१९ माघ २०८०, काठमाडौं
हाल अमेरिकामा बसोवास गरिरहेका पत्रकार तथा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती निला आँखा’ नेपाल स्रष्टा समाजले एक समारोह आयोजना गरी लोकार्पण भएको छ ।
आयोजक संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन तथा कार्यक्रममा उपस्थित अतिथि सर्जकहरू चन्द्रप्रसाद भट्टराई, भीष्म उप्रेती, रजनी ढकाल, प्रमोद प्रधान,पवन आलोक, राजेन्द्र थापा तथा देविका तिमिल्सिनाले सामुहिक रुपमा लोकार्पण गरेका थिए ।
कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले गौतमले अस्वस्थ हुँदाहुँदै पनि यो निबन्ध कृति ल्याएको प्रसङ्ग उठाउँदै एउटा सर्जकले जुनै अवस्थामा पनि सिर्जना गर्ने बताए । यस कृतिले व्यापक विषय र क्षेत्र समेटेको बताए ।
निबन्धकार तथा समालोचक डा.रजनी ढकालले कृतिभित्रका निबन्धहरूका विभिन्न आयामबारे चर्चा गरिन् । निबन्धकार भीष्म उप्रेतीले निबन्धमा पत्रकारिताको भाषा पनि प्रयोग भएको बताए ।
नेपाल स्रष्टा समाजका अध्यक्ष तथा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले विदेशमा अस्वस्थ अवस्थामा पनि निबन्धकृति प्रकाशन गरेकोमा गौतमको निबन्धकारिताको प्रसंशा गरे । कार्यक्रममा नेपाल सरकारका सहसचिव राजेन्द्र थापाले निबन्धकार गौतमको व्यक्तित्वमाथि प्रकाश पारेका थिए । समाजका उपाध्यक्ष चेतनाथ कणेल हरितले स्वागत गरेको उक्त कार्यक्रममा महासचिव देविका तिमिल्सिनाले सन्चालन गरेका थिए ।
विमोचित ‘ती निला आँखा’ सङ्ग्रहभित्र २१ निबन्ध समेटिएको छ । निबन्धकार जयदेव गौतमको यसअघि वि.सं.२०६७ मा ‘लक्ष्मण रेखाकाका दासहरु’ निबन्धसङ्ग्रह प्रकाशित भएको थियो ।