बाह्रखरी कथा प्रतियोगिताको छैठौं संस्करणका लागि कथा आव्हान

मुख्य समाचार

३१ भदौ २०८१, काठमाडौं

प्रथम पुरस्कार एक लाख राशी रहेको बाह्रखरी कथा प्रतियोगिता २०८१ को घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
घोषणा कार्यक्रममा विश्वका कुनै पनि स्थानबाट आगामी कात्तिक ५ गतेसम्म १५०० देखि ५००० शब्दका नेपाली कथाहरू पठाउन सकिने जनाइएको छ ।
यस वर्षको तीन सदस्यीय निर्णायक मण्डलको संयोजकमा प्रा.डा. ज्ञानू पाण्डे तथा सदस्यहरूमा डा. गीता त्रिपाठी तथा धीरेन्द्र प्रेमर्षि रहेका छन् ।
प्रतियोगिताको परम्परा अनुसार आन्तरिक मूल्याङ्कनबाट ५० कथाको छनौट हुने तथा निर्णायकहरूले प्रथम, द्वित्तिय तथा तृतीय एवम् अरू उत्कृष्ट २२ कथासहित २५ कथाको छनौट गर्नेछन् ।
आन्तरिक छनौट बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा रहेको समूहले गर्नेछ ।
पुरस्कारको राशी प्रथमलाई १ लाख, दोश्रोलाई ६० हजार तथा तेश्रोलाई ४० हजार रकम रहेको छ भने उत्कृष्ट २२ लाई ५ हजार प्रदान गरिने परम्परा रहेको छ ।
स्मरणीय छ प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’, दोस्रो संस्करणमा लाहानकी मुना चौधरीको ‘लार’, तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’, चौथो संस्करणमा दाङका नवीन अभिलाषी ‘दमाहा’ तथा पाँचौँ संस्करणमा लमजुङका मनोज बाबु पन्तको ‘बूढो लाँकुरीको रुख’ प्रथम भएका थिए ।
प्रतियोगिताका पुरस्कृत र उत्कृष्ट गरी २५ कथाको सङ्ग्रह प्रकाशन गर्ने परम्परा रहेको छ । विगत २ वर्षदेखी ५ अप्रतियोगी कथाहरूलाई पनि पुस्तकमा समावेश गरिने गरिएको छ । तर यस वर्ष भने यो निरन्तर हुने छैन ।
पुस्तक बाह्रखरी मिडियाले नै प्रकाशन गर्दै आएकोमा गत बर्षदेखी नेपाली प्रकाशन जगतको अग्रणी प्रकाशक फाइन प्रिण्टसँगको सहकार्यमा फाइन प्रिण्टले प्रकाशन गर्न आरम्भ भएको छ र यस वर्ष पनि सो परम्परा निरन्तर रहनेछ ।
प्रतियोगिता घोषणा सभामा निर्णायकहरूले अग्रज कलाकारहरूलाई पनि प्रतियोगितामा भाग लिन आव्हान गरे ।
सो अवसरमा ‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिताका सम्पादक नयन राज पाण्डेले कथा लेखनको तरिकाबारे जानकारी गराए ।
फाइन प्रिन्टका प्रकाशक निरज भारीले बाह्रखरी उत्कृष्ट कथा प्रकाशन गर्न पाउनु गौरवको विषय भएको बताए ।
बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले यस पटक वरिष्ठ साहित्यकारका कथा बाह्रखरी उत्कृष्ट कथामा समावेश नहुने जानकारी गराउँदै डिशहोम र अरू प्रायोजकको साथ र सहयोगकै कारण यो प्रतियोगिताले निरन्तरता पाइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *