४ फरवरी २०२४, ढाका
बङ्लादेशको राष्ट्रिय कविता परिषद्का आयोजनामा ढाकामा सम्पन्न भएको जातीय कविता उत्सवमा विशेष अतिथिका रूपमा नेपालका कवि विधान आचार्य संलग्न भएका थिए । सो उत्सव सन् १९८७ देखि आयोजना गरिँदै आएको छ ।
सो उत्सव जातीय कविता परिषद्का अध्यक्ष ढाका विश्वविद्यालयका सहउपकुलपति (प्रो. भाइसचान्सलर) प्रा.डा. महम्मद समदले विधिवत् शुभारम्भ गरेका थिए । बाङ्लादेशका प्रख्यात कवि तथा संस्कृतिकर्मी ९१ वर्षीय श्री निर्मलेन्दु गुणको भिडियो सन्देशसहितको आशीर्वचनबाट सो उत्सव उद्घाटन भएको घोषणा गरिएको थियो । त्यस अवसरमा परिषद्का महासचिव तथा समकालीन बाङ्ला साहित्यका प्रभावशाली कवि तथा सम्पादक तारिक सुजातले स्वागत तथा उत्सवको आयोजनाका बारेमा प्रकाश पार्दै प्रत्येक वर्ष एक एक नारा चयन गरिनेमा यस वर्ष २०२४ का लागि विश्वको तनाव र युद्धरत अवस्थालाई ध्यानमा राख्दै “युद्ध र आमहत्याका विपक्षमा छ कविता” (जुद्देर् गनहत्या सहे ना कोविता) भन्ने नारा चयन गरिएको बताए ।
सो अवसरमा नेपालका कवि आचार्यका अतिरिक्त विशेष अतिथिका रूपमा भारतका सुबोध सरकार तथा फिलिपिन्सका कवि एवम् राजदूत लियो टिटो आउसानले पनि सङ्क्षिप्त सम्बोधनसाथ आआफ्ना मातृभाषामा कविता बाचन गरे ।
ढाका विश्वविद्यालय प्राङ्गणमा आयोजित सो उत्सवको शुभारम्भ सत्रमै यसअघि सहभागी कवि तथा लेखकहरूले बाङ्लादेशका सम्मानित राष्ट्रिय कवि काजी नजरूल इस्लामको समाधिमा ब्यानरसाथ गई श्रद्धाञ्जली समेत अर्पण गरिएको थियो ।
राष्ट्रिय कविता उत्सवको दोस्रो दिन भाषा तथा साहित्यसम्बन्धी चारवटा अवधारणा पत्र प्रस्तुत गरिएको थियो । नाराका मूल विषय युद्ध र आमहत्याका विरुद्धमा कवि साहित्यकार रहन्छन् भन्ने धारणामा केन्द्रित रही वरिष्ठ प्राध्यापक तथा लेखकबाट गरिएका तीन प्रस्तुति बाङ्ला भाषामा थिए भने नेपालका विधान आचार्यले अङ्ग्रेजी भाषामा आफ्नो पत्र प्रस्तुत गरेका थिए । सोही दिन आठघण्टाभन्दा बढीसम्म चलेका गोष्ठीमा आमन्त्रित लगायत बाङ्लादेशका वरिष्ठ कविहरू दिलारा हाफिज, असद मन्नान, असलम सनी, युसुफ रेजा, साफला सिङघला लगायत दर्जनौँले काव्य पाठ गरे । पुस्तक मेला स्थल र ढाका विश्वविद्यालका परिसर समीपमा भएकाले कवि लेखकहरूको चहलपहलले त्यसको वातावरण नै बेग्लै देखिएको थियो ।
तेस्रो दिन बाङ्लादेशले आफ्नै प्रयत्नबाट निर्माण सम्पन्न गरेको लगभग आठ किलोमिटर लामो पद्मा (गङ्गा र ब्रह्मपुत्र मिलेपछि बनेको) नदीमाथिको पुल अवलोकन गर्ने यात्राको आयोजन गरिएको थियो । ढाकाबाट डेढघण्टा लाग्ने सो यात्राबाट बङ्लादेशका जनजीवनको समेत अवलोकन गर्ने कविहरूलाई अवसर प्राप्त भएको थियो ।
स्मरणीय छ, श्री आचार्यले यसअघि सन् २०१६ तथा १९९६ मा समेत परिषद्को निमन्त्रणामा सो उत्सवमा भाग लिएका थिए ।