गीतकार विश्ववल्लभको निधन

समाचार

२३ असोज २०८१, काठमाडौं

गीतकार विश्ववल्लभको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको छ । मस्तिष्क घात भई उनी सो अस्पतालमा भर्ना भएका थिए ।
विसं २००२ असोज २९ गते काठमाडौंमा जन्मेका उनको २०८१ असोज २३ गते निधन भएको थियो ।
विश्ववल्लभ गीतकारको रूपमा प्रतिष्ठित थिए । उनले लामो समय रेडियो नेपालमा जागिरे जीवन बिताएर अवकाश प्राप्त गरेका थिए । उनले रेडियो नेपालमा जागिर खानु अघि नुवाकोटमा शिक्षकको रुपमा कार्यरत रहँदा नाटक लेखन तथा निर्देशनमा समेत संलग्न भएका थिए ।
पिता पण्डित मुरलिधर भट्टराइका दुई छोराहरुमध्ये उनी कान्छा छोरा थिए । जेठा ख्याति प्राप्त कवि तथा गीतकार हुन् र उनको पनि निधन भइसकेको छ ।
वि.सं. २०७६ सालमा बाह्रखरी मिडियाका लागि राजेश खनालसँग कुरा गर्दै उनले २५० गीत रेकर्ड भएको बताएका थिए । तर उनका गीतहरूको सङ्कलन भने प्रकाशित भएको छैन ।
उनका प्रशस्त गीतहरु लोकप्रिय छन् र धेरै गायक गायिकाले गाएका छन् । रेडियो नेपालमा कार्यरत रहेका हुनाले रेडियो नेपाल पुग्ने गायक संगीतकारहरूसँग उनको बाक्लो बसाउठी भएकोले पनि उनलाई गीति लेखनमा दवाव र उत्साह दुवै प्राप्त थियो ।
गीतकार विश्ववल्लभकी श्रीमतीको क्यान्सरका कारण देहान्त भएपछि उनी एकल रूपमा रहेका थिए । उनका दुई छोरीहरू छन् र दुवैको विवाह भैसकेको छ ।

Leave a Reply