कथाकार विश्वम्भर चञ्चलको निधन

मुख्य समाचार

२२ पुस २०८०, काठमाडौं

नेपाली साहित्यमा कथाकारको रुपमा सुविख्यात विश्म्भर चञ्चलको २२ पुसका दिन निधन भएको छ । विसं १९९८ साल जेठ २९ गते धर्मस्थली, महाङ्काल, काठमाडौंमा जन्मेका उनी विसं २०२० सालमा रुपरेखा साहित्यिक मासिकमा “एक लास हाँसिरहेछ” कविता प्रकाशनकासाथ साहित्यमा प्रवेश गरेका थिए ।
कविता लेखनबाट साहित्य यात्रा शुरु गरे पनि उनको लेखनको प्रमुख विधा भने कथा रह्यो । उनले वाल साहित्यमा पनि आफूलाई संलग्न गराए । लेखनको उत्तारार्धमा उनले संस्मरण, यात्रा संस्मरण लगायतका गद्य विधामा समेत कलम चलाएका थिए । उनको संलग्नता अनुवाद र सम्पादनमा समेत रहेको थियो ।
उनका प्रकाशित कथा सङ्ग्रहरु अतृप्ति (२०२६), विश्वम्भर चञ्चलका कथाहरु (२०३३), जीवनवृत्त (२०४०), युध्द भड्किरहेछ (२०४७), अनामनगर (२०५४), गन्तव्यहीन दिशाहीन (२०५७)लगायत रहेका छन् ।
त्यस्तै उनका यातरा संस्मरणहरुमा क्षितिजदेखि क्षितिजसम्म,वाँचेको युक मरेका मान्छे, ईन्मेरिका आदि रहेका छन् ।
वाल साहित्यमा टमको बहादुरी(बाल उपन्यास, २०३०), पञ्चैवाजा (बाल लोककथा, २०३०), ओक्कल दोक्कल (बालगीत सङ्ग्रह, २०३८), वायुपङ्खी घोडा (बालकथा सङ्ग्रह, २०४६), बझाङका तारा (२०४०), मुसो चिं-चीं बिरालो म्याउँ( बालगीत, २०४७), झ्याँतै तुली(बालगीत, २०५३), अष्ट चिरञ्जीवि (जीवनी, २०५५), के कसरी बन्छ ?(हास्यकथानक भोजन गाथा, २०५७), हाम्रो सम्पदा (चिनारी, २०५८), जादूको वादल (बालकथा, २०५९), बलभन्दा बुध्दी ठूलो (बालकथा, २०६०) लगायतका कृतिहरु रहेका छन् ।
मलाई एउटा कथा भनिदिनोस् न (२०५५) उनले अङ्ग्रेजीबाट अनुवाद गरेको बाल साहित्यको कृति हो ।
उनले विद्यालय स्तरका पाठ्यपुस्तक पनि लेखन गरेका थिए ।
उनले साहित्य सेवाका लागि विविध पुरस्कारहरु समेत प्राप्त गरेका थिए। उनले मैनाली कथा पुरस्कार (२०४३), राष्ट्रिय बाल साहित्य पुरस्कार (२०५४), बाल पुस्तक पुरस्कार (२०४७), रत्न बाल पुरस्कार (२०५७), नूर गङ्गा बाल साहित्य पुरस्कार (२०६९) प्राप्त गरेका थिए ।
सरकारी सेवामा आफ्नो जीवनको लामो कालखण्ड विताएका उनी साझा प्रकाशनका सञ्चालक तथा महाप्रबन्धक समेत भएका थिए ।
उनी उच्च रक्तचाप र मधुमेह रोगले ग्रसित थिए र पछिल्लो समय मधुमेहकै कारण आँखाको दृष्य धमिलो हुँदै जाने रोगले समेत पीडित थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *