१० भदौ २०८१, लालबन्दी
मधेश प्रदेश अन्तर्गत स्थापित “लालबन्दी नगर वाङ्मय परिषद, लालबन्दी सर्लाहीले रु ५० हजार राशीको “लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार-२०८१” “बोरा” उपन्यास कृतिका लागि अखण्ड लाई प्रदान गर्ने निर्णय गरेको छ । स्मरणीय छ लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कारका लागि “बोरा” सहित १० कृतिको सूचि प्रकाशित गरेको थियो जसमा रमेश सायनको “अन्तर”, यज्ञराज उपाध्यायको “काली कर्णालीको लोकसाहित्य र संस्कृति”, नगरकोटीको “जोगियाना”, प्राडा.ध्रुवेशचन्द्र रेग्मीको “नेपाली संगीत दरबार”, धीरेन्द्र प्रेमर्षिको “पुरुष परीक्षा”, मोमिला जोशीको “प्रश्नहरू त बाँकी नै रहन्छन्”, खेम बतासको “बुढी पोल्ली”, भूपिनको “भूपिनका कविता” र मोहन मैनालीको “मुकाम रणमैदान” प्रतिस्पर्धामा रहेको थियो ।
परिषदका अध्यक्ष अच्युत अधिकारी हस्ताक्षरित विज्ञप्ति अनुसार “स्वतन्त्र विज्ञहरुसहितको पुरस्कार तथा सम्मान छनोट सिफारिस समितिले सिफारिस गरे बमोजिम” यो निर्णय भएको हो ।
त्यसैगरी ५० हजार राशीकै शहीद कृष्णलाल अधिकारी स्मृति पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिने भएको छ । ‘मकै’ पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार यसै वर्ष २०८१ बाट प्रदान गर्न प्रारम्भ गरिएको परिषद्ले जनाएको छ ।
परिषदको बिज्ञप्ति अनुसार रु २५ हजार राशीको “लालबन्दी नगर वाङ्गमय परिषद स्थानिय प्रतिभा पुरस्कार २०८०” लालबन्दी सर्लाहीकै शङ्कर श्रेष्ठलाई लाई प्रदान गरिने जनाइएको छ । यो पुरस्कारको राशी गत वे्ष १० हजारको रहेको थियो ।
बिज्ञप्तिमा जनाइए अनुसार यी पुरस्कारहरु आगामि १५ मङ्सिर २०८१ का दिन एक विशेष कार्यक्रमको आयोजना गरी समर्पण गरिनेछ ।