१७ असोज २०८१, काठमाडौं
आख्यानकार सुमन वर्षाको कथा सङ्ग्रह ‘अभ्यन्तर’ एक कार्यक्रममा विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.अभि सुवेदी, अतिथि प्रजातान्त्रिक प्राध्यापक सङ्घ नेपालका अध्यक्ष जगत तिमिल्सिना, पशुपति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विनोदचन्द्र पन्त,वक्ताहरु डा. ज्ञानू पाण्डे तथा नयनराज पाण्डे एवम् प्रकाशकको तर्फबाट पुष्पराज पौडेलले सामुहिक रुपमा विमोचन गरे ।
सो अवसरमा प्रमुख अतिथि प्रा.डा.अभि सुवेदीले कथाकार सुमन वर्षाको कथाकारिताबारे चर्चा गर्दै कथामा उनले नयाँ विषयलाई ल्याउने प्रयास स्तुत्य रहेको बताए ।
बक्ता डा. ज्ञानू पाण्डेले कथाकृतिबारे चर्चा गर्दै कथाकार सुमन वर्षाले समाजकै विविध विषयवस्तुमाथि कथा लेखेर समाजको यथार्थ चित्रण गरेको बताइन् ।
अर्का बक्ता नयनराज पाण्डेले वर्षाको कथासङ्ग्रहमाथि आफ्नो मन्तव्य राख्दै कथाकार सुमनका कतिपय कथाहरू फरक विषय र शैलीको भएको बताए ।
कार्यक्रममा अन्य अतिथिहरू जगत तिमिल्सिना, विनोदचन्द्र पन्त, कथाकार वर्षाकी सुपुत्री डा. सोमिका बस्नेतले आआफ्नो मन्तव्य प्रस्तुत गरेका थिए । समारोहमा कथाकार सुमन वर्षाले आफ्नो लेखकीय मन्तव्यका रूपमा आफ्नो यस सङ्ग्रहमा रहेका कथाहरूको सिर्जनामा विभिन्न व्यक्तित्वको साथ र प्रेरणा रहेको चर्चा गरिन् ।
सो कार्यक्रमको सञ्चालन साहित्यकार रञ्जना निरौलाले गरेकी थिइन् ।