नमूना निरौला
मलाई यसै यसै तिमीसँग भएको हो प्रेम
थाहा छ
प्रतिदानलाई चुनौती दिँदै उम्रेको हो प्रेमको बिरुवा
एकोहोरो तिमीले नै खन्याएपछि सद्भावी रङ्गहरु
लहरिएँ म तिमीसँग
लट्टिएँ म तिमीसँग
बिना कुनै सङ्कोच
बिना कुनै भय
कुनै रोकले नरोकिने
गन्तव्य बिनाको यात्रा तय भयो नी
हेर त
चन्द्र सूर्यको बाटो जस्तै अनन्तसम्मको
निर्बाध सुतेका बालुवाहरू जस्तै असङ्ख्य सपनाहरूको
केही आशाको अनि
केही विश्वासको
केही जीवन गीतहरूको योगको
अचम्म छ
मैले त मेरा निम्ति हिँडाएकी थिएँ आफूलाई
कोलाहल सँगै भिडाएकी थिएँ
आफूलाई
अत्तालिएको म
रन्थनिएको म
कसो कसो आइ पुग्यौ तिमी
र ग-यौ साउती
फर्केर हेरेँ
हो त्यहीं नै भयो भेट
अनि
जीवनसँग
पलायो राग
तिमीसँगै उदय र तिमीसँगै अस्त हुँदै
सकिनेछ यो सबै समयहरू
ऐना अघि उभिएर
आलिङ्गन गर्न पुग्छु
कसैलाई
यो यात्राको मन मिल्ने साथी आफैलाई
आफ्नै प्रतिबिम्बलाई ।।
०००
कवयित्री परिचयः नमूना निरौला जनकपुरमा जन्मेकी हुन् र हाल झापामा बसोवास गर्छिन् । उनले विसं २०५० सालदेखि लेखन प्रारम्भ गरेकी उनका कविताहरु बिभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।