११ भदौ २०८१, काठमाडौं
कवि तथा साहित्यकार अविनाश श्रेष्ठको यर्यावरणीय कविताहरुको सङ्ग्रह “करोडौं सूर्यहरूको अन्धकार” को दोश्रो संस्करण प्रकाशन हुन लागेको छ ।
विसं २०६० सालमा कालचक्र नेपालको दर्जन बढी कविता कृतिहरु एकसाथ प्रकाशित एवम् विमोचित हुँदा समाविष्ट यो कविता सङ्ग्रह परिवर्द्धित संस्करणको रुपमा पाठक समक्ष आउन लागेको हो ।
कवि अविनाशले विश्वपरिक्रमासँग फोन सम्वादमा बताए अनुसार पूर्व प्रकाशित सो सङ्ग्रहमा थप १५ कविताहरु समावेश गरिएका छन् र उनका अनुसार दोस्रो परिवर्द्धित संस्करणमा हाम्रो पृथ्वी र प्रकृतिले हाल झेलिरहेका पर्यावरणीय समस्या साथै नेपाली कवितामा र विशेष अविनाश श्रेष्ठका पर्याकवितामा पर्यावरणीय समस्याको प्रवेश, प्रयोग तथा प्रवृतिबारे चर्चा अनि मूल्याङ्कन गरिएका मनप्रसाद सुब्बा, ड. गीता त्रिपाठी र राजा पुनियानीका तीनवटा महत्त्वपूर्ण आलेखहरू समेत समाविष्ट गरिएका छन् ।
पहिलो संस्करणमा ७२ पेजको रहेकोमा थपिएका कविताहरु र आलेखहरूका कारण १९८ पृष्ठको हुने भएको छ ।
कवि अविनाशले प्रकृति, पर्यावरण र पारिस्थितिकी अध्ययनमा चासो र रुचि राख्ने सर्वसाधारण पाठक, विद्यार्थी साथै अध्येताहरूलाई ‘करोडौं सूर्यहरूको अन्धकार’को यो परिवर्द्धित संस्करण उपयोगी हुनसक्ने विश्वास राखेका छन् ।
०००