उत्तर वयको गम्भीर सुखान्त

कविता

शैलेन्द्र साकार

हेरिरहेछु-केही अदृश्य-दृश्य दुर्घटना
आफ्नै मान्छेहरूको, उसको र अरू धेरैको
देशको अनुहारमा
यो नैराश्य, क्रूरता र चक्रव्यूह
पुस्तान्तरण र रूपान्तरको यो खेल
यो चक्रव्यूहलाई कतै थन्क्याएर
एउटा यस्तो राज्यको निर्माण गरौं जस्तो
जहाँ राज्यले मानेका ज्येष्ठ नागरिक मात्र
रहन सकुन् अथवा राज्य नै उनीहरूको नाममा समर्पित होस्
शायद हुने थिएन यति बिघ्न रडाको, झैझगडा र यौन अपराध
शायद मानिसहरूले देख्ने थिएनन्
यो कथाको मध्यान्तर अथवा अन्त्य
ओरालो लागेको सूर्यको नरम मन तातो ताप्दै
यी घुम्ने सडकहरूमा -कति रमाइलो ।
झण्डै सम्पूर्ण जस्तै उमेर बिताइ सकेको
आयुले बोकेको जिम्मेवारी
सुख पूर्वक घाम ताप्दै, नाक कोट्याउँदै
उत्तरार्धको गम्भीर सुखान्तमा
बसिरहेको सरकार र प्रधानमन्त्री-राष्ट्रपति -प्रधान न्यायाधीश- सेनापति
मात्र होइन सम्पूर्ण कर्मचारी पनि
अनायास पाएको भत्ता जस्तो
अनायास प्राप्त चिट्ठा जस्तो
डुब्न लागेको समुद्रमा
जहाज भेटे जस्तो
सिनेमाको अन्त्यमा बिमार नायकले
डाक्टर प्रेमिका भेटे जस्तो
महाकाव्यको अन्तिम निष्कर्षमा
गुरुहरू र लडाकू सबै स्वर्ग प्रस्थान गरेर समाप्त भए जस्तो
निवृत्त र पेन्सन पाए जस्तो देशको शासन
कति राम्रो सोच्दा, सुन्दा र उँघिरहँदा ।
शेक्सपियरका नाटकका सम्पूर्ण प्रेतात्माहरु
यही संसारमा जीवित सल्वलाए जस्तो
यही ज्येष्ठ नागरिकहरूको संसारमा
मात्र होस् यहाँ कुनै देश
जहाँ रहून् कुनै पनि प्रमाणित जेष्ठ नागरिक
हेर्न नपरोस् कुनै क्रुद्ध युध्दरत अनुहार
पुटिन र जेलेन्स्की जस्ताहरूको अनुहार
हमास र नेतान्याहूको जस्ताहरूको अनुहार
हार या जीतको अनुहार ।

०००

लेखक परिचयः शैलेन्द्र साकार शंकरप्रसाद श्रेष्ठको साहित्यिक नाम हो । भोजपुरमा जन्मेर भोजपुरबाटै साहित्य लेखनी प्रारम्भ गरेर राजधानीमा प्रकाशित हुने उनी काठमाडौं आएपछि पूरै साहितयमा समर्पित भए । उनी मूलत कवि हुन् । उनका शैलेन्द्र साकारका कविता, सर्पहरू गीत सुन्दैनन्, नाङ्गो तार, अमेरिका, अरु सात समुद्र लगायतका कविता सङ्ग्रहहरू प्रकाशित छन् । उनका कोलाज, कालपात्र र अरू कथा, रामायण र अरू कथाहरू सङ्ग्रह पनि प्रकाशित छन् । उनको आत्मकथात्मक कृति ‘भोजपुरे हुलाकीको सन्तान” प्रकाशित छ । उनको स्थायी बसोबास काठमाडौं हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *