ता प्रस्तुत गरिसकेका छन्। उनले झ्याउरे छन्दमा पनि श्रीमदभागवत् गीताको अनुवाद गरेका छन्। उनले बङ्लाबाट रबिन्द्रनाथ ठाकुरको चिरकुमार सभाको नेपाली अनुवाद गरेका छन्। हिन्दीबाट गालिबको जीवनीको अनुवाद गरेका छन्।
समग्रमा डा गोकुल सिन्हाभित्र विभिन्न अनुभव र ज्ञानको भण्डार छ। पारसमणि प्रधान, भाइचन्द प्रधान, देवप्रकाश राई, गुमानसिंह चामलिङ, रामकृष्ण शर्मा, महानन्द पौड्याल, इन्द्रबहादुर राई आदिसँग राम्रो संसर्ग गर्नुभएको हो। वहाँ स्वयम् नै इतिहास र संस्मरणको पुस्तक हुन्। उनी दार्जीलिङ, कालिम्पोङ र सिलगडी तीनै ठाउँका एक सिङ्गो व्यक्ति हुन्। उनीसित संस्मरणका पुलिन्दा छन्। उनी कति भाषिक साहित्यिक गोष्ठीमा सहभागी हुन मैसूर, गुवाहाटी, सिलगड़ी, कोलकाता दिल्लीतिर गइरहन्छन्।
डा सिन्हा अत्यन्त मिलनसार, हँसमुख, युवा जोसले भरिपूर्ण, लोकप्रिय गुरूबा, सदाचारी, सबैलाई मित्रवत् व्यवहार गर्ने, गुणी, सरल र सहज व्यक्तित्व हुन्। घमण्डशून्य, शान्त, सबैलाई मित्रवत् व्यवहार गर्ने रमाइलो व्यक्तित्व हुन्। अब उनले सानातिना झिनामसिना कामभन्दा नेपाली भाषा र साहित्य क्षेत्रमा ठोस कार्य गर्नुभए असल हुनेछ। उनलाई उमेरको वार्धक्यले चाँडैनै नगलाओस्, उनी पुस्तक संख्या बढेर दुई दर्जन नाघोस, थालेका काम सबै चाँडै समाप्त होस्, उनीको जोसमा कमी नआओस्, अझै अरू गरिमामयी पुरस्कार हात पर्दै गरोस्, उनीका छोराछोरीले पनि अझै उन्नति गरून्, सबैतिरबाट सुख-समृद्धि प्राप्त होस् तथा उनीको सुस्वस्थ्, दीर्घायु र उत्तरोत्तर प्रगतिको काम राख्दछौँ।
डा.गोकुल सिन्हाका प्रकाशित पुस्तकहरुः
क. नेपालीमा मौलिक पुस्तक
१. भाषा भारती (भाषिक चिन्तनपरक लेखसङ्ग्रह, २०२०)
२. भाषा भाष्कर (भाषिक चिन्तनपरक लेखसङ्ग्रह, २०२०)
३. ज्ञ देखि अ सम्म (जीवनीपरक समीक्षासङ्ग्रह, २०२०)
४. अङ्ककोष (सङ्ख्यावाची शब्दकोश,२०२०)
५. वसुधैव कुटुम्बकम (कथासङ्ग्रह)
६. प्राक्कथन (भूमिकासङ्ग्रह, २०२२)
७. बाह्र बटुलो (समीक्षासङ्ग्रह, २०२२)
ख. अनुवादतर्फ-
१. पवित्र कुरआन, क्रिसेन्ट पब्लि, नयाँ दिल्ली, १९८०।
२. चालिस हदिस, क्रिसेन्ट पब्लि, नयाँ दिल्ली, १९८१।
३. हदिस चयन, क्रिसेन्ट पब्लि, नयाँ दिल्ली, १९८६।
४. नेपाली भाषाको मान्यताको प्रश्न, प्रोलेतारियन एरा, कलकत्ता, १९८१।
५. गालिब, साहित्य एकाडेमी, नयाँ दिल्ली, १९८७।
६. चिरकुमार सभा, साहित्य एकाडेमी, नयाँ दिल्ली,१९९७।
७. बहाई घर, बहाई प्रकाशन । दार्जीलिङ, १९९८।
८. नयाँ नियम, वर्ल्ड बाइबल ट्रान्लेसन सेन्टर, बङ्गलोर, २०००।
९. पुरानो नियम, वर्ल्ड बाइबल ट्रान्लेसन सेन्टर, बङ्गलोर, २००२।
१०. भागवद्गीता, पाइन्स प्रकाशन दार्जीलिङ, २००८।
११. रामगीता _ विविध पाठहरूमा (२०२३)
ग. अँग्रेजी भाषामा
१. A Treatise on Nepali Language, Uttaranchal Prakashan, 1978.
२. A Critical of the Ramayana Studies in the World (Vol I-II), Sahitya Academy, New
Delhi, 1991 & 1993.
३. Medieval Indian Literature (Nepali Section), Sahitya Academy, New Delhi, 1989 &
1990.
४. Masterpieces of Indian Literature (Nepali Stories), National Book Trust of India, 1998.
५. A Lexicon of Linguistic & Literary Terms, CIIL, Mysore, 2004.
६. Role of Gorkhas in Making of Modern India, Bharatiya Gorkha Parisangh, 2006.
७. Nepali Ramayana: Versions & Variations (Paper), International Ramayana
Conference, Bangkok, Thailand, 2000.
८. Myth in Contemporary Indian Literature (Paper), National Seminar, Sahitya Academy,
New Delhi, 2003.
९. An Intensive Course in Nepali, (Co. Writer- Editor), CIIL. Mysore. 1999-2003.
१०. Bhanubhakta Ramayan – Translation
लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), भारतीय नेपाली समालोचक कोष (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी भारतको कालिम्पोङमा बसोवास गर्छन् ।
धन्यवाद छ विश्वपरिक्रमा र गोविन्द गिरी प्रेरणाज्यूलाई…