वियोगी बुढाथोकी
बिहानको पहिलो मुस्कान यारको थियो
भुल्नै नसक्ने खालको अमूल्य प्यारको थियो
दिनभरको याद भइ रातको सपनामा डुल्ने
हाम्रा दुई अनमोल आँखा चारको थियो
‘
नसुनाउनु प्यास मधुशालाको कथा फेरि
त्यो जीवनले बोक्न असमर्थ भारको थियो
तिमीसँग अलग राख्ने कपटी ईर्ष्यालु चाल
शङ्कालु खबर ल्याउने तारको थियो
घाइते भो समय सम्झनाको गोली लाग्यो
सायद दोषी नजर हाम्रो वारपारको थियो ।
०
कवि परिचयः सिताराम बुढाथोकीको साहित्यिक नाम वियोगी बुढाथोकी हो । बिसं २०३२ सालमा कविता प्रकाशनसँगै शुरु भएको उनको लेखन यात्रामा ५ कविता सङ्ग्रह, ३ गजल सङ्ग्रह, ३ मुक्तक सङ्ग्रह, तथा २ नियात्रा सङ्ग्रह प्रकाशित छन् । समयलाई सञ्चो छैन, काठमाडौं धाइरहेछु, छुटेका यादहरु, म गोपाल अर्थात् गोपालहरु(श्रृङ्खला कविता), फर्किएँ जस्ता कविता शङ्ग्रहले उनी कविका रुपमा स्थापित छन् । काठमाडौं हात्ती गौंडा उनको पुर्खौली बासस्थान हो । उनले त्यसैलाई सिर्जनभूमि बनाएका छन् ।