२० माघ २०८०, काठमाडौं
कवि तथा नियात्राकार भवानी खतिवडाको नियात्रा कृति ‘आकाश ओढेको डोल्पो’ तथा आस्था भट्टराईको नियात्रा कृति ‘फूलबारीको जुके गणतन्त्र’ एक समारोहवीच एकसाथ विमोचन भएको छ ।
समालोचक सावित्री मल्ल कक्षपतिले खतिवडाको विमोचित कृतिमा हिमाली जिल्ला डोल्पा, त्यहाँको भूबनोट, भाषा–संस्कृति र प्राकृतिक मनोरमताको बडो लालित्यपूर्ण तरिकाले लिपिबद्ध गरिएको हुँदा यो एउटा गहकिलो दस्तावेज हुन सक्ने भन्दै कृति नीति निर्मातासम्म पुग्नुपर्ने बताइन् ।
नियात्रा कृति ‘फूलबारीको जुके गणतन्त्र’कृतिमाथि साहित्यकार अनिता कोइरालाले समीक्षात्मक मन्तव्य राख्दै कलममा समाज, परिवार र देशप्रतिको बेजोड प्रेम रहेको बताइन् ।
विमोचन कार्यक्रममा सगरमाथा आरोही नीमा डोमाले यी दुवै कृतिकारलाई सफलताको शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा गङ्गाधर अर्याल, अरुण अर्याल, साहित्यकार पवन आलोक तथा रञ्जु दहालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देलले कृतिले नियात्राको उपल्लो चुली हिमाली क्षेत्रलाई समेटेर अगाडि बढेको र सर्जकबाट भविष्यमा यस्तै कृतिको अपेक्षा गरिएको बताए ।
कार्यक्रम सञ्चालन र संयोजनको भूमिका निर्वाह नियात्राकार प्रतीक ढकालले ‘हिमालको धनी देशमा जन्मेर हामीले त्यसको मर्म बुझ्न सकेका छैनौं, अब त्यो अभियानमा लाग्नुपर्छ,भन्दै ‘भवानी जस्ता धेरै महिला नियात्राकारले यस क्षेत्रमा कलम चलाउन जरुरी छ ।’
कृतिकारहरु नाताले आमाछोरी हुन् र सम्भवत आमाछोरीको नियात्रा कृति यसरी एकसाथ विमोचन भएको नयाँ दृष्टान्त हो ।