२४ माघ २०८०, काठमाडौं
महान् विभूति नाट्य सम्राट बालकृष्ण समको आज १२२ औं जन्मजयन्ती नेपाली शिक्षा परिषद् तथा काठमाडौं महानगरपालिका वडा नं १ को संयुक्त आयोजनामाएक विशेष कार्यक्रम गरी नेपाली साहित्यमा पुर्याएको योगदान तथा उनको व्यक्तित्वमाथि चर्चा गर्दै उनलाई सम्झिने काम भयो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख आतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले बालकृष्ण समले देश प्रेम,आध्यात्मिक,सामाजिक र दार्शनिक सबै क्षेत्रमा कलम चलाएर नेपाली साहित्यलाई समृध्द बनाएको बताउँदै नाटक मार्फत लैङ्गिक समानतामाथि विवेकपूर्ण अभिव्यक्ति मञ्चन गरेको बताए।
कार्यक्रममा वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने परिषद्का सदस्य लक्ष्मण थापा तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले शुभकामना मन्तव्य सहित समको व्यक्तित्वमाथि प्रकाश पारेका थिए।
सभाका सभापति साहित्यकार रमा शर्माले शिक्षा परिषदसँग समको नङ मासुको सम्बन्ध रहेको बताउँदै सम परिषद्का अध्यक्ष छँदा आफू सदस्य सचिव भएकोले समसँगको सम्बन्ध प्रगाढ रहेको बताइन्। साथै उनले समको प्रतिमाको संरक्षण तथा व्यवस्थापन आदि कार्यका लागि डा.मृगेन्द्रराज पाण्डेबाट प्राप्त हुन आएको रू ५ लाखको आार्थिक सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै डा. पाण्डेलाई अभिनन्दन पनि गरेकी थिइन्।
कार्यक्रमको सञ्चालन समालोचक ज्ञाननिष्ट ज्ञवालीले गरेका थिए।
आजै,समको जन्मघरको प्राङ्गणमा आयोजित छुट्टै एक विशेष कार्यक्रममा नाटक मञ्चन,कविता वाचन तथा समका बारेमा विभिन्न वक्ताहरूबाट चर्चा भयो । सो अवसरमा काठमाडौं विश्वविद्यालय अन्तर्गतका माध्यमिक विद्यालयका विद्यार्थीहरूबाट समद्वारा लिखित’बोक्सी’नाटक मञ्चन भएको थियो।
काठमाडौं विश्वविद्यालयद्वारा आयोजित उक्त कार्यक्रम विश्व विद्यालयका भाइस चान्सलर भोला थापाको सभापतित्व तथा नाट्य तथा सङ्गीत प्रतिष्ठानकी अध्यक्ष कलाकार निशा शर्मा को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
सो कार्यक्रमको सञ्चालन डा.रामचन्द्र पौडेलले गरेका थिए।
(काठमाडौंबाट सुभाषचन्द्र पौडेल’भीमफेदीया’को सहयोगमा)