सापसको ५३औं स्थापना दिवसमा सम्पन्न

मुख्य समाचार

२९ साउन २०८१

साहित्यिक पत्रकार सङ्घले आफ्नो ५३ औँ स्थापना दिवस एक बिशेष समारोहको आयोजना गरी मनायो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कवि के.के.कर्माचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सापसले घोषणा गरेका बिभिन्न पुरस्कार तथा सम्मान हस्तान्तरण गरिएको थियो ।
यसअघि घोषणा गरिएका प्रतिभाहरुमध्ये कार्यक्रममा उपस्थित रोचक घिमिरे,कालीप्रसाद रिजाल,भागीरथी श्रेष्ठ,रामबाबु सुवेदी र कलाकार वसुन्धरा भुसाललाई अभिनन्दन पत्र प्रदान गरियो ।
अभिनन्दित,सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूलाई फूलको माला,रुद्राक्षको माला र ढाकाको टोपी लगाइ दिएर दोसल्ला समेत ओढाइएको थियो।
अभिनन्दनका लागि घोषणा गरिएका साहित्यकार तेजेश्वरबाबु ग्वङ्ग स्वास्थ्यका कारण तथा डा.दुबसु क्षेत्री र देश वाहिर रहेकाले अभिनन्दन ग्रहणका लागि उपस्थित थिएनन् ।
सम्मानित अरु प्रतिभाहरु देवीभक्त श्रेष्ठ तथा सविता श्रेष्ठ’बेहोसी’ रहेका थिए । सम्मान घोषणा गरिएका बाबुराम श्रेष्ठ उपस्थित थिएनन् ।
कार्यक्रममा व्यथित काव्य सम्मानबाट मणि लोहनी तथा लोकप्रिया पुरस्कारबाट लीलादेवी श्रेष्ठ पुरस्कृत भए ।
कार्यक्रममा अभिनन्दित,सम्मानित तथा पुरस्कृत हुनेहरूका तर्फबाट सर्जकहरू रोचक घिमिरे,लीलादेवी श्रेष्ठ,देवीभक्त श्रेष्ठ,रामबाबु सुवेदी,भागीरथी श्रेष्ठ तथा कलाकार वसुन्धरा भुसालले आ-आफ्ना मन्तव्य राखेका
थिए । झापाली सर्जक देवीभक्त श्रेष्ठले राष्ट्रकवि माधव घिमिरेद्वारा रचित एउटा गीत पनि गाएर सुनाएका थिए।
कार्यक्रममा बाल कलाकार रञ्जना थपलियाले आफ्नो सुन्दर नृत्य प्रस्तुत गरी सबैलाई मोहित पारेकी थिइन्।
कार्यक्रममा समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्कीले अभिनन्दित, सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूको परिचय सहित साहित्यिक योगदानबारे चर्चा गर्दै कृतित्वका बारेमा संक्षेपमा प्रकाश पारेका थिए।
प्रमुख अतिथि के.के.कर्माचार्यले साहित्यिक पत्रकार सङ्घ एउटा ऐतिहासिक सङ्घ भएको बताउँदै यस सङ्घले धेरै जना सर्जकहरूलाई पहिले पनि अभिनन्दन,सम्मान र पुरस्कृत गरिसकेको बताए । उनले आज
अभिनन्दित,सम्मानित तथा पुरस्कृत हुने व्यक्तित्वहरूलाई बधाई ज्ञापन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सापसका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार सङ्घको स्थापनाकालदेखिको इतिहास संक्षेपमा बताउँदै साहित्यिक पत्रकार सङ्घले आजसम्म गर्दै आएका विभिन्न क्रियाकलापका
बारेमा पनि संक्षेपमा प्रकाश पारेका थिए।
कार्यक्रममा सापसका कोषाध्यक्ष कथाकार पदमावती सिंहले स्वागत मन्तव्य राखेकी थिइन् भने कवि श्रीबाबु कार्कीले कुशलतापूर्वक कार्यक्रम सञ्चालन गरेका थिए।

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’ काठमाडौंको सहयोगमा)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *