३ जनवरी २०२४, लण्डन
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले साहित्य तथा सङ्गीतका प्रसिद्ध हस्ती गणेश रसिकलाई प्रतिभा सम्मान तथा मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई प्रतिभा पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ ।
संस्थाको हालै बेलायतमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
यो प्रतिष्ठान सन् २००८ मा बेलायतमा स्थापित भएको हो । हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा. राजेन्द्र विमल, डा. कृष्णहरि बराल र दीप श्रेष्ठ सम्मानित भइसकेका छन् । यस संस्थाले गत वर्ष वरिष्ठ कवि वैरागी काइँलालाई धरानमा बृहत् नागरिक अभिनन्दन गरे थियो ।
यसैगरी प्रतिभा पुरस्कारबाट हालसम्म नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान बल, बलराम अधिकारी, शुभ मुकारूङ, विमला तुम्खेवा, गणेश गुरुङ र सुदीप पाख्रिन पुरस्कृत भइसकेका छन् ।
