१८ माघ २०८०, काठमाडौं ।
‘पवन आलोक नियात्रा पुरस्कार कोष’ र ‘नियात्रा समाज नेपाल’ का बीचमा भएको सम्झौताबमोजिम २०७९ सालको ‘पवन आलोक नियात्रा पुरस्कार’ का लागि इल्या भट्टराईद्वारा लिखित कृति “मिसर” लाई उक्त पुरस्कार अर्पण गर्न नियात्रा समाज नेपाललाई सिफारिश गर्ने निर्णय गरेको कोष-प्रतिनिधि पवन आलोक, नियात्राविद् श्रीओम श्रेष्ठ रोदन तथा संयोजक प्रतीक ढकाल हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
प्रेस विज्ञप्तिका अनुसार “२०८० सालको फागुन २ गते श्रीपञ्चमीका दिन एक विशेष समारोहको आयोजना गरी छनौट गरिएका स्रष्टालाई सम्मानित गरिदिनका लागि नियात्रा समाज नेपाललाई अनुरोधसमेत गर्ने निर्णय” भएको समेत जनाइएको छ ।
प्रकृयागत हिसाबले पुरस्कार सिफारिस गर्न गठित समितीले गरेको सिफारिस मुताविक सम्बन्धित संस्थाले आधिकारिक निर्णय गरे पश्चात् मात्र पुरस्कारको निर्णयको प्रेस विज्ञप्ति आउनु पर्नेमा छनौट समितीले नै प्रेस बिज्ञप्ति जारी गर्नुलाई जानकारहरुले आश्चर्य मानेका छन् ।
स्मरणीय छ, साहित्यकार पवन आलोककी श्रीमती रेखा कणेललले ३ लाख ५० हजारको अक्षयकोष राखी प्रति वर्ष २५ हजार नगदको “पवन आलोक नियात्रा पुरस्कारको स्थापना भएको हो । यसअघि यो पुरस्कारले “हिमाल, शेर्पा र यति” का लागि भीष्म उप्रेती र “गृष्मको नीलो बतास” का लागि दामोदर पुडासैनी किशोर पुरस्कृत भैसकेका छन् ।