दीपक समीपको लघुकथा सङ्ग्रह “नदीको राजमार्ग” को लोकार्पण

मुख्य समाचार

१३ माघ, काठमाडौं

साहित्यकार दीपक समीपको लघुकथासङ्ग्रह “नदीको राजमार्ग” को लोकार्पण काठमाडौँको सर्वनाम थियटरमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई,सभाध्यक्ष भुवनहरि सिग्देल, बक्ताहरु डा. ज्ञानु अधिकारी र डा. ईश्वरमणि अधिकारी  तथा लेखकले सामुहिक रुपमा उक्त कृति लोकार्पण गरे ।

कृति लोकार्पण गर्दै राईले साहित्यकारहरूले सरकार र संविधानभित्रका कमजोरीमाथि समेत प्रहार गर्ने सामर्थ्य राख्ने कुरा बताए ।

बिमोचित कृतिका बारेमा  डा. ज्ञानु अधिकारीले बोल्दै थोरै शब्दमा सरल भाषाको मौलिक स्वाद पस्केर कथाकारले आख्यान लेखनमा दह्रो उपस्थिति जनाएको बताइन्।

त्यस्तै बक्ता डा. ईश्वरमणि अधिकारीले सङ्ग्रहमा सामाजिक बेथिति, अराजकता आदिको सजीव चित्रण गरिएको बताए।

कृतिकार दीपक समीपले आफ्नो लेखनका अनुभव र अनुभूति प्रस्तुत गरे।

कार्यक्रममा शुरुमा स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यकार प्रतीक ढकालले गजलकार एवम् मुक्तककार समीपलाई आख्यानमा स्वागत गर्न पाएकामा खुसी व्यक्त गरे।

साहित्यकार भुवनहरि सिग्देलको सभापतत्वमा सम्पन्न सो कार्यक्रममा उनले सामान्य विषयलाई सरल लेखनको शैलीबाट विशिष्ट बनाएर पस्कने दीपकको लेखकीय क्षमता भएको बताए ।

कार्यक्रम सञ्चालन साहित्यकार भवानी खतिवडाले गरेकी थिइन्।

स्मरणीय छ साहित्यकार समिपका यस अघि २ कृति  “भूगोलभित्र नकोरिएको देश”(गजलसङ्ग्रह, २०६२) र अक्षर अक्षरमा देश (मुक्तकसङ्ग्रह, २०७८) प्रकाशित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *