परशु प्रधानको निधन

आख्यानका धरोहर परशु प्रधानको निधन

मुख्य समाचार

६ चैत २०८०, काठमाडौं

नेपाली वाङ्मयका आख्यानका धरोहर परशु प्रधानको काठमाडौंमा आफ्नै निवास वानेश्वरमा ८० वर्षको उमेरमा ५ चैत राती निधन भएपछि ६ गते पशुपति आर्यघाटमा दाह संस्कार सम्पन्न भएको छ ।
उनी विसं २००० साल माघ ३० गते भोजपुरमा जन्मेका थिए ।
आफ्नो लेखनको शुरुवातमा कविता विधामा कलम चलाउने गरे पनि तथा पहिलो पुस्तक “जीवनपथ” (२०१६) कविता सङ्ग्रह प्रकाशित भए पनि उनी कथा विधामा स्थापित भए । कथामा उनको सिर्जना निरन्तर उर्वर रह्यो । उपन्यास पनि उनले लेखे तर उपन्यास लेखनलाई उनले निरन्तरता दिएनन् । कथालाई नै अघि बढाइरहे । वाल साहित्य पनि लेखे र वाल साहित्य लेखनलाई पनि अघि बढाइरहे ।
विधागत रुपमा प्रकाशित उनका कृतिहरुमा एक कविता सङ्ग्रह ‘जीवन पथ” (२०१६) तथा एक उपन्यास सबै बिर्सिएका अनुहार (२०२४) रहेका छन् । उनको लघु उपन्यास रात जो पग्लन्छ विसं २०२१ सालमा तुवाँलो पत्रिकामा केही अँश धारावाहिक प्रकाशित भयो तर पूर्ण अँश तथा सिङ्गो पुस्तक भने प्रकाशित भएन । उनी आकाश विभाजित छ (२०३२) १० जनाको सहयोगी उपन्यासका एक सहयोगी लेखक थिए भने उनले शुरु गरेको उपन्यास विसर्ग (२०७६) गोविन्द गिरी प्रेरणाले पूरा गरेर सहलेखनमा प्रकाशित भयो । उनका कथा सङ्ग्रहहरुमा फेरि आक्रमण (२०२५), बक्ररेखा (२०२५), यौटा अर्को दत्यकथा(२०२८), असंवद्ध (२०३२), समुन्द्रमा अस्ताउने सूर्य (२०३५), प्रतिनिधि कथाहरु (२०४१), यौटा क्रान्तिपुरुषको जन्म (२०५०), कथा र रचनागर्भ (२०५७), उत्तरार्द्ध (२०५८) रहेका छन् । उनका श्रृङ्खलाबध्द कथाहरुको सङ्ग्रहहरु सीताहरु (२०६४) र घर (२०६८) लाई कथोपन्यास उपमा दिइएको छ ।
द लिट्टिल बुध्द इन टोकियो (२०६०) उनको अङ्ग्रेजीमा अनुदित कथा सङ्ग्रह हो ।
उनले लिएका अन्तर्वार्ताहरुको अनौपचारिक प्रस्तुतिको पुस्तक हो केही क्षण केही अनुहार (२०३४) र त्यसैको निरन्तरता केही अनुहार केही क्षण (२०५१) हो । बिभिन्न समकालिन साहित्यकारहरुसँगको सम्बाद अघिल्लो पुस्तकमा उनले संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए भने पछिल्लोमा बिस्तृत रुपमा प्रस्तुत गरेका थिए । दोश्रो अन्तर्वार्ता सङ्ग्रहले उत्तम शान्ति पुरस्कार प्राप्त गरेको थियो ।
उनका बाल साहित्यका कृतिहरुमा नानीको कथा (२०२६), सुनको छाती (२०२८), सुन्नेलाई सुनको माला (२०३०), रङ्गीचङ्गी फूलवारी (२०३०), रीताको स्कूल (२०३२) लगायत रहेका छन् ।
उनले तराई मधेशका कथाको पनि सहसम्पादन गरेका थिए ।
उनले विश्वका चर्चित यौनकथाहरु “विश्व यौन कथा” (२०६२) अनुवाद समेत गरेका थिए ।
केही बर्ष उनको बिराटनगर बसाईको क्रममा बाणी प्रकाशनको स्थापना र सो प्रकाशनमार्फत बिबिध साहित्यिक गतिविधिमा उनको सकृयता रहेको थियो ।
उनी कवि तुलसी दिवसको सकृयतामा स्थापित सिर्जनशील साहित्य समाज निस्कृय हुनुअघिका अन्तिम अध्यक्ष थिए ।
उनी काठमाडौंमा स्थापित हुन सङ्घर्ष गर्ने क्रममा आर्थिक उपार्जनका लागि रत्न पुस्तक भण्डारसँग लामो समय जोडिएका थिए । उनले सरकारी जागीरका लागि लोकसेवाका परीक्षा पास हुन उपयोगी गाइडहरु तथा सामान्य ज्ञान डाइजेष्ट समेत विभिन्न नाममा लेख्ने गर्थे । सामान्य ज्ञान डाइजेष्ट त २९ संस्करणसम्म प्रकाशित भएको थियो । उनले भोजपुर एक चिनारी (२०१६), सजिलो नागरिक शास्त्र (२०२०) तथा सगरमाथा अञ्चलको भूगोल (२०२१) जस्ता गैर साहित्यिक पुस्तक पनि लेखेका थिए ।
काका गजेन्द्रमणि प्रधानसँगको सहलेखनमा उनले संविधान र पञ्चायत कानून (२०३८) पुस्तक त्रि.वि. पाठ्यक्रम विकास केन्द्रका लागि लेखेका थिए ।
कोरोना महामारी शुरु हुनु अघिदेखि नै केही सुस्त देखिएका उनी कोरोनाकालभरि प्रत्यक्ष सम्पर्कबाट टाढा रहेका थिए ।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *